गंगा बराल, काठमाडौं ।
सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्वोधन गर्ने जानकारी नभएको बताउनुभएको छ ।
सभामुख महराले बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी आफूले प्रधानमन्त्रीलाई सोधेको तर अहिलेसम्म त्यस्तो जानकारी नभएको जवाफ पाएको प्रष्ट पार्नुभयो । मोदी बैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । मोदीले संसद्मा सम्वोधन गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रीहरुबीच क्याविनेटमा नै बिबाद भएको बताइएको छ ।
महराले सरकारको नीति तथा कार्यक्रम जेष्ठ १ गते प्रस्तुत गर्ने जनाउनुभयो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुहुने छ । ‘अहिलेसम्मको तयारी १ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने हो’ उहाँले भन्नुभयो ‘ धेरैवटा विधेयक ल्याउनुपर्ने भएकाले सरकारलाई छिटो गर्न भनिरहेको छु ।’ वजेट जेष्ठ १५ गते ल्याउने संवैधानिक व्यवस्था छ ।
महराले असार अन्तिमसम्मको संसद्को सम्भावित कार्यतालिका प्रस्तुत गर्नुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई सिफारिस गरे अनुसार संसद् सचिवालयले सोमबार सूचना प्रकाशित गरी २३ गते आइतबारदेखि सुरु हुने गरी संघीय संसद्को बैठक बोलाएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै बैठक ४ बजे बस्ने छन् । संसद्को पहिलो बैठक १ महिनासम्म चलेर चैत्र २० गते सकिएको थियो । बैठक फागुन २१ बाट सुरु भएको थियो ।
प्रतिनिधिसभाका ११ वटा र राष्ट्रिय सभाका १० वटा बैठक बसेका थिए । प्रतिनिधि सभाको बैठकको पहिलो दिन केही अध्यादेश प्रस्तुत गर्ने, २४ गतेदेखि २७ गतेसम्म प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्ने, संशोधन प्रस्तुत गर्ने र पारित गर्ने, पहिलो बैठकमा प्रस्तुत अध्यादेश स्वीकृत गर्ने कार्यतालिका छ ।
वैशाख २६ गतेबाट ३ दिनसम्म अर्थमन्त्रीद्वारा प्रस्तुत प्रि वजेट बिनियोजनका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने र छलफल गर्ने, जेष्ठ १५ गते वजेट आएपछि १७ गतेबाट वजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीले जवाफ दिने र स्पष्टीकरणको जवाफ दिने, जेष्ठको चौथो हप्तादेखि असारको तेस्रो हप्तासम्म सबै मन्त्रालयका शिर्षकगत छलफल गर्ने, विनियोजन विधेयक पारित गर्ने, विनियोजनक विधेयकका आश्रित विधेयकहरु अन्तर्गतका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची छ ।
त्यस्तै असारको चौथो हप्तादेखि संसद्मा आएका संविधान कार्यान्वयनसम्वन्धी विधेयकहरुमथि छलफल गर्ने, दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्प प्रस्तावलगायतमा छलफल गर्ने कार्यक्रम छ । नियमावली मस्यौदा पारित भएपछि प्रतिनिधिसभाका समितिहरु गठन हुने छन् । नियमावलीमा केही बिबाद भएकाले अझैसम्म पनि समितिबाट टुंगो लागेको छैन ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पनि बुधबार नै सिंहदरवारमा पद तथा गोपनीयताको सपथ खाएका छन् । योगीलाई प्रतिनिधि सभाका सभामुखले र फुयाललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउनुभएको थियो । सम्वन्धित सभाको सिफारिस भएका उहाँहरुलाई राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । सचिवले बैठक सञ्चालन गर्ने जिम्मेवारी पाउने छन् ।











प्रतिक्रिया