चेपाङ गाउँमा पुस्तकालय बनाउन १ लाख सहयोग

0
Shares

रत्ननगर । चितवनको विकट क्षेत्र कोराकस्थित चेपाङ बालबालिका अध्ययन गर्ने थाकलटार माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न प्रवासबाट रु एक लाख सहयोग प्रदान गरिएको छ ।

चितवन समाज जापानद्वारा रकम संकलन गरी पुस्तकालयलाई रु एक लाख सहयोग गरिएको चितवन समाज जापानका निवर्तमान अध्यक्ष सरोज कँडेलले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रमा रहेका असहाय, विपन्न तथा बाढी र भूकम्प प्रभावितहरुलाई सहयोग गर्दै आएको समाजले चेपाङ वस्तीका बालबालिकाको शैक्षिक उन्नयनका लागि सहयोग गरेको हो ।

यसअघि यो समाजले पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितहरुका लागि १० घर निर्माण गरिसकेको छ ।

जापानमा बस्ने नेपालीहरुबाट संकलन गरी समाजले रु ४ लाख भन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी अघिल्लो महिनामा पीडित परिवारलाई हस्तान्तरण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक सुनबहादुर मोक्तानले प्राप्त सहयोगले चितवनकै विकट मानिएको ठाउँको विद्यालयमा अध्ययन गर्ने बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।