चरिकोटका घर अझै भूकम्पको उच्च जोखिममा



चिरञ्जीवी मास्के, दोलखा

दोलखा सदरमुकाम चरिकोटका अधिकांश घर अहिले पनि भूकम्पको उच्च जोखिममा रहेको प्राविधिकहरू बताउँछन्। भूकम्पले क्षति पुगेका धेरै घर रेक्टोफिट गर्नुपर्ने भए पनि प्राविधिकको सुझावसमेत नलिई सामान्य मर्मत गरेर बसेकाले भूकम्पको उच्च जोखिममा रहेको प्राविधिकहरूको भनाइ छ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति भई रेक्टोफिट गर्नुपर्ने सदरमुकाम चरिकोटका कतिपय घरमा प्राविधिक सुझाव तथा देखरेखबिनै सामान्य मर्मत सम्भार गरेर मानिसको अत्यधिक चाप हुने अस्पताल, विभिन्न कार्यालय तथा संघ–संस्था र होटल राखिएको छ। भूकम्पको जोखिम कायमै रहेको र पटक–पटक २०७२ वैशाख १२ गतेको भूकम्पको पराकम्पसमेत गइरहेकाले प्राविधिक देखरेखबिनै मर्मत गरिएको घरमा मानिसको अत्यधिक चाप हुने अस्पताल, विभिन्न कार्यालय राख्नु उच्च जोखिम रहेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतको भनाइ छ।

भीमेश्वर नगरपालिकालाई एनसेटले दिएको तथ्याङ्कअनुसार साविक भीमेश्वर नगरपालिकाभित्र रहेको ६ हजार २ सय ६२ घरधुरीमध्ये ६७ प्रतिशत पूर्णरूपमा नयाँ निर्माण गर्नुपर्ने, १४ प्रतिशत रेक्टोफिट गरेर बस्न मिल्ने, १५ प्रतिशत सामान्य मर्मत गरेर बस्न मिल्ने र ४ प्रतिशतमा कुनै पनि क्षति नपुगेको उल्लेख गरिएको इन्जिनिर सुरेश राउतले बताए। पूर्णरूपमा नयाँ निर्माण गर्नुपर्ने घरमा अधिकांश ढुङ्गा माटोको रहेको र रेक्टोफिट गर्नुपर्ने १४ प्रतिशत घरमा अधिकांश आरसीसी घर रहेको इन्जिनियर राउतले बताए।

सदरमुकाम चरिकोट र आसपासमा रहेका झण्डै १५ सय आरसीसी घरमा तीन वटा घर पूर्णरूपमा भत्काएर नयाँ निर्माण गर्नुपर्ने एनसेटको सिफारिस भए पनि ती घर मर्मत गरेर बसेको र रेक्टोफिट गर्नुपर्ने एनसेटको सुझाव रहेको अधिकांश घरपनि प्राविधिकको रेखदेखबिनै सामान्य मर्मत गरेर अस्पताल, होटल तथा कार्यालयसमेत राखिएको इन्जिनियर राउतको भनाइ छ। सदरमुकाम चरिकोटमा रहेको च्छो रोल्पा जनरल अस्पताल, दोलखा सामुदायिक अस्पताल, दोलखामा रहेको गौरीशङ्कर अस्पताल, केही होटल र केही कार्यालय तथा संघ–संस्था भूकम्पले क्षति पुगे पनि प्राविधिक रेखदेखबिना सामान्य मर्मत गरेको घरमा राखिएको छ।

दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृत राउत भूकम्पका कारण अस्पताल रहेको घरमा सामान्य क्षतिमात्र पुगेको भए पनि धुलिखेलबाट प्राविधिक ल्याएर चेकजाँच गराई ठीक रहेको प्रमाणपत्र पाएपछि मात्र अस्पताल सञ्चालन गरिएको बताउँछन्। भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत भने एनसेटले रेक्टोफिट गर्नुपर्ने भनी सिफारिस गरेको कुनै पनि घरमा रेक्टोफिट भएको जानकारी नगरपालिकालाई नभएको र त्यस्तो घरमा अस्पताल, होटल, कार्यालय जस्ता कुरा राख्न नगरपालिकाले सिफारिस दिन नसक्ने बताउँछन्।

जिल्लामा २० हजार घर निर्माण
भूकम्प गएको ३ वर्षको अवधिमा दोलखा जिल्लामा २० हजार १ सय ४ वटा घर निर्माण भएको पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा दोलखाले जनाएको छ। जिल्लामा विभिन्न गैरसरकारी संघ–संस्था तथा नेपाल सरकारको तर्फबाट २० हजार १ सय ४ वटा घर निर्माण भएको पुनर्निर्माण प्राधिरण जिल्ला शाखा दोलखाका प्रमुख सागर अर्चायले बताउनुभयो।

जिल्लामा पहिचान भएका ६२ हजार ८ सय ३३ घरधुरीमध्ये हालसम्म ६० हजार २ सय ३० जनासँग अनुदान सम्झौता गरिएको छ। जसमा पहिलो किस्ता ५७ हजार ४ सय ४०, दोस्रो किस्ता ४० हजार ९ सय १७ र तेस्रो किस्ता १९ हजार ९ सय ३६ जनाले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्