पविता मुडभरी पुडासैनी
राजनीतिक यात्राको लामो कालखण्ड आफू अनुकूल राजनीतिलाई बदलिरहेको कांग्रेस हाल आएर राजनीतिक परिवेशअनुकूल आफैंलाई बदल्नुपर्ने निर्मम मोडमा उभिन बाध्य भएको छ। के अब साँच्चै बदलिन्छ त कांग्रेस ? तीनै तहको चुनावी परिणामको लज्जाजनक पराजयले तिखो प्रश्न गरिरहेको छ कांग्रेसलाई। देशलाई नयाँ संरचनामा उभ्याउने कांग्रेस आफैं किन नयाँ विचार र विधिमा उभिन सकेको छैन ? यो गम्भीर प्रश्न हो।
जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको व्यवस्थाबाहेक संविधानमा उल्लिखित बुँदाहरू बदल्न सकिने गरी संविधान निर्माण गर्न हिम्मत गर्न सक्ने कांग्रेस राज्यको संरचना र ढाँचासँगै समयानुकूल आफैंलाई बदल्न नसक्नाकै परिणति राजनीतिक व्यवस्था पटक–पटक बदलिए पनि जनताले परिवर्तन, विकास र अमनचयनको अनुभूति गर्न पाएका छैनन्। संसारलाई बदल्नु छ भने सबभन्दा पहिला आफैंलाई बदल्नुपर्छ भन्ने भनाइको हेक्कासम्म देखिएन कांग्रेस नेतृत्वमा।
त्यसो त हाल कांग्रेस पार्टीभित्र नेतृत्व परिवर्तन मात्र समस्या समाधानको विषय हुँदै होइन। विचार, सिद्धान्तको पालना र सांगठानिक मजबुती अनि क्रियाशीलता सबै पक्षमा सुधारको खाँचो देखिएको छ। सरकारको नेतृत्वमा रहँदा विधिको शासन व्यवहारमा उतार्दै राजनीतिक क्रान्तिसँगै आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभिभारा कांग्रेसबाट पूरा हुन नसक्दाको परिणति हो चुनावी परिणाम। चुनावी जनमतमार्फत यो अभिभारा अब वर्तमान प्रधानमन्त्री केपी ओलीमा सरेको छ।
संघीयता लागू गर्ने र निर्वाचन गराउने काम सम्पन्न गरेको कांग्रेसमा संस्थागत पद्धति छैन। भइरहेका संघ–संघठनलाई परिचालन गरी संघठन मजबुत बनाउने काम भएको छैन। एमाले पार्टीमा तल्लो तहका कार्यकर्ता तथा समर्थक नै तिनको सभा–सम्मेलनमा उपस्थिति जनाउँछन्। राय–सल्लाह र पार्टीको नीति–रणनीति बुझ्छन्, संगठनमा खटिन्छन्, प्रचारप्रचारमा व्यापक जुट्छन्।
आफ्नो पार्टीलाई मज्जाले जनसमक्ष भजाउँछन् तर कांग्रेसमा त्यस्तो खोई ? कार्यकर्ता व्यवस्थापनका लागि कांग्रेसका विभागहरू गठन हुन सकेका छैनन्। टिकट वितरणदेखि पदाधिकारी चयनसम्म गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको छ। सबभन्दा विडम्बना त जो जसका विरुद्ध चुनाव लडेको हो नेतृत्व तहबाटै ऊसँग मिलेर स्थानीय तहको चुनावमा खुलेआम सहयोग गर्न थालेपछि कांग्रेसको साख नराम्ररी गिरेको हो। रामायणका मुख्य पात्र अयोध्याका राजा रामसँग पराजित भएपछि लंकाका राजा रावणले भनेका थिए– तिमीले युद्ध जित्यौ, किनभने तिम्रो भाइ लक्ष्मण तिम्रो पक्षमा थियो, मैले युद्ध हारें, किनकि मेरो भाइ विभीषण मेरो विपक्षमा थियो।
चुनावी पराजयपछिको बितेको तीन महिना कांग्रेसले पराजयको समीक्षामै पार्टीलाई केन्द्रित ग¥यो। पराजयको समीक्षा बैठक तथा भेलामा कांग्रेसले यो लामो अवधि बदलिएको राजनीतिक प्रणालीसँगै नबदलिएको नेतृत्वको चरित्रले निर्वाचन परिणाममा नराम्रो आघात पारेको विषयलाई नै बढी केन्द्रित गर्ने काम भयो। वर्तमान राजनीतिक प्रणालीले नयाँ युग समातेको पक्कै हो तर नेतृत्वमा नयाँ युग हाँक्ने नयाँ चिन्तन र जोश नहुनु अर्को विडम्बना हो। कांग्रेसको बैठक तथा भेलामा गुटगत आरोप प्रत्यारोपमै हारको विश्लेषणलाई बढी स्थान दिनाले पार्टीलाई सुदृढ बनाउने भावी रणनीतितर्फ केन्द्रीय सदस्यहरूको ध्यान केन्द्रित भएको देखिँदैन। केन्द्रीय समितिभित्र र बाहिरबाट समेत प्रस्तुत भइरहेका कांग्रेस रूपान्तरणका अवधारणामाथि गम्भीर छलफल जरुरी छ।
पार्टीका नेतृत्व नेता र कार्यकर्तासम्मले पालन गर्नुपर्ने आचारसंहिताको व्यवस्थापन तथा एकता र एकआपसको विश्वास कांग्रेसका लागि पहिलो आवश्यकता हो। कांग्रेसको जनमत घटेको छैन तर मतदाता स्वात्तै घटेकै हुन्। तीन तहको चुनाव आफ्नै नेतृत्वमा गराइरहँदा कांग्रेसले जनताका लागि प्रत्यक्ष राहतको अनुभव हुने गरी भोट हाल्ने आधार तय गर्न सकेन। विकास निर्माण तथा अन्य नयाँ काम गरेर देखाउने र जनतालाई आकर्षित गर्न भन्दा जनताका नजरमा अलोकप्रिय कार्यतर्फ नेतृत्वको पाइला अघि बढिरह्यो। टिकट वितरणमा असन्तुष्टि बढिरहँदा पनि मुखलाई नभई रुखलाई भोट दिन उर्दी फरमान जारी गर्दै इतिहासको बखान रटेर चुनाव जितिने सपनामा तत्कालीन नेतृत्व मग्न रह्यो। निर्वाचन पराजयको समीक्षालाई लिएर विवाद चर्किरहेकै अवस्थामा कांग्रेसमा पदाधिकारी मनोनयनको विवाद पनि चुलिँदै छ।
एकलौटीरूपमा पदाधिकारी मनोनयन गरिए बैठक बहिष्कार गर्ने सोचमा छन् केन्द्रीय तहका नेता–नेतृहरू। कमजोर संगठन, गुटगत मनोवृत्ति र अन्तरघातको अन्तर्यले चुनावी परिणाम लज्जाजनक हात पारेको कांग्रेसले अब एकता, अग्रगमन र चुस्ततालाई ध्यान दिँदै विधानअनुरूप पार्टीलाई सच्याउँदै लैजानु जरुरी छ। विदेशी लगानी प्रशस्तै भित्र्याउने कांग्रेसले युवा जनशक्ति बाहिरिने काम किन रोक्न सकेन ? नेतृत्वबाट पार्टीलाई सुदृढ गर्नभन्दा गुट–उपगुटलाई संरक्षण गर्ने कार्य हुँदाको परिणति चुनावी नतिजाले देखाइसकेको छ। पार्टीलाई नयाँ ढंगले अघि बढाउने सीप र सादगी भएको कांग्रेसमा आशालाग्दा युवापुस्ता नभएका होइनन्।
तर पाँच–पाँच वर्षको फरकमा हुने निर्वाचनसँगै जन्मने नयाँ पुस्ताका अनगिन्ती भोट तान्ने र पार्टीप्रति आकर्षण बढाउने अग्रगामी कार्ययोजना अझै पनि कांग्रेसमा देखिएको छैन। झन्डै सात दशकअघिदेखि जनताको सार्वभौमसत्ता संरक्षणका लागि आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसजस्तो ठूलो र प्रजातान्त्रिक पार्टीको भ्रातृ तथा भगिनी संस्था छ र ? भनेजस्तो अवस्था छ अहिले। अझ एमालेले विभिन्न सीप सिर्जना र संरचनामा भगिनी संगठनलाई दु्रत गतिमा अघि बढाइरहँदा कांग्रेस पार्टीका समर्थक महिला संख्या असंख्य हुँदाहुँदै भगिनी संस्था दुई–चार सुटेडबुटेड महिलाका मोबाइल गफमा खुम्चन पुगेको छ। यस्तो अवस्थामा पार्टी कसरी सुदृढ हुन्छ र ?
तीनै तहको चुनावमा हारेर पनि राष्ट्रोत्थानका लागि राम्रो भूमिका पाएको छ कांग्रेसले। प्रतिपक्षी बनेर सरकारलाई सही मार्गमा हिँडाउनेदेखि आगामी चुनावी परिणाम आफ्नो पोल्टामा पार्न अहिल्यैदेखि रणनीति तय गर्नु जरुरी छ। स्वच्छ शासन सञ्चालनमा विधिको बलियो अनुभूति दिलाउन कार्ययोजना तय गर्न सरकारलाई कांग्रेसले दबाब दिन सक्छ। वर्तमान नेतृत्वलाई राजनीतिमा स्थापित नवीनताको निरन्तरताका लागि कांग्रेसको सहयोग र सहकार्य आवश्यक छ। निर्वाचनले राजनीतिक स्थिरताको मार्ग तय गरे पनि विधिको शासन स्थापित गर्दै राज्यको साधन–स्रोतको दुरूपयोग रोकी फजुल खर्च नियन्त्रण गर्ने कार्यमा राज्यको अग्रसरता देखिँदैन। हाल सबैभन्दा महत्वपूर्ण कुरा नेतृत्व शक्तिशाली छ, उसैगरी प्रतिपक्ष पनि। यो समयमा नभएको समृद्धि कहिले हुने ?
स्पष्ट बहुमत ल्याएर प्रधानमन्त्री भएकाहरू पनि आफ्नै पार्टीभित्र आलोचित र विभाजित भएर पार्टीकै कारण संकटमा पर्ने अवस्थाबाट समेत वर्तमान नेतृत्व मुक्त छ भने समृद्धिका लागि यो भन्दा गतिलो अवसर के हुन सक्छ ? स्थानीय तहदेखि केन्द्रीय तहसम्म वाम गठबन्धनकै सरकार हाबी छ। सबभन्दा महत्वपूर्ण कुरा त राष्ट्रप्रमुखको बलियो साथ र समर्थन वर्तमान सरकारलाई छ। अब स्वदेशमा रोजगारी वृद्धि गर्ने, विदेशी लगानी भित्र्याउने र कृषिमा आधुनिकीकरण एवम् उद्योग व्यवसायमा विविधीकरण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।
कर उठाउने आधारक्षेत्र बढाउनका लागि समेत प्रशस्तै उद्योग व्यवसाय फस्टाउने राजनीतिक वातावरण निर्माण गर्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा आएको छ। अर्थतन्त्रको अधोगति व्येहोरेका कम्युनिस्ट शासन भएका अनेकौं राष्ट्रलाई उछिन्दै चीनले विकासको गतिमा आफूलाई विश्वमाझ उदाहरणीय रूपमा प्रस्तुत गरेको छ, जुन केपी ओलीका लागि सत्प्रेरणाको विषय बन्न सक्छ। कम्युनिस्ट शासन भन्नेबित्तिकै कठोर शासन, निरकुंश तन्त्र र हत्या–हिंसाबाट जर्जर मुलुक भन्ने मानसिकता नै बसालिसकेको विश्व राजनीतिक परिवेशमा यो मुलुकसहित आफ्नो बेग्लै छबि बनाउने अवसर ओलीमाझ आएको छ।
झन्डै साँढे दुई दशकको समयमा थुप्रै पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा हाल सरकारको नेतृत्व गरेको दल नयाँ होइन, न त नेतृत्व गरेको पात्र नै नयाँ हो। तर पनि प्रधानमन्त्री ओलीप्रति जनतामा नयाँ आशा र उमंग छ। कांग्रेसको लागि सबभन्दा ठूलो राजनीतिक पाठ यही हो। विगतका सरकारले गर्न नसकेका काम यो सरकारले गर्न सक्छ भन्ने आशा ओलीको आवाजले दिएकै हो। अब साँच्चै व्यवहारमा स्थायित्व र समृद्धिको विश्वास दिलाउने कार्ययोजना अगाडि ल्याउन किन ढिलाइ भइरहेको छ ?
प्रतिक्रिया