पत्रकार लक्षित दुई विस्फोटमा उनान्तिस मारिए


काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा सोमबार दुईवटा शक्तिशाली बम विस्फोट हुँदा समाचार संकलन गरिरहेका थुप्रै पत्रकारसहित कम्तीमा २९ जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

एएफपीले काबुलमा कार्यरत आफ्नो प्रमुख फोटोग्राफर शाह माराइको मृत्यु भएको पुष्टि गरेको छ । पहिलो विस्फोट मोटरसाइकल चढेर आएका एक अज्ञात व्यक्तिले गराएका थिए । त्यसको करिब १५ मिनेटपछि घटनास्थलमा जम्मा भएको भिड र पत्रकारमाझ अर्को बम विस्फोट भएको थियो ।

कट्टरपन्थी लडाकू समूह इस्लामिक स्टेट (आईएस)ले घटनाको औपचारिक जिम्मेवारी लिएको छ । ट्विटरमार्फत एएफपी समाचार निकायले दोस्रो बम नियतवश पत्रकार समूहमाथि लक्षित भएको दाबी गरेको छ । अफगान प्रहरी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले पत्रकारकै भेषमा आएका व्यक्तिले दोस्रो बम विस्फोट गराएको जनाएको छ ।

त्यसैगरी रेडियो फ्रि युरोप (आरएफई)ले पनि यस बम आक्रमणमा आफ्ना दुईजना पत्रकार अब्दुल्लाह हनानजाइ र मोहर्रम डुर्रानी मारिएको पुष्टि गरेको छ । क्यामराम्यान तथा पत्रकार अब्दुल्लाह लागुऔषध तस्करीसम्बन्धी अनुसन्धानमा रहेको तथा डुर्रानी साप्ताहिक महिला कार्यक्रममा कार्यरत रहेको बताइएको छ । आरएफईका अर्का पत्रकार सावउन काकर सख्त घाइते भएका छन् । प्रहरीले यस घटनामा कुल ८ जना पत्रकारको ज्यान गएको जनाएको छ ।