प्रदेश ४ः दुई तिहाईले बजेट पारित, नामाकरण १ महिना धकेलियो

0
Shares

नेपाल समाचारपत्र, पोखरा । प्रदेश ४ को बजेट दुई तिहाई बहुमतले पारित भएको छ । चालू आर्थिक वर्षको बाँकी अवधिका लागि ल्याइएको बजेट आइतबार पारित भएको हो ।

प्रदेश चार सरकारका तर्फबाट अर्थमन्त्री किरण गुरुङले १९ गते १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट संसदमा पेश गरेका थिए । दुई दिनको छलफलपछि बजेट पारित गर्ने दिन शुक्रबार प्रतिपक्षी दल कांग्रेस र नयाँ शक्तिले संसद अबरुद्ध गराएपछि आइतबारसम्मका लागि बैठक स्थगित भएको थियो । एमाले, माओवादी र जनमोर्चाले बजेटको पक्षमा मत दिए भने नेपाली कांग्रेस र नयाँ शक्तिले बजेटको विपक्षीमा मत दिएका थिए ।

आइतबार १ बजेका लागि बैठक बोलाइएको भए पनि दलहरु सहमति निर्माणमा जुट्दा ढिलोगरी ६ बजेमात्रै सुरु भएको थियो । चित्त नबुझेका कुरा प्रतिपक्ष दलले राख्ने र त्यसमाथि अर्थमन्त्री गुरुङले जवाफ दिने सहमतिपछि बैठक बसेको थियो ।

आइतबारकै बैठकमा स्थानीय तहको सभा सञ्चालनसम्बन्धी विधेयक पेश गरिएको छ । अर्को बैठक सोमबार ४ बजे फेरि बस्ने भएको छ ।

यसैगरी प्रदेश नामाकरण एक महिनापछि गरिने भएको छ । सत्तारुढ दल एमाले–माओवादीको धारणा नआएकाले आइतबारको संसद बैठकले प्रदेश राजधानी तथा नामाकरण समितिको एक महिना म्याद थप गरेको हो । बिहीबार बसेको समितिको बैठकले एमाले–माओवादीका सांसदले प्रदेश नामाकरणको मिति एक महिना थप गर्ने निर्णय गरेको थियो ।