भर्ना अभियानमा अझै ध्यान पुगेन


सरकारले हरेक वर्ष निकै तामझामका साथ सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ। हरेक वर्ष आकर्षक नारासहित भर्ना अभियान सञ्चालन गर्ने गरिन्छ। नयाँ शैक्षिक सत्रदेखि शुरू भएको भर्ना अभियान वैशाख महिनाभर जारी रहनेछ।

यस वर्षको भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रत्यक्षरूपमा सहभागी भएको खबर सार्वजनिक भयो। ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व’ अभियानअन्तर्गत मन्त्रीहरू, जनप्रतिनिधिहरू, कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिहरू यस अभियानमा सामेल हुँदै आएका छन्। विद्यालयबाहिर रहेका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न सरकारले आह्वान गर्दै आएको छ। यद्यपि, भर्ना अभियानका नाममा करोडौं रकम खर्चिए पनि विद्यालयमा विद्यार्थीको पहुँच र शिक्षाको सिकाइ उपलब्धि भने उत्साहजनक देखिँदैन। यसमा ध्यान जान जरुरी देखिएको छ।

– सुरज दाहाल, चितवन

पर्यटकीय नगरी म्याग्दी

धौलागिरीको एउटा जिल्ला हो म्याग्दी। पर्यटनका हिसाबले छिमेकी जिल्लाको सहयतामा म्याग्दीले ठूलो फड्को मारेको छ। अग्ला र लामा झोलुंगे पुलका कारण चर्चामा रहेको पर्वत जिल्ला, एक मात्रै सिकार आरक्ष रहेको बागलुङ जिल्ला तथा हिमालपारिको जिल्लाका रूपमा परिचय बनाएको मुस्ताङ म्याग्दीका छिमेकी जिल्ला हुन्। आफंैमा पनि प्रशस्त सम्भावना बोकेको जिल्ला र आसपासमा रहेका जिल्लामा भित्रिने पर्यटकलाई आफ्नो जिल्लामा भित्र्याउनका लागि माहिर म्याग्देलीका कारण जिल्लाले पर्यटनमा फड्को मारेको कुरामा कसैको दुई मत नहोला। म्याग्दीको गलेश्वरको प्रचारदेखि त्यहाँका प्राकृतिक तथा मानवनिर्मित संरचनाको प्रचारप्रसारमा म्याग्देलीहरूको प्रचार शैली सबैले सिक्नुपर्ने खालको छ।
गाउँ नै गाउँले भरिएको नेपाल, त्यसमा पनि पहाडी जिल्लाहरूमा अझै पनि सबै क्षेत्रमा यातायातको सहज पहुँच छैन। यातायातको सहज पहुँच नभएका सबै ठाउँमा मानिसहरू आवतजावत गर्ने उपयुक्त माध्याम भनेको पदमार्ग नै हो।

धौलागिरीका सबै जिल्लामा यस्ता कैयौं पदमार्गहरू छन्, जहाँ मानिसहरू दैनिक हजारौंको संख्यामा ओहोरदोहोर गरिरहेका हुन्छन्। व्यवस्थित गरिएका पदमार्ग हुन् वा पुरानै शैलीमा बनाइएका डहरहरू किन नहुन्, दैनिक मानिसले हिँड्नका लागि प्रयोग गर्ने बाटोहरू पदमार्ग हुन्। पदमार्गको प्रयोग हामी सबैले गर्ने गरेका छौं। त्यही पदमार्गको प्रयोग गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा भने कहीँ कुटिल मानिसहरू मात्रै सफल भएका छन्। प्रायः गरेर म्याग्दीका ठाउँ–ठाउँमा पदमार्गहरू निर्माण, मर्मत र व्यवस्थापन गरेका समाचारहरू आउने गरेका छन्। हामीले आफू हिँड्ने र गाईवस्तु हिँडाउने बाहेक पदमार्गको प्रयोगमा नयाँ विचार भित्र्याउन सकेका छैनौं। तर म्याग्दीका कतिपय स्थानहरू यस्ता छन् जहाँ अत्यावश्यक केही संरचनाहरू निर्माण गरिएका छन्। पर्यटकका लागि आवश्यक खानपान, बासस्थान र बजारको व्यवस्था मिलाइएको छ।

थोरै लगानी र केही मेहनत गर्दा मात्रै बनेका संरचनाका कारण म्याग्दीका डहरहरूले पनि बहुचर्चित पदमार्गको रूपमा परिचय बनाएका छन् भने अन्य ठाउँका डहरकै रूपमा कायम छन्। बागलुङको गल्कोटमा रहेको घुम्टे चढ्ने बाटो, ढोरपाटनसम्म पुग्ने पदमार्ग, दक्षिणमा जैमिनीधामदेखि भैरवस्थानसम्मको पदमार्ग, पर्वतको मोदिवेणीदेखि पञ्चासे, चित्रेको होमस्टेमा जाने डिमुवा–चित्रे पदमार्ग, कालिगण्डकीको किनारदेखि लुंखुको धुरी चढ्ने मार्गजस्ता पदमार्गहरू आज पनि प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा ओझेलमा छन्। म्याग्दीले जसरी आफ्ना साना–ठूला बाटोहरूलाई पदमार्गको रूपमा प्रस्तुत गरेर आफ्नो पर्यटनको विकासमा टेवा पु¥याइरहेको छ।

सोही गतिमा अन्य जिल्ला तथा स्थानीय तहहरूले समेत सम्भाव्य क्षेत्रहरूलाई पदमार्गको परिचय दिएर प्राप्त प्रचारप्रसार गर्नु अहिलेको आवश्यकता हो। देशको आर्थिक विकासको महत्वपूर्ण पाटो भनेको पर्यटन हो। पर्यटनको क्षेत्रमा आ–आफ्नो ठाउँमा भएका सम्भाव्य क्षेत्रको पहिचान गरी आर्थिक समृद्धिको बाटोमा लाग्नु आमनागरिक, सरोकारवाला तथा राज्यको दायित्व हो।

– माधव शर्मा, म्याग्दी

विशाखापट्टनम्को समास्या समाधान गर

तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापट्टनम् बन्दरगाहमा नेपालीले साह्रै हैरान बेहोर्नुपरेको छ। प्रलेखीकरणको समस्या चाँडो हल गर्नु जरुरी देखिएको छ।

कागजी प्रक्रिया झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या अहिले पनि हटेको छैन। परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको बन्दरगाहबीचमा सही सहकार्य र सहजीकरणमा समस्या आएका कारण पनि व्यापारमा कठिनाइ भएको छ। राष्ट्र बैंकले प्रतीतपत्र जारी गर्नका लागि अनुमति दिएको भए पनि त्यसलाई प्रविधियुक्त र छरितो बनाउन नसकेको र विशाखापट्टनम्मा भारतस्थित नेपाली राजदूतावासको उपस्थिति नहँुदा प्रलेखीकरणमा ढिलाइ भई सामान निश्चित समयमा छुटाउन समस्या परेको छ। यस विषयमा उच्च स्तरबाटै समस्याको हल खोजियोस्।
– सुरज न्यौपाने, काठमाडौं