थाई सेना प्रमुख काठमाडौंमा


काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ४ दिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र थाइल्यान्डका आर्मड फोर्सका प्रमुख तार्न चाइयान सिसुवान बुधबार काठमाडांै आइपुग्नुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो।

जनरल सिसुवानले हिजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो। प्रधानसेनापति राजेन्द्र क्षत्री र जनरल सिसुवानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो।

सोही अवसरमा उहाँलाई जंगी अड्डामा आयोजित छुट्टै कार्यक्रममा नेपाली सेनासम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरिएको थियोे।

भ्रमणको दौरान उहाँले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थलहरूको भ्रमण गर्नुका साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रमसमेत रहेको छ।