मोदीको पहिलो अवतरण जनकपुर


काठमाडौं, (नेस)
नेपाल भ्रमणमा आउने तयारीमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंभन्दा अघि जनकपुर पुग्नुहुने भएको छ।

भारतको विहारस्थित पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान हुँदै त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट मोदी जनकपुर पुग्नुहुनेछ। धार्मिक र सांस्कृतिक भ्रमणका लागि उहाँ सोझै जनकपुर पुग्ने र त्यहीं नागरिक अभिनन्दन हुने गृह मन्त्रालयले जनाएको छ। मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुर पुग्नुहुनेछ। मोदी आगामी २८ गते धार्मिक तथा राजनीतिक भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ।

उहाँको भ्रमण र अन्य सुरक्षा वस्तु स्थितिबारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा मंगलबार जनकपुर पुग्नुभएको थियो। उहाँले मोदीलाई अभिनन्दन गर्ने तयारी गरिएको बाह्र बिगाहाको स्थलगत निरीक्षण गरी सुरक्षा सर्तकता बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।

मोदीले जनकपुर भ्रमण गर्ने निधो भएसँगै केन्द्र र २ नं प्रदेश सरकारको समन्वयमा भ्रमणको तयारी भइरहेको मन्त्री थापाले बताउनुभयो।

जानकी मन्दिरको दर्शन र नागरिक अभिनन्दनपछि मोदीले मुस्ताङस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको पनि दर्शन गर्ने तयारीसमेत गरिएको छ।

मोदीको नेपाल भ्रमणको मिति नजिकिएपछि नेपाल–भारत सीमावर्तीमा समेत दुवै मुलुकका सुरक्षा अधिकारीले सुरक्षा सतर्कता बढाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

मोदीले नेपालको पहिलो भ्रमणका क्रममा नै जनकपुर, लुम्बिनी र जनकपुरको भ्रमण गर्ने भनिए पनि त्यसो हुनसकेको थिएन। यो उहाँको नेपालको तेस्रो भ्रमण हो।