प्रदेशका विपद् घटनामा जनता र सांसद्को सवाल-जवाफ



हेटौंडा, (नेस) ।

वागमती प्रदेशमा विपद्का घटनामा नागरिकको चासो देखाउन थालेका छन् । हालको समयमा विपद्का घटना बढ्न थालेपछि नागरिकको चासो बढेको हो । मकवानपुरगढीमा आयोजित सार्वजनिक सुनुवाइमा जनता र सांसद्को सवाल-जवाफ चल्यो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३, ४, ५ र ६ का नागरिकले आगलागी, बाढी, पहिरो र चट्याङको जोखिम बढेको बताए ।

जनपत्र मिडिया प्रालि हेटौंडाको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीयस्तरमा आगलागी, चट्याङ, बाढी, पहिरोजस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइमा सहभागी नागरिक र सांसद्, मन्त्रीहरुले यस विषयमा चासोसाथ काम गर्नुपर्ने बताएका छन् । जनपत्र मिडिया प्रालि अध्यक्ष हरि हुमागाईंले प्रदेशका १० जिल्ला (उपत्यकाबाहेक) मा गत चैत महिनासम्म विभिन्न विपद्का कारण ४७ जनाको मृत्यु भएको, ४८ जना घाइते र ९ जना बेपत्ता भएको बताए । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशका १० जिल्लामा विपद्मा ३४ जनाको मृत्यु, ६२ जना घाइते र २ जना बेपत्ता छन् । आर्थिक वर्ष २०७८÷०७९ मा विपद्का घटनामा ३९ जनाको मृत्यु, ८३ जना घाइते हुँदा ३ जना बेपत्ता भए ।

विपद्का घटनामा प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा प्रत्येक वर्ष सयांैको संख्यामा घरगोठमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार साउनदेखि बैशाख १४ गतेसम्म आगलागी, वर्षा, बाढी, पहिरो, हावाहुरी, चट्याङ, करेन्ट लागेर, खोलाले बगाएरलगायत घटनामा ९ जनाको मृत्यु, १८ जना घाइते, १ सय १ पशुचौपाया मर्दा ४७ घरमा पूर्णरुपमा क्षति पुगेको छ । ७५ परिवार प्रभावित भए । आगलागीबाट ४५ परिवार प्रत्यक्ष प्रभावित भए । यसबाट ४ करोड २६ लाख रुपियाँ क्षति भएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा ३५ जनाको मृत्यु, ३७ जना घाइते, ३९ पशुचौपाया मरे । १९ वटा घर र १७ वटा गोठमा क्षति पुग्यो । १ सय ११ परिवार प्रभावित भए । २ करोड रुपियाँ क्षति भएको प्रहरीले जनाएको छ । सार्वजनिक सुनुवाइमा अर्जुन न्यौपानेले खोलमा तटबन्ध हुनुपर्नेमा तार जाली लगाएर झारा टारिएको बताउनुभयो । ‘सिमेन्ट खानीको ओभरबटमका कारण बाढीपहिरोको त्रास छ ।

चरण क्षेत्र अतिक्रमणले पनि बाढीपहिरोको क्षति बढाएको छ,’ उहाँले भन्नुभयो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले भन्नुभयो–वन जोगाउन चासो नभएकाले चुनौती बढेको हो । ‘विज्ञसँग छलफल गरेर बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ । जोखिम न्यूनीकरणसँगै तटबन्ध निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ ।
प्रदेशका वन तथा वातावरण मन्त्री केशबप्रसाद पोखरेलले भन्नुभयो–जनताको जिउधन सुरक्षा जनप्रतिनिधिको कर्तव्य हो । उहाँले प्रदेशको कुल भुभागको ५३ प्रतिशत जमिन वनले ढाकेको छ । वनमा डँढेलो लाग्न नदिन र वनलाई जनजीविकासँग जोड्न प्रदेश सरकारलाई दबाब छ ।
प्रदेशसभा सदस्य भारती पाठकले वनडँढेलोले मानवीय क्षतिको जोखिम बढाएको भन्दै डँढेको आवश्यक भए पनि हाल व्यवस्थापनको कमजोरी र सिप अभावका कारण वनडँढेलो विपद् बन्न पुगेको बताउनुभयो । ‘वनमा डँढेलो लाग्न नदिन सचेत हुनु भन्दा लापरबाही बढी हुन थालेको छ । वनका काठ, जडिबुटी नष्ट भएका छन् । जोगाउन जनचेतना र सिप चाहिएको छ,’ उहाँले भन्नुभयो ।
वागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठले सबैले आआफ्नो स्थानबाट विपद्बाट बच्न ध्यान दिनुपर्र्ने भन्दै हाल प्रदेशमा विपद्का घटना धेरै भएका र आगलागीबाट धेरै धनजन क्षति भएकाले संसद्मा कुरा उठाइने बताउनुभयो । उहाँले बाढी, पहिरोको जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्