कसैले नसोचेको दिनले ल्याएको पीडा र खुसी


भगवती तिमल्सिना, सिन्धुपाल्चोक
कसैले कल्पनै नगरेको र नसोचेको दिन २०७२ साल वैशाख १२ र २९ को भूकम्पले निम्त्याएको महाप्रलय अहिले पनि आलै छ। यो दिन सम्झँदा सबैका मन भक्कानिन्छन् र आँखा रसाउँछन्।

यिनै पीडाको भारी बोकी आफन्त र आफ्ना विगतलाई सम्झिएर विरक्तिएका पिस्करका बासिन्दामाझ एकाएक नसोचेको अर्को क्षण आइपुग्दा यहाँका बासिन्दाले केही राहत महसुस गरेका छन्।

त्रिपुरासुन्दरी गाउँपालिका पिस्कर–५ मा महाभूकम्पले चकनाचुर बनाएको मंगलामाई माध्यमिक विद्यालय प्राङ्गणमा २०७५ वैशाख १६ गते निकै खुसी छाएको थियो। विद्यालय प्राङ्गणमा भेला भएका ५ वटा विद्यालयका शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थीहरूले मध्या≈न खचाखच भरिएको थियो। यति नै बेला यहाँका बासिन्दाको दुःखमा साथ दिएर खुसी ल्याउन मदत गर्ने सिंगापुर रेडक्रसको नेतृत्वमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य चढेको गाडी रोकियो। विद्यालयको प्राङ्गण भरिएर भित्ता र कान्लासमेत मानिसको भीडले रंगीचंगी भएको थियो।

यो भीडमा सबैले दीनदुःखीको सेवामा जुट्ने यो देशका होनहार वरिष्ठ हास्य कलाकार आचार्यलाई आफ्नामाझ देखिसकेका थिए। सबैका हातमा लालिगुराँसलगायत राताराता फूलका गुच्छा र माला टल्किएका थिए। एकछिन आचार्यलगायतको टोलीलाई भीड छिचोल्नै मुस्किल प¥यो। भीडका अभिभावक, विद्यार्थी, शिक्षक सबैमा खुसी छाएको थियो। कलाकार आचार्य छिनभरमै पिस्करबासीको माया र ममताले भरिएको सुन्दर फूलको मालाले छोपिनुभयो।

कलाकार आचार्यलाई त्यस स्थानमा पु¥याउन प्रारम्भ नामक सामाजिक संस्थाका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, संस्थाका सचिव तथा पत्रकार केदार कोइराला, परियोजना प्रमुख बद्रीराज तिमल्सिना कस्सिएर लाग्नुभएको थियो।

देशविदेशको भ्रमण गरी नीति निर्माताको ध्यानाकर्षण गराउँदै आम नेपालीलाई सन्देशमूलक मनोरञ्जन दिँदै आउनुभएका आचार्य पिस्करमा घुम्न नभएर त्रिपुरासुन्दरी गाउँपालिकाभित्र रहेका ५ वटा सामुदायिक विद्यालय र एउटा सामाजिक भवन हस्तान्तरणका लागि पुग्नुभएको थियो।

पाँचैवटा विद्यालयका विद्यार्थीका लागि विद्यालय पोसाक तथा झोलाको व्यवस्थासमेत मिलाउने प्रारम्भ र सिंगापुर रेडक्रसलाई हौसला प्रदानका लागि भवन हस्तान्तरण तथा पोसाक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बनेर सबैसामु खुसी बाँड्न कलाकार आर्चाय पुग्नुभएको थियो।

प्रारम्भ नामक सामाजिक संस्था तथा सिंगापुर रेडक्रसले त्रिपुरासुन्दरी गाउँपालिकाका जनताको फाटेको मन टाल्न र बगेका आँसु पुछ्न भनेरै सामाजिक र भौगोलिकरूपमा समेत चौतर्फी चुनौती नै चुनौतीको चुलीमाथि टेकेर ५ वटा विद्यालय भवन र एउटा सामुदायिक भवनको निर्माण कार्य पूरा गरेको छ। हरिवंश आचार्यले यस क्षेत्रको अवस्थालाई नियाल्न जीवन साथी रमिला आचार्यलाई पनि साथै लानुभएको थियो।

कलाकार आचार्यले पाँचैवटा विद्यालयका विद्यार्थीका लागि आवश्यक तयारी पोसाकका साथ किताब बोक्ने झोला वितरण गर्नुभयो। यतिबेला यहाँका बासिन्दाका आँखामा खुसीका आँसु टिल्पिलाएका थिए र भन्दै थिए ३ वर्षअघि हामीले यो ठाउँमा धेरै मानिस गुमायौं, घरबास विहीन थियौं र विद्यालय खण्डहर बनेको थियो। आज सिंगापुर रेडक्रसको सहयोगमा विद्यालय पनि राम्रो बन्यो र हाम्रा बाबुनानीहरूले पनि नयाँ पोसाक लगाएर भोलिदेखि हातमा होइन, झोलामा किताब बोकेर आउन पाउने भए। हिजोको दुःख र आजको खुसी हामीले कहिल्यै सोचेका थिएनौं।

कलाकार आचार्यले भवनको उद्घाटन तथा पोसाक हस्तान्तरणसँगै आफ्ना भनाइ राख्ने क्रममा हरेक शब्दमा मनोरञ्जन दिनुभएको थियो। उहाँले भूकम्प आएको होइन हामी भूकम्पको ठाउँमा बस्न आएका हौं र भूकम्प हामीभन्दा धेरै जेठो भएको बताउनुभएको थियो। सिंगापुर रेडक्रस र प्रारम्भ नेपालले २०७२ माघ महिनामा पक्की भवन निर्माण कार्यको थालनी गरी २०७३ फागुनसम्ममा पाँचैवटा विद्यालय र एउटा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरेको थियो।