शंकरनाथ काफ्ले
आजको दिनसम्म नेपाल हरेक दृष्टिकोणबाट पछि पर्नुको मुख्य कारणको रूपमा नेपालको अस्थिर राजनीतिलाई मान्ने गरिन्थ्यो। अस्थिर राजनीतिलाई स्थिर बनाएर मुलकलाई समृद्ध बनाउनुपर्दछ भन्ने नेपाली जनताको दृढ संकल्पलाई पूरा गर्न नेपाली जनता आफैंबाट नेपालको संविधान निर्माण गर्नुपर्ने पहिलो सर्त मानियो। यसै कारण संविधानसभाको निर्वाचन गरेर हामीले संविधानसभामार्फत नेपालको संविधान २०७३ निर्माण गर्न सफल भयौं। यो संविधानलाई नै स्थिर राजनीतिको जग मानिएको छ। नेपालको इतिहासमा ०७ सालभन्दा अघिको जहानियाँ राणा शासनमा नेपाली जनताको प्रत्यक्ष÷अप्रत्यक्ष शासनको कुनै सम्भावना थिएन। सात सालको क्रान्तिले नेपाली जनताको लागि शासनमा पुग्ने सानो छिद्र खोल्ने कार्य भयो। प्रजातन्त्रको उदय मानिएको ०७ सालले राजसंस्थालाई मजबुद बनाए पनि जनताले आफ्नो आवाज उठाउन पाउने स्थान पाएका थिए।
०७ सालपश्चात् प्रयोगमा नै संविधानिक राजतन्त्रको विकास भइदिएको भए नेपालमा धेरै पहिले राजनीतिक स्थिरता छाउँथ्यो। पलायन भएको राजतन्त्रलाई नेपाली जनताले आफ्नो ज्यानको आहूति दिएर स्थापित गराएपछि राजसंस्थामा क्रमशः शक्ति केन्द्रित गर्ने सोच बढ्दै गयो, जसको कारण मुलुकमा घोषित निरंकुश राजतन्त्र स्थापित हुन पुग्यो। जनता संवैधानिक राजतन्त्रको पक्षमा रहेको भए पनि राजतन्त्र मौका पाउनासाथ स्वेच्छाचारी ढंगबाट मात्र अघि बढ्न खोजेको कारण २०६३ सालसम्म राजा र जनताबीच द्वन्द्व चलिरह्यो, जसले गर्दा मुलुकमा राजनीतिक स्थिरता हुन सकेन। अस्थिर राजनीतिको कारण मुलुक हिंसा र विनाश उन्मुख मात्र हुन पुग्यो। २०६२÷०६३ को आन्दोलनपछि पनि शासनसत्ता प्रत्यक्षरूपमा जनताको काँधमा आए पनि करिब १० वर्ष प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नाममा नै बित्यो। २०७३ सालमा संविधानसभाबाट संविधान निर्माण गरेपछि त्यसको कार्यान्वयनको नाममा करिब डेढ वर्ष उसै बित्यो। आज जनताले विश्वास गरेको संविधान हामीसँग छ, जनताले अठोट गरेको बलियो सरकार हामीसँग छ। अब परीक्षाको घडीमा वर्तमान राजनीतिक दलहरू र केपी ओली नेतृत्वको सरकार छ। यिनीहरूलाई गल्ती गर्ने र काम गर्न नसक्ने कुनै अधिकार जनताले छाडेका छैनन्। यही विन्दुमा नेपालको भविष्य उभिएको छ।
सबैले स्वीकार गरेकै कुरा हो, २००७ सालको प्रजातन्त्रको उदयपश्चात्को इतिहासलाई हेर्ने हो भने वर्तमान केपी ओली नेतृत्वको सरकार नेपालमा पहिलोपटक सर्वाधिक शक्तिशाली सरकारको रूपमा गठन भएको मानिन्छ। यसमा पनि यो सरकार २००७ सालदेखि थाँती रहेको जनताबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान २०७३ को कार्यान्वयनको पहिलो चरणमा नै गठन भएको सरकार भएकोले यसको विशेष महत्व पनि छ। नेपाली जनताको चाहना संविधानसभाबाट नेपालको संविधान निर्माण गर्ने थियो, त्यो आज साकार भएको छ। नेपाली जनताको अर्को चाहना स्थिर सरकारको निर्माण गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने भन्ने थियो, त्यो पनि पूरा भएको छ। जनताले गर्नुपर्ने दायित्व पूर्ण इमानदारी र बुद्धिमत्तापूर्ण ढंगबाट पूरा गरेका छन्।
अब मुलुकलाई स्थिरतासहित समृद्धिको मार्गमा त्यो पनि दु्रत गतिमा डो¥याउने जिम्मा सरकारको भएको छ। १५ सालमा बीपीले दुई तिहाइ मतका साथ विजय हासिल गरेर सरकार निर्माण गरेका थिए, तसर्थ उक्त सरकार शक्तिशाली थियो भनेर पनि भनिन्छ। तर, त्यस समय मुलुकमा सक्रिय राजतन्त्रात्मक व्यवस्था थियो, हेर्दा दुई तिहाइ मतको सरकार भए पनि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर संविधान र तत्कालीन व्यवस्थाको समेत अन्त्य गरिदिएका थिए, जसको कारण दलहरू प्रतिबन्धित हुन पुगे। कसैले चुँक्कसम्म पनि गर्न सकेनन्। तसर्थ तत्कालीन निर्वाचित सरकार शक्तिशाली थिएन। त्यसपछिका कुनै पनि सरकार देखिँदा पनि बलियोरूपमा देखिएनन्। केही हेर्दा बलियो देखिए पनि ती कुनै न कुनै रूपमा कमजोर नै प्रमाणित भए। तसर्थ आजको अवस्थामा वर्तमान सरकार नेपालको सर्वाधिक शक्तिशाली र आधुनिक राजनीतिलाई आत्मसात् गर्न सक्ने सक्षमता र सबल बन्न सक्ने देखिन्छ।
आज जनताले चाहेबमोजिमको संविधान जारी भएको छ, जनताले चाहेको भनिएको संघीयता कार्यान्वयन भएको छ। करिब दुई तिहाइ बहुमतको सरकार निर्माण हुन पुगेको छ। राजनीतिक विकृतिलाई स्थान दिने दलहरूको विगतको खिचडी प्रणालीको अन्त्य भई ५ दलले मात्र राष्ट्रिय दलको रूपमा आफूलाई उपस्थित गराउन सक्षम भएका छन्। राजनीतिक दलहरूबीचको अनावश्यक द्वन्द्वहरू ज्यादै न्यूनीकरण भएका छन्। सिद्धान्तको लागि मात्र पक्ष र प्रतिपक्ष बन्न पुगेको अवस्था छ। विद्रोही र विरोध गर्ने शक्तिहरू कमजोर बन्न पुगेका छन्।
आमजनताले वर्तमान पद्धति र प्रणालीको पक्षमा मत जाहेर गरिरहेका छन्। यस अवस्थामा नेपाली जनता मुलुकको समृद्धि हेर्न लालायित भइरहेका छन्। यसको लागि राज्यलाई हरेक पक्षबाट मद्दत गरेर मुलुकको मुहार फेर्ने विराट संकल्प बोकिरहेका छन्। मुलुकलाई अघि बढाउनको लागि आजको जस्तो सहज र अनुकूल राजनीतिक वातावरण इतिहासमा कहिल्यै निर्माण हुन सकेको थिएन। यसकारण वर्तमान सरकारले अहोरात्र खटिएर, लोकतन्त्र, सुशासन, मानवअधिकार र कानुनी राजको आदर्शलाई पूर्णरूपमा सम्मान गर्दै अघि बढेमा जनअपेक्षा अवश्य पूरा हुनेछ।
सपना बाँड्न सजिलो हुन्छ तर सपना साकार पार्न दृढ संकल्पको आवश्यकता पर्दछ। हिजोका दिनसम्म संक्रमणबाट मुलुकको राजनीति गुज्रिरहेको थियो। एउटा काम गर्न नसक्दा अर्कोले हामी भए यसो गथ्र्यौं, उसो गथ्र्यौं भन्न सक्ने अवस्था थियो। अव त्यो बहानाबाजी गर्ने अवसर बाँकी रहेन। जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत प्रदान गरेको अवस्था छ। स्थानीय सरकारदेखि प्रदेश एवं केन्द्रमा समेत वाम गठबन्धनको स्पष्ट बहुमत आएको अवस्था छ। मधेस केद्रित दलहरूसमेत उपयुक्त विश्वासको वातावरण निर्माण भएमा सरकारमा आउन उत्साहित देखिएको अवस्थामा अब केन्द्रीय नेतृत्वलाई काम गर्न असहज हुने कुनै अवस्था नै छैन। अब केन्द्रीय सरकार वा नेतृत्व असफल हुने एउटा मात्र कारण हुन सक्छ, अनुभवको कमी। तर त्यो अवस्था पनि छैन, प्रधानमन्त्री केपी ओलीजीले विगतमा पनि सरकारको नेतृत्व गर्नुभएको थियो, सरकारको नेतृत्व सम्हाल्दै गर्दा त्यस समय राष्ट्रिय तथा छिमेकी सम्बन्धहरूमा समेत प्रतिकूलता थियो। यद्यपि ओली सरकारले विगतमा जनताको धेरै मात्रामा विश्वास जित्न सफल भएका थिए।
विगतका त्यही सफलताको कारण नेपाली जनताले आसन्न निर्वाचनमा नेकपा एमालेलाई सबैभन्दा ठूलो दल र वाम गठबन्धनलाई पूर्ण बहुमत प्रदान गरेको विश्वास गर्न सकिन्छ। यसकारण वर्तमान सरकारसँग नेपाली जनताको तीव्र अपेक्षा र अपार विश्वास छ। यो विश्वासलाई कायम राख्न सकेमा वर्तमान सरकार सफल हुने त छ नै, समृद्ध नेपालको परिकल्पनासमेत साकार हुनेछ। हामीले ५ वर्षभित्र मुलुकलाई चाहेअनुसार समृद्ध बनाउन त नसकौंला तर समृद्धिको मार्गमा मुलुकलाई धेरै अघि बढाउन सफल हुनेछौं। समृद्धिका पूर्वाधारहरू निर्माण गर्न सकियो मात्र भने पनि सरकार, संविधान र जनताको विश्वास सबै सफल हुनेछ। अन्यथा मुलुक निमार्णको अर्को विकल्प बाँकी रहनेछैन। त्यसपछि मुलुक फेरि सम्हाल्न नसक्ने गरी अस्थिरता र द्वन्द्वमा फस्न सक्नेछ। यो कुरालाई विचार गर्दै वाम गठबन्धनले असल र कुशल राजनीतिक संस्कारलाई अघि बढाउनु आवश्यक छ।
वाम गठबन्धन एकतामा परिवर्तन हुने दिशातर्फ अघि बढिरहेको छ।
यसलाई सार्थक बनाई मुलुकको समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढेमा जनताले पक्कै परिवर्तनको अनुभव गर्न सक्नेछन्। गठबन्धन शक्तिलाई एकतामा परिणत गर्न खोज्नु सुखद पक्ष हो तर मुलुकको समृद्धिमा एकतालाई नै अपरिहार्य परिभाषित गर्दै वाम एकतालाई सौदाको विषय बनाएर मुलुकलाई अघि बढ्नबाट रोक्नु वा वास्तविक उद्देश्यमा केन्द्रित हुनुको साटो मुलुकको ध्यान अर्कोतर्फ लगेर समय बरबाद गर्नु मुलुकको हितमा नहुन पनि सक्छ। एकता गर्नुहोस् तर पार्टीको एकतालाई मुलुकको समृद्धि र उद्देश्यसँग नजोड्नुहोस्। आज मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन कोही बाधक छैनन्। अहिलेको लोकतान्त्रिक चरित्रले यही संकेत दिएको छ। हुन त अर्थतन्त्रको हिसाबले संघीयता धान्न सकिँदैन कि भन्ने आशंका पनि व्यापक छ। त्यसलाई चिर्न भ्रष्टाचार र अनियमितताहरूलाई निर्मूल पार्न सक्नुपर्दछ।
जनप्रतिनिधिहरूले राज्यबाट असीमित सुविधा खोजेर होइन, मुलुकको लागि समर्पित भएर कार्य गरेमा जनतामा रहेको संघीयता धान्न सकिँदैन कि भन्ने अन्तिम भ्रम पनि समाप्त हुनेछ। यता जनअपेक्षा पनि तीव्र छ, तर जनअपेक्षालाई साकार पार्न सक्ने अवस्था पनि विकास भएको छ। यसलाई सम्भव बनाउन जिम्मेवार राजनीतिक दलहरूले निष्ठाको प्रशासन स्थापित गर्न सक्नुपर्दछ।
(लेखक अधिवक्ता हुनुहुन्छ।)
प्रतिक्रिया