‘प्रहरीभित्रका अपराधिक किरा सफाया गर्नुपर्छ’


कृष्ण आचार्य, चितवन
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीभित्रका अपराधिक तŒवहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रहरी मातहतका प्रमुखहरूलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारसँग कुराकानी गर्दै प्रहरीभित्रका केही नालायक सदस्यले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए।

‘प्रहरी संगठनभित्र केही त्यस्ता किरा छन्’, महानिरीक्षक खनालले भने– ‘त्यस्ता किराहरूलाई फाल्नुपर्छ।’ उनले प्रहरी संगठन सुधारका लागि नै कारबाही र पुरस्कारको प्रावधान राखिएको स्पष्ट पारे। खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। ‘अपराध नियन्त्रण र अनुसन्धानका लागी छुट्टै रणनीति तयार भएको छ, त्यो प्रभावकारीरूपमा कार्यान्वयन हुन्छ।’ –उनले भने। देशभरका सबै प्रहरी युनिटलाई कुनै कसर बाँकी नराखी जनताको काम गर्न निर्देशन दिएको खनालले बताए। ‘अब नागरिकमैत्री प्रहरी हुन्छ, अपराध नियन्त्रण पहिलो प्राथमिकता छ’, खनालले भने– ‘समाजमा राम्रो सन्देश जाने किसिमले काम भइरहेको छ र नितरन्तर हुनेछ।’

प्रहरी संगठनलाई प्राप्त स्रोत साधन र जनशक्तिको अभाव भएको भन्दै उनले स्रोत साधनलाई अधिकतम प्रयोग गरेर काम गरिने बताए। प्रविधिले अझै जनशक्तिको ठाउँ लिन नसकेले प्रदेश संरचनाअनुसार जनशक्ति बढाउँदै जाने खनालले प्रतिबद्धता जनाए। ‘जुन अपेक्षा राखेर सरकारले मलाई यो जिम्मेवारी दिइएको छ, त्यसलाई पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन।’ –उनको भनाइ थियो।