महानगरपालिकाका प्रमुखअगाडि ताम्रकार समाजको असन्तुष्टि, प्रमुख महर्जनद्वारा काम गर्न नसकेको स्वीकार


नेपाल समाचारपत्र
ललितपुर
जनप्रतिनिधि आएको १ वर्ष हुन लाग्दा पनि ललितपुर महानगरपालिकाको कामकारबाही खासै प्रभावकारी नभएको र नयाँपन पाउन नसकेको १ कार्यक्रमका वक्ताले बताएका छन्।

ललितपुर महानगरपालिकाको सहयोगमा ताम्रकार समाजले आयोजना गरेको उद्घोषण तालिमको समापन समारोहमा सम्बद्ध वक्ताहरूले सो कुरा बताएका हुन्। स्थानीय निकायबाट स्थानीय तहमा रूपान्तरण हुँदा पनि कामकारबाही र सेवा प्रवाह खासै चुस्तदुरुस्त नभएको भन्दै जनप्रतिनिधिको कामकारबाहीका बारेमा खबरदारी गरेका थिए।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनसमक्ष ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले जनताले अहिलेसम्म स्थानीय तह अधिकार सम्पन्न र जनप्रतिनिधि भएको अनुभूति गर्न नसकेको बताउनुभयो। उहाँले महानगरपालिकाले स्थानीय समुदायलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय जनताको समस्या एकातिर, महानगरपालिकाको योजना मोनोरेल र फ्लाइओभरमा मात्र केन्द्रित भएकोमा गुनासो गर्नुभयो। सबैलाई समेटिएर नगरको विकास गर्दै सांस्कृतिक र पर्यटकीय नगरी बनाउनुपर्ने दिशामा महानगरपालिका अघि नबढेको पनि अध्यक्ष ताम्रकारले बताउनुभयो।
सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले नीति नियम, ऐन कानुनको अभावमा स्थानीय तहले चाहेर पनि काम गर्न नसकिरहेको बताउनुभयो। उहाँले जनताका चाहना, इच्छा आकांक्षा पूरा गर्न नपाएकोमा दुःख व्यक्त गर्दै अबउप्रान्त गुनासोको मौका नदिइने बताउनुभयो।

महानगरका २४ नं. वडाअध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, प्रशिक्षक राजभाइ जकमी, रोशननवीन ताम्रकार, गीता क्षेत्री, समाजका शिक्षा संयोजक प्रवल ताम्रकारलगायतले कार्यक्रममा आ–आफ्ना भनाइ राख्नुभयो। प्रभावकारी वतृत्वकला तथा उद्घोषण तालिम, एकाउन्टिङ सफ्टवेयर र ट्याली तालिममा गरी ३४ जवान प्रशिक्षार्थीको सहभागिता रहेको थियो। सो अवसरमा समाजका १३ जवान जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई २ लाख रुपियाँबराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।