लापरबाहीले त्रिवि सभा स्थगित


ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्माले अन्तिम समयमा आएर बैठकमा आउन नसक्ने जनाएपछि आइतबार हुने भनिएको त्रिवि सभा स्थगित भएको छ।

त्रिविका सबै सभासद् उपस्थित भएर सभा सञ्चालन हुनै लाग्दा त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उपकुलपति प्राडा तीर्थ खनियालाई फोन गरी कुलपति अकस्मात् बिरामी परेका कारण आउन नसक्ने जानकारी गराउँदै बैठक स्थगित गर्न निर्देशन दिनुभएको थियो।

सहकुलपतिको निर्देशनपछि उपकुलपति खनियाले बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो। कुलपति एवं प्रधानमन्त्री ओली बिरामी भएको जानकारी गराए पनि उहाँको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्रिविले समयमै कार्यसूची उपलब्ध नगराएका कारण उहाँ उपस्थित नहुनुभएको बताउनुभयो। ‘उहाँ बिरामी हुनुभएको होइन, त्रिविका पदाधिकारीले कार्यसूची उपलब्ध नगराएका कारण उपस्थित हुन नसक्नुभएको हो।

उहाँको नियमित भेटघाट कार्यक्रम जारी छ, उहाँ बिरामी पर्नुभएको होइन, ४ बजे संसद्मा उपस्थित हुने कार्यक्रम यथावत रहेको छ, त्रिवि उपकुलपतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँ सभामा नजानुभएको हो।’ –प्रेस सल्लाहकार अर्यालले भन्नुभयो।

अब सभा कहिले बस्ने भन्ने विषय अन्योलमा परेको छ। त्रिविका उपकुलपति प्राडा खनियाले कुलपति एवं प्रधानमन्त्री ओलीलाई दुई साताअघि नै कार्यसूची बुझाएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘सभाबाट पारित गरिने कार्यविधि दुई साताअघि नै पठाएका थियौं, अस्पष्ट भएको केही विषयमा पुनः कार्यसूची बुझाएका थियौं, यति हँुदाहुँदै पनि कुलपतिले कार्यसूची नआएको भन्नु अचम्मको विषय भएको छ।’

तर, प्रेस सल्लाहकार डा. अर्यालले उपकुलपतिले समयमा एजेण्डा नदिएको र अन्तिम समयमा आएर आफू अनुकूल निर्णय गराउन खोजेको जानकारी पाएपछि उहाँ नजानुभएको जानकारी दिनुभयो। कुलपति एवं प्रधानमन्त्री ओलीले तय गरेको मिति र समयमा नै त्रिवि सभा आयोजना गरेको जनाउँदै अन्तिम समयमा आएर बिरामी भएको बहाना गर्नु गलत भएको त्रिविका सभासद्हरूको आरोप छ।

सहकुलपति एवं शिक्षा विज्ञान एवं प्रविधि मन्त्रीलाई खबर गरेर सभा स्थगित गर भन्नु गलत भएको आरोप सभासद्हरूले लगाएका छन्। उपकुलपति खनियालगायतका पदाधिकारीहरू शनिबार बिहान करिब ३ घण्टासम्म कुलपतिलाई ब्रिफिङ गर्न बालुवाटार पुगेको तर कुलपतिको कार्य व्यस्तताका कारण भेट हुन नसकेको बताउनुभयो।

‘सबै तयारी गरी कुलपतिलाई जानकारी दिन पुगेका थियांै तर भेट भएन’ –उहाँले भन्नुभयो। त्रिविको सभा बैठकमा शिक्षक÷कर्मचारी सेवासम्बन्धी नियम २०५०, आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम २०५०, संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०, स्वायत्तता सम्बन्धी नियम २०६२ लगायत नियमलाई संशोधन तथा खारेज गर्नुपर्ने थियो।

त्यस्तै त्रिवि ऐन, २०४९ लाई संशोधन गरेर त्रिवि सभाको सदस्य, कार्यकारी परिषद्को सदस्य पद, त्रिविको समग्र शैक्षिक विकासको निमित्त आवश्यक ‘भिजन २०३०’ अनुसार रणनीतिक योजना कार्यान्वयन गर्ने, त्रिविलाई अनुसन्धान र उत्कृष्टताको केन्द्र बनाई केन्द्रीय विश्वविद्यालयका रूपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्बन्धी प्रस्ताव, त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण वडबडियाको हाजिरी अनुमोदनसम्बन्धी प्रस्तावलगायत ९ वटा प्रस्ताव सभामा पेस गर्ने कार्यसूची रहेको थियो।

तर के कारणले बैठक स्थगित भयो ? भन्ने विषयमा हामी आफंै अनविज्ञ भएका छौं। त्रिविका सभासद् एवं पूर्वउपकुलपति प्राडा. कमलकृष्ण जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्रिविको सभा वर्षको २ पटकसम्म बोलाइन्छ। कानुनतः कुलपतिको अनुपस्थितिमा शिक्षामन्त्री तथा सहकुलपतिको अध्यक्षतामा सभा गर्ने सहकुलपतिकै अनुपस्थितिमा उपकुलपतिले सभाको अध्यक्षता गरेर सभा संचालन गर्ने प्रावधान रहेको छ।’