३३ किलो सुन प्रकरणः करेन्ट लगाएर यातना दिइएका सुनका ‘भरिया’ समन मारिए

0
Shares

सरोज यादव, विराटनगर
मोरङको उर्लाबारी –७ का समन शाक्यलाई दुई दिनसम्म करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको खुल्न आएको छ ।

त्रिभुवन विमानस्थलबाट तस्करी गरि ल्याएको साढे ३३ किलो सुन गायब भई पत्ता नलागेपछि अवैध सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समूहले घना जंगलमा पु¥याएर समनलाई जंगलमा लगेर करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको हो ।

एउटा स्कारपियो र टाटा सुमो गरी दुई वटा गाडीमा उर्लाबारी – १ कान्छी चौकदेखि उत्तरपर्टी तीन किलोमिटरको घना जंगलमा पु¥याएर करेन्ट लगाउँदै यातना दिने क्रममा शाक्यको गत फागुन १८ गते मृत्यु भएको हो ।

सुन गायब भएपछि सनममाथि शंका गरेर गोरेले धरानको कन्ट्रिक्लवको छलफलपछि सुनसान स्थानमा लगेर यातना दिने क्रममा मृत्यु भएको पक्राउ परेका अभियुक्तले बयानमा बताएको प्रहरीले जनाएको छ । पिकनिक खाएको जस्तो देखाउन केही भाडाँ र तयारी खाना र पानीका कार्टुनहरु पनि सँगै लगेका थिए ।

गाडीमा करेन्ट लगाउन अलग्गै ब्याट्रि र तार अनि बाध्नका लागि प्लास्टिकका डोरीहरु पनि लगिएको थियो । सनमलाई यातना दिएको स्थानमा पुगि कान्छि चौक आइपुग्दा त्यहाँका प्रत्यक्षदर्शीहरुका अनुसार फागुन १७ र १८ गते दुई दिन एउटा स्कारपियो. र एउटा टाटा जीप कान्छी चौक पश्चिम जंगलतिर लागेको बताएका छन । भीआइपी गाडी खोलापारि गएको देखेपनि पिकनिक खान आएको होला होलीमा भनेर कसैले अनावश्यक शंका नगरेको बताउका छन । ‘कान्छी चौकबाटै केही युवाले पानीका कार्टुनहरु गाडीमा हालेर लगेका थिए,’ उर्लाबारी १ का किरण श्रेष्ठले,’ गाडीमा पानी र आवश्यक पर्ने सामाग्री हालेपछि जंगलतिर लागेका थिए ।

गोरे समूह कान्छी चौक पश्चिम सोल्टी खोलापारि रहेको प्रगति सामुदायिक बन क्षेत्रमा पुगेको थियो । त्यहाँ गाडी चढन अप्ठेरो भएपछि उनीहरुले माटो अलिकति खनेर बाटो बनाएका थिए ।
त्यसपछि गाडी चौरीमा उक्लिको थियो । त्यही चौरीमा उनीहरुले ढुंगाको सानो चुल्हो बनाएर सामान्य आगो बालेजस्तो गरेर एउटा भाँडा पनि बसालेको अहिले पनि देख्न सकिन्छ । पकाउने भन्दा पनि उनीहरुले ल्याएका तयारी खाना खाँदै र बोतलको पानी पिउँदै केरकार गर्ने काम गरेका थिए । चौरबाट अलि भित्र जंगलमा सालका तीनवटा रुखमा पालैपालो बाँधेर करेन्ट लगाउँदै यातना दिएका थिए ।

उनीहरुले त्यहाँ एउटा खाल्डो पनि खनेका थिए । मरेमा सायद त्यही खाल्डोमा गाडने उनीहरुको योजना बनेको हुन सक्छ । मुखमा टिस्युपेपर खाँदेर सनमलाई यातना दिइएको थियो ।

पहिलो दिन सामान्य केरकार गरिएको थियो । र फर्केर इटहरीतिरको होटलमा बास बसेका थिए । यातनाले आलसतालस भएका सनमलाई होलीमा रक्सी धेरै खाएर बेहोस भएको भनिएको थियो ।

१८ गते होलीको दिन बिहानै फेरि त्यही ठाउँमा पुगेर यातना दिने काम सुरु गरिएको थियो । दिनभर यातना दिँदा पनि कुनै कुरा नखुलेपछि पुन सनमलाई गाडीमा हालेर इटहरीतर्फ ल्याइएको थियो ।

तर गाडीमै सनमको १८ फागुनमा मृत्यू भैसकेको थियो । स्थानीय सामुदायिक बनका कर्मचारी नरेश बराइलीका अनुसार जंगलभित्र रुख काटने कर्मचारीहरुले बन क्षेत्रमा भीआइपी गाडी ठूलो साउन्डमा बाजा घन्काएर बसेको र पटकपटक वोको जस्तो आवाज कराएको नजिकबाट सुनेका थिए ।

अहिले पनि घटना स्थलमा रुखहरुमा करेन्टका चोट प्रष्ट देख्न सकिन्छ ।