शान्ति निकेतनलाई ४ करोड ४२ लाखको भवन


मोतीराम तिमल्सिना, काभ्रे
भूकम्पले ध्वस्त भएको पनौती नगरपालिका–१ रयालेको शान्ति निकेतन माध्यमिक विद्यालयलाई ४ करोड ४२ लाखको सुविधा सम्पन्न विद्यालय भवन हस्तान्तरण गरिएको छ। भवन नहुँदा विद्यार्थीहरू जस्ताको टहरामा अध्ययन गर्दै आएका थिए।

‘पानी पर्दा र घाम लाग्दा कक्षा सञ्चालन गर्न सकिँदैन थियो, विद्यालय भवन निर्माण भएपछि विद्यार्थीहरूका लागि राहत भएको छ।’ –प्रधानाध्यापक रामचन्द्र केसीले भने। एसओएस बालग्राम अन्तर्राष्ट्रियको सहयोगमा एसओएस बालग्राम नेपालले बालबालिकाहरूको गुणस्तरीय शिक्षाका लागि विद्यालय भवन निर्माण गरिदिएको हो।

नयाँ भवन निर्माणसँगै एसओएस बालग्रामले रेट्रोफिटिङ गरी पुनः सञ्चालन ल्याउन मिल्ने भवनको पनि जीर्णाेद्धार गरिदिएको छ। पक्की भवनसँगै छात्र छात्राको अपाङ्गमैत्री शौचालय, विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, पुस्तकालय, खेलकुद र शैक्षिक सामग्री, सोलार, विद्यालय बस, फर्निचरलगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ।

पक्की भवनको पहिलो तलालाई पूरै हलका रूपमा व्यवस्थापन गरिएको छ भने दोस्रो र तेस्रो हलमा तीन÷तीनवटा फराकिला कोठाहरू निर्माण गरिएका छन्। विद्यालय हस्तान्तरण कार्यक्रममा एसओएस बालग्रामका एसओएस इन्टरनेसनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामचन्द्र सापकोटा र प्रिन्सिपल रामचन्द्र केसीलाई भवनको साँचो हस्तान्तरण गरेका हुन्।

३ सय २५ जना विद्यार्थी अध्ययनरत शान्ति निकेतन माविमा रहेको अर्को भवन पनि भूकम्पले क्षति पु¥याएको थियो। सो भवन पनि रेट्रोफिटिङ गरेर बस्न योग्य बनाइएको प्रिन्सिपल रामचन्द्र केसीले जनाएका छन्। एसओएस बालग्रामका सल्लाहकार शंकर प्रधानाङ्गका अनुसार ग्रामीण क्षेत्रका बालबालिकालाई पनि शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार नै विद्यालय भवन निर्माणमा सहयोग गरिएको हो।