भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार


नेपाल समाचारपत्र
ललितपुर
भारतको विहारमा अलपत्र परेका ७ जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल फर्काइएको छ।

केन्द्रीय बालकल्याण समिति, हरिहरभवनसँग समन्वय गरी छोराछोरी नेपालले ती बालबालिकालाई उद्धार गरेर ललितपुरमा ल्याएको हो। ती बालबालिकालाई भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बालगृह तथा बालिका गृहबाट नेपाल फर्काइएको हो।

उद्धार गरिएकामा ४ जना बालक र ३ जना बालिका रहेका छन्। तीमध्ये बालक सर्लाही जिल्लाको हरिवनका रहेका छन्। त्यस्तै रौतहट, जनकपुर र वीरगन्जका १÷१ जना बालिका रहेका छन्। चारै जना बालकलाई बिहारको छपरास्थित बालगृहबाट उद्धार गरिएको हो भने ३ जना बालिकालाई मुजफ्फरपुरको बालिकागृहबाट उद्धार गरिएको हो।

उद्धार गरिएका बालक ११ देखि १५ वर्षका रहेका छन् भने बालिका ११ वर्षकी १ जना र ९ वर्षका २ जना रहेका छन्।

दिल्लीमा काम गर्न भनी ती ४ जना बालक घरबाट भागेका थिए। ती बालकलाई छपरा रेल्वे स्टसनमा रेल्वे प्रहरीले नियन्त्रणमा लिई बालगृहमा बुझाइएको सूचनाका आधारमा सो स्थानबाट उद्धार गरिएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। अन्य ३ बालिकामध्ये २ जना घरायसी काममा लगाउन बेचिएको र १ जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेको बुझिएको छ।

बालबालिकालाई उद्धार गर्न छोरीछोरी नेपालका कार्यकारी निर्देशक शैलजा सीएमको नेतृत्वमा कार्यक्रम संयोजक अनिला डंगोल, तेजनारायण महर्जनको टोली गत शनिबार नै बिहार पुगेका थिए।

उद्धार गरिएका बालबालिकालाई अहिले छोराछोरी नेपालको गोदावरी तौखेलस्थित अस्थायी सेल्टरमा संरक्षण गरी राखिएको छ। संयोजक डंगोलका अनुसार संस्थाको नियमानुसार उद्धार गरिएका ७ जनालाई पुनःस्थापनाका लागि १ हप्ता सेल्टरमै राखिनेछ। सो अवधिमा उनीहरूलाई आवश्यक मनोसामाजिक काउन्सिलिङ गरेर अभिभावकको जिम्मा लगाइनेछ।

‘धेरै अवस्थामा पारिवारिक विग्रह र गरिवीका कारण यी बालबालिका पुनः भौतारिने सम्भावनालाई ध्यानमा राखेर सम्बन्धित अभिभावकलाई बुझाउनुअघि उनीहरूको परिवारिक अवस्थाको पनि मूल्यांकन गरिनेछ’ –उहाँले भन्नुभयो।
२ वर्षअघि भारतको दरभंगा र मुजफ्फरपुर बालगृहबाट केन्द्रीय बालकल्याण समितिको समन्वयमा ३३ जना बालबालिकालाई उद्धार गरिएको थियो। संस्थाले हालसम्म १ सय २२ जना बालबालिकाको उद्धार गरी पुनःस्थापना गरिसकेको छ।