दलित महिला बलात्कारका घटना कम सार्वजनिक


नेपाल समाचारपत्र
काठमाडौं
बलात्कारका घटना बढ्दै गए पनि दलित महिला बलात्कृत हुँदा घटना सार्वजनिक हुन नसकेको एक अध्ययनले देखाएको छ। जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनमा स्थानीय निकायमा निर्वाचित दलित महिलासमेत बलात्कृत हुँदा सो घटना सार्वजनिक हुन नसकेको देखिएको छ। तर, सबैभन्दा बढी दलित महिला नै बलात्कृत हुने गरेको तथ्यांकले देखाएको छ।

जनजाति समुदायका महिला पनि बलात्कारका घटनामा उति नै पीडित हुने गरेका छन्। २०७३ मा ७ सय ९२ वटा बलात्कारका घटना भएकामा ३४ प्रतिशत जनजाति, १९ प्रतिशत दलित, १८ प्रतिशत क्षत्री, ९ प्रतिशत ब्राह्मण, ६ प्रतिशत मधेसी, ४ प्रतिशत मुस्लिम, १ प्रतिशत अन्य र ९ प्रतिशत महिलाको पहिचान हुन नसकेको पाइएको छ।

सेन्टरका अनुसार स्थानीय निकायमा निर्वाचित २ जना दलित महिला बलात्कृत भएका छन्। एक वर्षको अवधिमा ३ जना दलित महिला सदस्य हत्या भएको उल्लेख गरिएको छ। बुधबार काठमाडौंमा आयोजना गरेको ‘बालबालिका, बलात्कार र दलित महिला’ विषयक संवादमा सहभागीहरूले पछिल्ला दिनमा दलितप्रति छुवाछुतका घटना पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधिसभाकी सांसद् निरादेवी जैरुले स्थानीय निकायका उपप्रमुखहरूले न्यायालय हेर्ने भएकाले उनीहरूले निक्कै सुझबुझका साथ काम गर्नुपर्ने बताइन्। उनले अब बन्ने संघीय काननुले बालबालिका बलात्कारमा संलग्न हुनेमाथि कडा सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिलामाथि हुने हिंसाको जानकारी लिन र तत्काल उद्धार गर्न सजिलो होस् भनेर आयोगले महिला हेल्प लाइनको शुरुआत गर्न लागिएको जानकारी दिनुभयो।

सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीलगायतले दलित समुदायका महिला थप हिंसामा पर्ने गरे पनि न्याय पाउन नसकेकोमा गुनासो गरेका थिए।