मे १ अर्थात् १२९औँ अन्तर्राष्ट्रि«य श्रमिक दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइएको छ। विश्वका मजदुरहरू एकजुट हौँ भन्ने सन्देशसहित मनाइँदै आइएको यस दिवस मनाइरहँदा विश्वपरिस्थिति पूरै बदलिएको छ। श्रमको सम्मानका लागि मनाइने यो दिवसबारे स्वयम् मजदुरहरू नै अनभिज्ञ भएको पाइन्छ। अहिले पनि मजदुरको परिभाषा फेरिएको छैन। मजदुर भन्नाले ज्यादै विपन्न वर्गका शारीरिक श्रम गर्ने व्यक्तिका रूपमा लिइन्छ। यो विल्कुलै गलत कुरा हो। अहिलेको परिस्थितिमा सीप, क्षमता र उच्च दक्षता भएका व्यक्तिलाई मजदुर भन्नुपर्ने भएको छ। सीप नभएका व्यक्ति मजदुर बन्न नसक्ने अवस्था आइसकको छ।
सूचना प्रविधिको उच्चतम प्रयोगका कारण मजदुरको भूमिका र कामको स्वरूप बदलिएको छ। अहिले कुनै पुँजीपतिको विरोधमा र्याली र जुलुस निकाल्नुपर्दैन। बरु पुँजीपतिहरूलाई उद्योग कलकारखाना खोल्न प्रेरित गर्नुपर्ने समय आइसकेको छ। एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लागिसक्दा पनि अझै पनि मजदुरले पुँजीपतिका विरुद्ध नारा लगाउनु आवश्यक छैन। श्रमको सम्मान गर्न सहयोग पुग्ने खालका कार्यक्रम गरी मे दिवस मनाउनु उपयुक्त हुन्छ।
बितेका केही दशकमा मजदुर र उद्योगीबीच द्वन्द्व बढेको थियो। मजदुरको समस्या उद्योगीले सम्बोधन नगर्ने र मजदुर युनियनका कारण उद्योग कलकारखाना सञ्चालन गर्न नसक्ने अवस्थाबीच द्वन्द्व बढी नै भए। उद्योगहरूमा बन्द, हडताल भइरहँदा मुलुकमा लोकतन्त्र स्थापना भइसक्दासमेत मजदुरहरूले लोकतन्त्रको अनुभूति गर्न सकेनन्। उद्योग, कलकारखानाहरूमा अहिले मजदुरको समस्या त्यति देखिँदैन, जति समस्या सरकारी कार्यालयमा छ। सरकारी कार्यालयहरूमा विभिन्न युनियनको राजनीतिका कारण सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन्।
मजदुरहरूको भन्दा बढी तलबभत्ता र सेवासुविधा पाए पनि कर्मचारीहरूले युनियन बनाएर कार्यालयको कामकारबाही प्रभावित गरिरहेका छन्। आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको स्मरण गर्दै हरेक वर्ष मे १ तारिखमा विश्व मजदुर दिवस मनाइने गरिएको हो। समाजले श्रमको सम्मान गर्न सके मात्रै समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिन्छ।
नेपालमा मजदुर दिवस मनाइन थालेको यतिका वर्षसम्म पनि समाजले श्रम गर्नेहरूको उचित मूल्यांकन गर्न सकेको छैन। मानिस कामले सानो र ठूलो हुने होइन। उसको आचरण र विवेकले नै मानिसको वर्गीकरण हुनसक्छ। जुनसुकै क्षेत्रमा काम गरे पनि आत्मसम्मान र श्रमप्रतिको सम्मान हुनुपर्छ। श्रमलाई सम्मान गर्नेलाई प्रोत्साहन गरी उनीहरूबाट समाजमा सकारात्मक सन्देश प्रवाह गरिनुपर्छ।
सकारात्मक चिन्तनले नै समाजलाई सही मार्गमा डोर्याउन मद्दत पुर्याउँछ। समुन्नत समाज निर्माण गर्न सर्वप्रथम हरेक क्षेत्रबाट विभेदको अन्त्य गरिनुपर्छ। मानिसले मानिसलाई सम्मानपूर्वक व्यवहार गरे मात्रै पनि विभेद हटाउन सकिन्छ। जहाँ श्रमको सम्मान र कदर हुन्छ, त्यहाँ नै समानता हुन्छ। देशलाई विकसित र समृद्ध बनाउन हरेक नागरिकको मनमा आत्मसम्मान र श्रमको सम्मान हुनै पर्छ। त्यसैले स्वदेशमै आत्मसम्मानपूर्वक श्रम गर्ने वातावरण सिर्जना गरी श्रमिक दिवस मनाउनु जरुरी देखिन्छ।
– रमा सुवेदी, काठमाडौं
एसएसबीको हस्तक्षेप हसह्य
जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका हामी स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ। विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई सम्बन्धीत निकायले ध्यान दिएको छैन। भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब २ हजार ९ सय मिटर तार जडान गरिसकिएको छ। यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाएको हो। अब ३ सय मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँमा अवरोध गरेको छ। यसअघि पनि पटक–पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको छ।
नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका छन। सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ। दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पुर्याउँदै आएका छन्। नेपालीको धेरै नोक्सानी हँुदा समेत सबै मौन छन। एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेको छ। यो विषयमा ध्यान जाओस्। गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले ज्यानसमेत गुमाउनुपरेको थियो। अब पनि सरकारले ध्यान नदिए हामीलाई मान्य हुनेछैन।
– सुरज सुनार, भीमदत्तनगर
दुर्गममा विद्यार्थी भर्ना बढाऊ
देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं. ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एकजना विद्यार्थी भर्ना भएका छैनन्। गत शैक्षिक सत्रमा ११० विद्यार्थी रहेको विद्यालयमा एकजना पनि विद्यार्थी भर्ना नहुनुको कारण कुनै पनि शिक्षक विद्यालयमा नहुनु हो।
गाउँमा विद्यार्थी भर्ना अभियान चलिरहे पनि प्रधानाध्यापक नेत्रप्रसाद ज्ञवाली बाहिरी जिल्ला गएको र अन्य शिक्षक पनि वाार्षिक परीक्षा सञ्चालन गरेदेखि विद्यालयमा हाजिर हुन नआएको अवस्था छ। स्वामीकार्तिक खापर गाउँपालिकाकै पुडेनीमा रहेको पुगेली आधारभूत विद्यालयमा पनि विद्यार्थी भर्ना संख्या निक्कै मन्द छ। कक्षा २ सम्म सञ्चालन रहेको उक्त विद्यालयमा एकजना प्रधानाध्यापक नरजंग कार्की र कार्यालय सहयोग शीतल बुढा गरी दुई जना मात्र रहेका छन्।
फयालगाउँको विन्दा शैनी आधारभूत विद्यालयमा पनि अहिलेसम्म जम्मा १४ जना विद्यार्थी भर्ना भएका छन्। विद्यालयले पाठ्यपुस्तकसमेत लिएका छैनन् भने विद्यार्थी भर्ना संख्या पनि निकै न्यून रहेको छ। त्यस्तै रूपाली आधारभूत विद्यालयमा हालसम्म ८६ जना भर्ना भएका छन्। भर्ना अभियान चलिरहँदा र देशका गन्यमान्यले भर्ना अभियानमा सहभागी भएर सन्तान भर्ना गराइरहँदा यहाँ दया लाग्दो अवस्था छ। सरकारको यतातिर ध्यान जाओस्।
– सुनिल कार्की (अभिभावक), बाजुरा
प्रतिक्रिया