कर्माचार्यको नेतृत्वमा कार्यसमिति


काठमाडौँ,  नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनले प्रेमसागर कर्माचार्यको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

कार्यसमितिको पदाधिकारीमा उपाध्यक्षमा धु्रव थपलिया, महासचिव राधाकृष्ण तण्डुकार, सचिवमा राजन महर्जन र कोषाध्यक्ष मीना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, सदस्यमा कृष्ण चौहान क्षेत्री, रेश्मा रोक्का, भीम विक, शिवकुमार साह, गुन्नकुमार गुप्ता, टंक परियार, श्याम गौतम र तीर्थराम अवस्थी हुनुहुन्छ ।

समाजको ‘कम्तीमा एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हौँ’ भन्ने मूलनारा छ । मुलुकमा रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाता समाजले रक्तदान तथा पीडितलाई रगतको व्यवस्थापन गर्न आवश्यक समन्वय र सहयोग गर्दै आएको छ ।

समाजका नवनिर्वाचित अध्यक्ष कर्माचार्यले राज्यले बिरामीलाई निःशुल्क रगतको सुविधाको व्यवस्था गर्न माग गर्दै मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रक्तसञ्चार कार्यलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म १५० पटक रक्तदान गर्नुभएको छ ।

मुलुकका विभिन्न २३ जिल्लामा सञ्जाल रहेको समाजले आगामी दिनमा देशभर सञ्जाल विस्तार गर्ने जनाएको छ । यही वैशाख १७ र १८ गते काठमाडाँैमा महाधिवेशन भएको थियो ।
रासस