साढे ३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध मुद्दा दर्ता गराउँदै प्रहरी

0
Shares

नेपाल समाचारपत्र, विराटनगर ।

नेपाल प्रहरीले साढे ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ ।प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । त्यसमध्यका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित फरार अन्य ३४ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ ।

मोरङका प्रहरीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागेको बताएको छ ।