भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबार पुनः निर्माणको प्रतीक्षामा छ। माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्टो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्टोमा छिर्ने निश्चित छ। खाल्टामा ठूला–ठूला ढुंगा देखिएका छन्। यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ।
राजा राम शाहको शासनकालमा बनेको यो दरबारमा आधुनिक नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले शासन गर्नुभएको थियो। एकीकरणपछि राजधानी काठमाडौँ स¥यो। हनुमानढोकाबाट शासन शुरू भयो। तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक दरबारको पुनः निर्माण अझै शुरू हुन सकेको छैन। पुनः निर्माणका लागि गत वैशाख ७ गते जग पूजा गरिए पनि अहिलेसम्म कुनै काम शुरू भएको छैन। काष्ठमण्डप, धरहरा, रानीपोखरीलगायत सम्पदा पुनः निर्माणमा भएको ढिलाइ र विवादको शृङ्खला सुनेका गोरखावासी हामी दरबारको अवस्था त्यस्तो नहोस् भन्ने कामना गरिरहेका छौं।
गोरखा बजारको टाकुरामा बनेको कलात्मक दरबार हेर्न दैनिक हजारौँ मानिस आउँछन्। दरबार भग्नावशेषमा परिणत भएको देख्दा खिन्न भएर फर्कन्छन्। राम शाहले गोरखाकै वज्रभैरव मन्दिर रहेको अर्को डाँडा वज्रकोटमा दरबार बनाउन खोज्नुभएको थियो। वज्रकोटमा काठ, ढुंगालगायत निर्माण सामग्री लगेर थुपारियो। बज्रकोटमा लगिएको सामग्री गोरखा बजारको डाँडामा एकै रातमा फर्कन थालेपछि दरबार यहीँ बनाइएको हो भन्ने किंवदन्ती छ। डाँडामा भएको आध्यात्मिक शक्तिको प्रभावले निर्माण सामग्री फर्किएको स्थानीयवासीको विश्वास छ।
शक संवत् १५३६ अर्थात् वि.सं. १६७१ मा मुरलीधरनारायण मन्दिर र शक संवत् १५५८ अर्थात् वि.सं. १६९३ मा वास्तुकलाले युक्त रामेश्वर मन्दिर निर्माण भएको अभिलेख रहेकाले त्यही सेरोफेरोमा दरबार बनेको अनुमान गर्न सकिने एउटा आधार भए पनि कहिले बनेको भन्ने एकिन भने अहिलेसम्म भएको छैन। एउटा इतिहास बोकेको यो दरबारको संरक्षणमा सरकार उदासीन देखिएको छ।
भक्तपुरे शैलीको गोरखा दरबारमा वि.सं. १९९० को भूकम्पमा पानी छिरे पनि ठूलो क्षति भएन। वि.सं. २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ रिक्टर स्केलको भूकम्पले दरबारको पूर्वी भागमा क्षति पुग्यो। दरबार भत्काएर बनाउने कि नभत्काई बनाउने भन्नेमा लामो समय बहस भएको थियो। अब यसलाई छिट्टै पुनः निमार्ण गर्न जरुरी देखिएको छ।
– प्रविन शर्मा, गोरखा
ठेकेदारलाई कारबाही होस्
यहाँ हाम्रो जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रूपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य ठेकेदारले अलपत्र पारेको छ। ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरूआत हुन सकेको छैन। यहाँ पुल अलपत्र छ।
तीन वर्षअगाडि एचके कन्स्ट्रक्सन प्रालिले तमैलमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु. ११ करोड २५ लाखको लागतमा पुलको सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको कुनै पनि कामको थालनी गरेको छैन। निर्माण कार्य सम्पन्न गर्ने म्याद अब दुई महिना मात्र बाँकी छ, तर अहिले पुल अलपत्र अवस्थामा छ। खराब नियत भएको ठेकेदारलाई राज्यले कारबाही गर्नुपर्नेमा राज्य उदासीन छ। राजनीतिक आडमा ठेकदारले काम नगर्दा जनता मर्कामा परेको अवस्थामा पनि सरकार र प्रशासन चुप लागेर बसेको अवस्था छ।
पुल निर्माण भएपछि सेतीपारिका चार गाउँपालिका र नगरपालिकासम्म यातायात सञ्जाल जोडिने सम्भावना छ। पुल निर्माण गर्ने ठेकेदार, सडक विभागको सेती लोक मार्गअन्तर्गतको केन्द्रीय कार्यालय, प्रदेश नं. ७ का सभामुख र मुख्यमन्त्रीकोमा धायौँ। अझै टुङ्गो लागेको छैन। ठेकेदारले नदीको वरपर किनारामा जगसमेत खनेको छैन। यहाँ अहिले काम ठप्प छ। असी मिटर लम्बाइ रहेको यस पुलको तीनवटा स्पान रहेको र पाइल स्टमबाट पिल्लर राखी माथि सिमेन्ट ढलान गर्नुपर्ने पुलको डिजाइन छ। जमिनभित्र १६ मिटर मेसिन दबाएर २० वटा पाइल बनाई एक वर्गमिटरसहितको जमिनभित्रैबाट सिमेन्ट ढलान गरेर आउनुपर्ने यसको डिजाइन छ। यसको निर्माणमा अब छिट्टै ध्यान दिन जरुरी देखिएको छ।
– दीपक खकुरेल, बझाङ
रानीपोखरीको निर्माणमा पारदर्शिता जरुरी
रानीपोखरी पुनः निर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि १६ लाख लाग्ने भएको समाचार सञ्चारमाध्यममा आइरहेको छ। परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माण सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिकाले बताउँदै आएको छ। हावातालमा काम शुरू गर्दा सरकारी रकमको दुरूपयोग भएको छ। अनावश्यकरूपमा विनायोजना गरेको खर्चको अहिले तुक देखिएन। बनाएको संरचना विधि नपु¥याउँदा बनाउन लाग्ने खर्चसँगै भत्काउने खर्चले धेरै संरचनाको पुनः निर्माण हुने अवस्था थियो।
परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दबाबपछि करिब चार महिनादेखि पोखरी पुनः निर्माणको काम रोकिएको छ। गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीचको छलफलले उक्त निर्णय गरेको थियो। अहिले पोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनः निर्माण विभागले गरिरहेको छ भने पोखरीको छेउछाउमा निर्माण गरिएको पर्खाल कामपाले गरेको थियो। हालसम्मको पुनः निर्माणका क्रममा २ करोड ३० लाख खर्च भइसकेको छ। अबको निर्माण विचार पु¥याएर गर्न जरुरी देखिएको छ।
– सावित्रा खनाल, भक्तपुर
प्रतिक्रिया