रश्मी थापा
चितवनको भरतपुरमा आईएस्सी पढ्दै गर्दा पहिलो पटक कम्प्युटर देखेपछि मिडियाप्रति आकर्षित भएका सुदीप बराल स्थापित छायाँकार बन्न पुगेका छन्। २०३७ सालमा चितवनको भरतपुरमा जन्मिएका बराल २०५३/५४ सालमा भिडियो सम्पादकका रूपमा मनोरञ्जनको दुनियाँमा प्रवेश गरेका थिए।
शुरूमा म्युजिक भिडियो सम्पादकका रूपमा काम गरे पनि विस्तारै छायांकनमा प्रवेश गरेका उनले हजारौं म्युजिक भिडियो, ४ सयभन्दा बढी व्यावसायिक विज्ञापनका साथै ठूलो पर्दाका ३ फिल्म छायांकन गरेका छन्। तर यी ३ फिल्म नै उनलाई स्थापित छायाँकार बनाउन काफी छन्। किनभने उनले छायांकन गरेको डेब्यु फिल्म चकलेटदेखि रमेश उप्रेतीको ऐश्वर्य र हाल रिलिजमा रहेको फिल्म लिली बिली छायांकनका हिसाबले सम्पन्न फिल्म बन्न पुगेका छन्। लिली बिलीबाट उनले गत शुक्रबार राजधानीमा सम्पन्न छैठौं एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट छायाँकारको अवार्ड चुम्न सफल भए।
त्यसो त छायांकनसँगै सम्पादन कलामा पनि उत्तिकै पोख्त सुदीपले छायांकन कार्य गर्दागर्दै ५÷६ सय म्युजिक भिडियो निर्देशनसमेत गरेका छन्।
‘कलेज पढाइका क्रममा नजिकको दाइको घरमा बस्थें। त्यो घरको दाइले कम्प्युटर चलाइराख्नुहुन्थ्यो। भर्खरै आएको नयाँ टेक्नोलोजी भएर पनि मलाई यसप्रति चाख लाग्थ्यो। दाइहरूसँगै एकपटक इन्डिया घुम्न गएको थिएँ। मलाई त्यो बेला किन इन्डिया गएको भन्नेसमेत थाहा थिएन। त्यहाँ पुगेपछि एकता कपुरको मोनार्क प्रोडक्सन हाउसले राखेको एडिटिङ एक्जिबिसनको लागि गएका रहेछौं भन्ने थाहा भयो र म एडिटिङ सिक्नका लागि आएको रहेछु भन्ने थाहा भयो’, सुदीपले सुनाए– ‘केही समय भारतमा सम्पादन सिकेपछि चितवनमै बसेर भिडियो सम्पादनको काम गर्न थालें।
एक पटक मामाको विवाहमा काठमाडौं आएको थिएँ। मामाले भान्जाले एडिटिङको काम राम्रो गर्नुहुन्छ। यहाँ एडिटिङको मार्केट पनि राम्रो छ। यतै बसेर काम गर्नुपर्छ भन्ने सल्लाह दिएपछि केही समय हेरांै न त भन्ने सोचें। मामा एक म्युजिक कम्पनीमा काम गर्नुहुन्थ्यो। उहाँमार्फत एउटा म्युजिक भिडियो एडिट गर्ने मौका पाएँ। जानेको सीप लगाएर देखाएँ। यो देखेपछि मामाले यस्तो एक्सपर्ट मान्छे कहाँ चितवन बस्नु यहीं बसेर काम गर्नपर्छ भन्नुभयो। त्यसपछि काठमाडांैमै बसेर एडिटिङको काम शुरू गरें।’
मनकामना डिजिटल म्युजिक प्रालिमा पार्ट टाइम भिडियो सम्पादकको रूपमा कामको शुरूआत गरेका उनी लोक र आधुनिक गीतका म्युजिक भिडियो एडिट गर्दागर्दै यसैमा रमाउन थाले। त्यही क्रममा उनको झुकाव क्यामेरातिर पनि बढेछ। ‘एडिटरको काम गर्दै जाँदा यो त एकदमै राम्रँे काम रहेछ। कलाकारहरू सबै भेटिने चिनजान गर्न पाइने रमाइलो फिल्ड पो रहेछजस्तो लागेर दिमाग नै एकाग्र भयो र एक डेढ वर्ष जति यहीं काम गरें। यसै क्रममा कहिले क्यामेरा चलाउने मान्छेको कहिले के काम गर्ने मान्छेको अभाव हुन्थ्यो। अफिसमा कुनै पनि काम आउँछ भनेर सोध्दा आउँछ भन्ने जवाफ दिन्थें। एकपटक क्यामेरा चलाउने मान्छे थिएन र म आफैं क्यामेराम्यान बनेर भिडियो खिच्न गएँ’, सुदीप सुनाउँदै थिए– ‘दिनभरि भिडियो खिचेपछि राति एडिटिङ गरेर अरूलाई देखाउँदा यति राम्रो खिच्न आउने रहेछ, अब भिडियो नै खिच्नुपर्छ भन्न थाले। यसै क्रममा हजारांै भिडियो खिचें।
भिडियो खिचेर राम्रो पैसा र नाम कमाउन सकिने रहेछ भन्ने लाग्यो र निरत्नर लागिरहें। कुनै पनि बेला खाली बस्नु परेन। काम गर्दै जाँदा विभिन्न म्युजिक कम्पनीसँग बन्डिङ हुँदै गएँ र म्युजिक भिडियोको संख्या पनि बढ्दै गयो। बिहान टेलिभिजनमा आउने गीतका प्रायः सबै गीत मैले नै खिचेका हुन्थे र आफूले गरेको काम देख्दा खुसी लाग्थ्यो। यो लेभलसम्म पुगेपछि अब प्रकृतिको हिसाबले ठूला काम पनि गर्नुपर्छ भन्ने लागेर विस्तारै कमर्सियल एडको दुनियाँमा प्रवेश गरें।’ सुदीपले फेरि सुनाए– ‘त्यति बेला सिनियर दाइहरूले कामको प्रशंसा गरिदिनुहुन्थ्यो। साथीहरूले पनि राम्रो काम गरेका छौ भन्थे। त्यही क्रममा ५/६ सय म्युजिक भिडियो डाइरेक्सन पनि गरें। अहिले पनि कतिपय क्लाइन्टले मेरो म्युजिक भिडियोको निर्देशनचाहिँ तपाईं गरिदिनुस् न भनेर आउनुहुन्छ। मलाई डाइरेक्सन गर्दा रमाइलो लाग्छ अहिले पनि डाइरेक्सन गर्न मन लाग्छ।’
म्युजिक भिडियोमा लामो समय छायाँकारका रूपमा काम गरेका उनले निर्मल शर्मा निर्देशित फिल्म चकलेटबाट नेपाली फिल्मको छायांकन शुरूआत गरे। ‘मलाई जति पनि मानिसले चिन्थे, म्युजिक भिडियोबाट नै चिन्थे। मेरो काम दिनभरि म्युजिक भिडियो खिच्ने र रातभरि एडिट गरेर दिने हुन्थ्यो। त्योभन्दा माथि अरू के काम हुन्थ्यो मलाई थाहा थिएन। यसैबीच निर्मल शर्मा दाइले अब फिल्म पनि खिच्नुपर्छ भन्नुभयो। त्योभन्दा अघि तीतो सत्य, जिरे खुर्सानीजस्ता सिरियलहरूमा काम गरिसकेको थिएँ। तर फिल्ममा पहिलोपटक भएकाले एक्साइटेड थिएँ र निर्मल शर्माको चकलेट खिचें।
त्यसपछि केशव भट्टराई दाइको ब्रासलेट भन्ने फिल्ममा काम गर्ने अवसर पाएँ। त्यस्तै विशेष कामले युके जाँदा निर्देशक मिलन चाम्स सरसँग कुराकानी भयो र लिली बिली गर्ने मौका मिल्यो’, सुदीप भन्छन्– ‘निर्देशकको भिजन सिनेमामा उतार्नको लागि निर्देशकसँगै सिनेमाटोग्राफरको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। शुरूमा सिनेमा देख्ने मान्छे भनेको सिनेमाटोग्राफर नै हो। फिल्मको कथावस्तु र डाइरेक्टरको भिजन के छ भन्ने कुरा बुझेर काम गर्नुपर्ने भएकाले सिनेम्याटोग्राफरले फिल्म राम्रो बनाउन निकै मेहनत गर्नुपर्छ। सिनेमामा यो कुरा निकै महत्वपूर्ण छ। यो कुरा मैले सिनेमासँग नजिकिँदै जाँदा अनुभव गरेर बुझ्न पाएँ।’
सुदीपको सल्लाह छ– ‘पछिल्लो समयमा क्यामेरा समातेको भरमा सिनेम्याटोग्राफर हुने चलन चलेको छ भने कतिपय भाइबहिनीचाहिँ राम्रो सिकेर र पढेर नै पोख्त भएर आउनुभएको छ। उहाँहरूले आफूले लिएको शिक्षा सही ठाउँमा प्रयोग गर्नुपर्छ। रहर र सोखले मात्रभन्दा इन्डस्ट्रिलाई केही दिन्छु भन्ने हिसाबले आउँदा राम्रो हुन्छ।’ प्राविधिक क्षेत्र आर्थिकरूपमा बलियो रहेको सुदीपको अनुभव छ। ‘आर्थिकरूपमा मल्टिमिडियाको एडिटिङ, सिनेमाटाग्राफरलगायतका क्षेत्रमा फ्युचर एकदम राम्रो छ। मैले काम शुरू गर्दा टेक्नििसियनले दिनको हजार पन्ध्र सय लिन्थे भने अहिले सामान्य टेक्नििसियनले दिनमा २ हजार २५ यस कमाउँछन्। यस हिसाबमा अहिले प्राविधिकहरूले राम्रँे बचत गर्न सक्छन्’– उनले भने।
प्रतिक्रिया