जेष्ठ नागरिकको भूकम्प अनुभव, राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी


चिरञ्जीवी मास्के, दोलखा
दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ वर्ष पुग्नुभयो। तर, उहाँको जोश, उत्साह र क्रियाशीलता २५ वर्षे युवाको भन्दा कम छैन।

१९९० साल र २०७२ सालको विनाशकारी भूकम्प भोग्नुभएको हरिबहादुर १९९० सालको सरकारभन्दा २०७२ सालको सरकार अनुत्तरदायी देखिएको अनुभव सुनाउनुहुन्छ। ‘हुन त त्यति बेलाको परिस्थित र अहिलेको परिस्थिति फरक छ’, जेष्ठ नागरिक हरिबहादुरले भन्नुभयो– ‘तर, अहिलेको गणतान्त्रिक सरकारले त्यति बेलाको राणा सरकारले जति पनि जिम्मेबारी बहन नगरेको हो कि जस्तो लाग्दै छ।’ भूकम्पपछि राणा सरकारले त्यति बेलाको अवस्थामा जनतालाई राम्रै राहत दिएको उहाँको भनाइ छ।

९५ वर्षको उमेरमा एउटा गाई र थोरै खेतीपातीसमेत धानेर एक्लै बस्नुभएको हरिबहादुर भूकम्पपछि टहरामै रहेको भए पनि सरकारले आफूजस्तो जेष्ठ नागरिकलाई समेत खासै ध्यान नदिएको गुनासो सुनाउनुहुन्छ। ‘सरकारले ३ लाख दिएर झारो टार्न खोजेको छ’, उहाँले गुनासो गर्दै भन्नुभयो– ‘कमसेकम हामी जस्ता जेष्ठ नागरिक, विपन्न र अशक्तलाई थप सहयोग गर्नुपथ्र्यो नि!

हरिबहादुरको जीवन गाईबस्तुको हेरचाह र घाँस–दाउरामै बितेको छ। पुख्र्यौली घर कालिञ्चोक गाउँपालिकाको बेगुम्पामा भए पनि उहाँ बुबाको मृत्युपछि चिलंखा आउनुभएको थियो। बुबासँग हुँदा सानै उमेरमा १६ वटा भैंसी, ४÷५ वटा गाई, एकहल गोरु र २२ वटा बाख्राको हेरचाहमा बिताउनुभएका हरिबहादुरले त्यसयता निरन्तर गाईभैंसीको हेरचाह र खेतबारीको काममै जीवन गुजार्दै आउनुभएको छ। भूकम्पसम्बन्धी संयोग पनि उहाँको अनौठो छ। १९९० सालमा भूकम्प जाँदा उहाँ ११ वर्षको हुनुहुन्थ्यो रे⁄ त्यति बेलाको सम्झना गर्दै उहाँले भन्नुभयो– ‘बुबा तुलाराम रुखमा चढेर घाँस झार्दै हुनुहुन्थ्यो, मचाँहि त्यो घाँस जम्मा गर्दै थिएँ, भूकम्पले जमिन नै हल्लायो। तर, बुबा र मलाई केही भएन।’ २०७२ सालमा उहाँ ९२ वर्षको हुनुहुन्थ्यो र भूकम्प जाँदा घरनजिकको बारीमा घाँस नै काट्दै हुनुहुन्थ्यो। यो पटक पनि उहाँलाई केही भएन। उहाँको अनुभवमा १९९० सालको भन्दा २०७२ सालको भूकम्प निक्कै ठूलो थियो। तर, त्यति बेलाको अवस्था र मानव जनसंख्या हेर्दा धन–जनको क्षति भने त्यति बेला बढी थियो।

१९९०, २०७२ र बीचका भूकम्पहरूले धेरै जन–धनको क्षति पु¥याएको छ। हरिबहादुरको पनि धनको भने क्षति भयो तर आफन्तमा जनको भने कुनै क्षति पुगेन। भूकम्पले आफ्नो र परिवारको ठूलो क्षति नभए पनि आफ्नो छिमेकमा धेरैको बिचल्ली देखेकाले आफूलाई ठूलो पीडा भएको जेष्ठ नागरिक हरिबहादुर बताउनुहुन्छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पले घरमा क्षति पुगेकाले राहतका लागि नजिकको सिंगटी बजारमा पुगेर फर्कंदै गर्दा वैशाख २९ गतेको भूकम्पपछि आएको पहिरोमा परेर हरिबहादुरको गाउँले ९ जनाको ज्यान गएको थियो भने पहिरोमा परेर बाँचेका केही अहिले पनि अपाङ्ग जीवन बिताइरहेका छन्।

जेष्ठ नागरिक हरिबहादुर सरकारले भूकम्पपीडितहरूका लागि थप सहयोगको घोषणा गर्नुपर्ने र भूकम्पका कारण अपाङ्ग भएकालाई मासिक सहयोग गर्नुपर्ने बताउँछन्।

९५ वर्षको उमेरमा पनि दैनिक १ गिलास दूध खाने हरिबहादुर निरन्तर परिश्रम गर्ने र खानपिनमा ख्याल गर्ने हो भने लामो समय स्वस्थ रहेर बाँच्न सकिने बताउँछन्। यो उमेरमा पनि औषधिको एउटा ट्याब्लेटसमेत मुखमा नहालेका हरिबहादुर गाँउघरमा कोही बिरामी पर्दा फुकफाकसमेत गर्छन्। तर, उनी फुकफाक मनको शान्तिका लागि मात्र काम लाग्ने भन्दै बिरामी हुँदा डाक्टरकामै जानुपर्ने बताउँछन्।