टोड्केको पर्यटन विकास आवश्यक


रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमाक्षेत्रमा अवस्थित टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न जरुरी देखिएको छ। समुन्द्री सतहदेखि २ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित टोड््केमा सरकारी निकाय र समुदायले पदमार्ग, सडक, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माणका साथै स्वर्गद्वारी आश्रमको शाखाका रूपमा चिनिने मन्दिरको जीर्णोद्धार तत्काल गर्न सकेमा पर्यटक बढाउन सकिन्छ।

टोड्केनजिकैको झीँ र पूर्ण गाउँका बासिन्दाले पर्यटकको सुविधाका लागि होमस्टे शुरू गरेको अवस्थामा यहाँ पर्यटक पर्वद्धन हुन सक्ने देखिन्छ। गुराँसे जंगलको बीचमा रहेको टोड्केको प्रचारप्रसार र सम्भावना उजागर गराउन वि.सं. २०६५ र २०७२ मा महोत्सवको आयोजना गरिएको थियो ।

टोड्केबाट गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलालाई नाङ्लोको घेराझँै नजिकबाट अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको थप आकर्षण हो । यसलाई पर्यटकीय नगरी बनाउन हातेमालो गर्नु जरुरी देखिन्छ।

– अभय उप्रेती, म्याग्दी

मनपरि रूख कटान बन्द होस्

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरि रूख कटान भएको छ । वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरेको भनिए पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्तभन्दा मनपरि अन्य सग्लो रूख कटान गरेको देखिएको छ । यसलाई तत्काल रोक्न पहल गरियोस्।

– तुलाराम कार्की, उदयपुर

आफ्नो स्वास्थ्यको ख्याल गरौं है

वैशाख महिनाको तेस्रो साता शुरू भएसँगै तराईका भू–भागदेखि मध्यपहाडी जिल्लामा समेत गर्मी ह्वात्तै बढेको छ। हावामा तापको मात्रा बढेसँगै बढेको गर्मीका कारण आमनागरिकमा केही न केही समस्या देखा पर्न थालेका छन्। एकातर्फ मौसम परिवर्तनका कारण परिवर्तित हावापानी र अर्कोतर्फ गर्मी बढेसँगै भैरहेको वर्षाका कारण पनि स्वास्थ्यमा कुनै न कुनै प्रतिकूलता देखा परिरहेको छ। पानीका मुहानहरूमा पसेको भेलबाढीका कारण प्रदूषित बनिरहेको पानीका कारण पनि यो समयमा मानव स्वास्थ्यमा समस्या देखा पर्ने गरेको जानकारहरू बताउँछन्। हामीले पिउनका लागि प्रयोग गर्ने पानीलाई राम्रोसँग निर्मलीकरण गरेर पिउन नसकेका कारण हामी वर्षा याममा प्रायः बिरामी पर्ने गरेका छौं।

स्वास्थ्य संस्थाहरूमा भेटिने रुघाखोकी, झाडापखलाा तथा टाइफाइडका बिरामीले प्रस्टरूपमा हाम्रो आनिबानीको स्वरूप देखाइरहेका छन्। स्वास्थ्यमा सामान्यतया आउने समस्याभन्दा गर्मी याममा आउने समस्या विषेश गरेर प्रदूषित पानी र खानाकै कारण हुने गरेको चिकित्सकहरूले बताउने गरेका छन्। एकातर्फ मौसमअनुसार दैनिक आनिबानी र आफ्नो स्वास्थ्यको ख्याल नगर्ने हाम्रो बानी छ, अर्कोतर्फ संकट आउन सक्छ भनेर पूर्वतयारी नगर्ने हाम्रो बानीका कारण गर्मी मौसममा फैलिने महामारीले गाउँ तथा कतिपय शहरहरूसमेत प्रभावित हुने गरेका छन्। अनेकौं मौसमको सामना गर्नुपर्ने हाम्रो मुलुकमा मौसमअनुसारको आनिबानी तथा दैनिकी नागरिकले अंगाल्नुपर्ने र आमनागरिकको स्वास्थ्य सुरक्षाको लागि समयमा पूर्वतयारी राज्यले गर्न जरुरी छ। अहिले पनि पहाडी जिल्लाका केही दुर्गम ठाउँहरूमा अत्यावश्यक औषधिको समेत उपलब्धता छैन।

राज्यले समयको ख्याल गर्दै गर्मीको समयमा फैलन सक्ने महामारीको नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक औषधिको जोहो गरिराख्नु अहिलेको आवश्यकता हो। सके आमनागरिकलाई गर्मी तथा वर्षाका कारण फैलन सक्ने महामारीबाट बचाउनका लागि जनचेतना र प्रदूषणरहित समाजको निर्माण गर्ने, नसके सम्भावित खतराबाट बच्नको लागि आवश्यक पूर्वतयारी गर्नु राज्यको दायित्व हो। यो मौसममा फैलिने आउँ, रुघाखोकी, टाइफाइडजस्ता रोगहरूको नियन्त्रणका लागि सामान्य सिटामोल खोज्नसमेत जिल्ला सदरमुकाम तथा देशका ठूला शहरमा जानै पर्ने बाध्यता राज्यले अन्त्य गर्नुपर्छ। अर्को कुरा, महामारीका कारण समयमा औषधि नपाएर ज्यान जान क्ने खतराबाट सबैलाई जोगाउन आवश्यक छ। नागरिक सचेत र राज्य जिम्मेवार हुने हो भने कुनै पनि नागरिकले महामारीकै कारण अकालमा ज्यान गुमाउनुपर्नेछैन।

– सन्तोष भण्डारी, काठमाडौं

सुन पसलबाट ठगियौं
हामी यहाँ कति ठगिएका रहेछौं भन्ने बल्ल थाहा भएको छ। उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गर्नाले उपभोक्ता ठग्दै आएको भेटिएको छ। केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय, उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटाकिला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्डविरुद्धको भेटिएर जफत गरेको छ। तर हामी ठगिएको क्षतिपूर्ति उपलब्ध गराउन र ठगलाई कार्वाही गर्न सरकारी टोली उदासीन देखिएको छ।
– रूपा सुनार, उदयपुर

चन्द्रगढ क्षेत्र उत्खननको पर्खाइमा

ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल चन्द्रगढ क्षेत्र पुरातत्व विभागको उत्खननको पर्खाइमा छ । सोह्र थुम, दुई पोखरी र बीच–बीचमा अग्लो बाटो रहेको सो स्थानको प्रारम्भिक अध्ययनबाट किच्चकबधभन्दा पुरानो रहेको विज्ञले बताएको भए पनि उत्खननका लागि पहल भएको छैन। पुरानो इतिहास भए पनि संरक्षण र महत्वका बारेमा जानकारी नहुँदा चौर र जंगलका रूपमा रहेको स्थलका बारेमा अध्ययन–अनुसन्धान जरुरी छ।
केही वर्षदेखि चन्द्रगढी सामुदायिक वन समितिले सो क्षेत्रलाई संरक्षण गर्ने काम गर्दै आएको छ । चन्द्रगढी सामुदायिक वनक्षेत्रमा रहेको सो स्थलको संरक्षण एवं संवद्र्धनमा वन उपभोक्ता समिति क्रियाशील छ । करिब १० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा स्थानीय जनसमुदायले हरियालीका लागि वृक्षरोपण गर्ने र सरसफाइ गर्ने काम जारी राखेका छन् । अब सरकारले चोसो दिन जरुरी देखिन्छ।
– नागेन्द्र थापा, झापा