“मातृभाषाको पत्रकारिता प्रवद्र्धन गर्न राज्यको भूमिकाको खाँचो” तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइयो

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
नेपाल भाषाको पत्रकारिता शुरुआत भएको ९३ वर्ष पुगेको सन्दर्भमा आइतबार तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइयो।

नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले ललितपुर शाखाको व्यवस्थापनमा विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो। नेपाल संवत् १०४५, विसं १९८२ मा बुद्धजयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो। उहाँको १ सय १३औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रूपमा ३ वर्ष अघिदेखि मनाउन थालिएको हो।
यही पत्रिका सम्भवतः गैरनेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको अध्ययनले प्रमाणित गरेकाले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो। सो अवसरमा ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरिएको थियो।

समारोहमा वक्ताहरूले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन् भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनीहरूले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसूचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरूले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको पत्रकारिता दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिताको प्रबद्र्धन गर्नुपर्ने खाँचो औल्याउँनुभयो।उहाँले धर्मादित्य धमाचार्यले बुद्धधर्म र नेपाल भाषाप्रति अनुरागले गर्नुभएको पत्रकारिता अहिले व्यावसायिक धारमा अघि बढिरहेको उल्लेख गर्दै त्यसमा राज्यको साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले मातृभाषाकै पहिलो पत्रकारका रूपमा रहेको धर्माचार्यलाई राज्यले मान्यता दिएर मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्ने माग गर्नुभयो।मुलुक संघीयतामा गइसकेको सन्र्दभमा विविध भाषाको पत्रकारिताको विकासका लागि प्रदेश र स्थानीय तहले विशेष पहल गर्नुपर्ने पनि अध्यक्ष गुरुङको जोड रहेको छ।
सो अवसरमा ललितपुर क्षेत्र नं २ का प्रदेश सासंद् ज्ञानेन्द्र शाक्यले ३ नम्बर प्रदेशको नाउँ ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालमण्डल राख्न सञ्चारकर्मीहरूले पनि आआफ्नो स्थानबाट उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हकको उच्चतम अभ्यासका लागि मातृभाषाको पत्रकारिताको विकास हुनुपर्नेमा धारणा राख्नुभयो।

समारोहमा ज्यापू समाजका प्रथम उपाध्यक्ष सन्तमान महर्जन, ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारलगायतले मातृभाषामा सूचना माग्ने र सुसूचित हुने हकको सम्मान गर्दै मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिँदै आ–आफ्नो धारणा राख्नुभयो। दबूको आयोजनामा यही जेठ ३ गते मातृभाषाको पत्रकारिताको विकासमा बृहत् अन्तरक्रिया कार्यक्रम हुने पनि सो अवसरमा जानकारी दिइयो।