मृगौलापीडितलाई १२ लाख आर्थिक सहयोग


नेपाल समाचारपत्र
काठमाडौं
गोरखा शहीद लखन गाउँपालिका–८ निवासी स्थानीय युवा समाजसेवी नरबहादुर अधिकारीलाई औषधि उपचारार्थ १२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ। उहाँका दुईवटै मृगौलाले काम गर्न छोडेपछि उपचारार्थ विभिन्न सहयोगी हातले आर्थिक सहयोग प्रदान गरेका हुन्। शनिबार ठमेलमा आयोजित औपचारिक कार्यक्रममा सांसद चूडामणि खड्काले संकलित सहयोग पीडित अधिकारीलाई प्रदान गर्नुभएको हो।

मृगौलापीडित अधिकारीको मृगौला प्रत्यारोपण गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ। थोरै भए पनि सहयोग प्रदान गर्न स्वदेश तथा विदेशमा रहेका युवाले उक्त रकम संकलन गरेका हुन्।

सांसद खड्काले आफू पनि मृगौला रोगबाट पीडित व्यक्ति भएको जानकारी दिँदै यस रोगले दिने आर्थिक, मानसिक र शारीरिक पीडा तथा यातना निकै कठिन हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो रोग कसैलाई नलागोस्।’

त्यस्तै, मृगौलापीडित अधिकारीले शहीद लखन गाउँपालिकाका स्थानीय युवाद्वारा आर्थिक सहयोगस्वरुप प्रदान गरिएको उक्त रकम आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सामान्य आयस्रोत भएका मृगौलापीडितहरूले भारतमा गई उपचार गराउँदाको पीडासमेत पोख्नुभयो।

गोरखाका स्थानीय दुखी गरिब तथा असहाय र निमुखाहरूको औषधि उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका समाजसेवी उत्तरकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सहयोगी हात र पवित्र मन भएका युवा एक ठाउँमा उभिँदा धेरै विकास गर्न सकिने बताउनुभयो। आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमका सभापति एवं पर्यटन व्यवसायी नवराज अम्गाईले समृद्ध गोरखा निर्माणका लागि आफू सधैं लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष गरी आफू जन्मिएको स्थान शहीद लखन गाउँपालिकाको वडा नम्बर–८ लाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

शहीद लखन गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष काशीनाथ अम्गाईले स्वदेश तथा विदेशमा रहेका युवाको सहयोगी हातले स्थानीय दुखी, गरिब, असहाय र निमुखा जनताको स्वास्थ्य र शिक्षालगायत विभिन्न क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो।