३३ केजी सुन काण्ड, पूर्वडीआईजी निरौलासँग बयान लिन शुरू


नेपाल समाचारपत्र
विराटनगर
बहुचर्चित साढे ३३ केजी सुन प्रकरणमा मुछिएका थप तीन प्रहरी अधिकारीलाई मोरङ ल्याएर मुद्दा चलाउने प्रक्रिया शुरु भएको छ। उनीहरूलाई बिहीबार जिल्ला अदालत मोरङमा पेस गरिएको थियो ।

पक्राउ गरेका प्रहरी अधिकारीहरू प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले स्रोतले जनाएको छ। साढे ३३ केजी सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरूलाई छानविन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो।

यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलालाई पनि बयानपछि नियन्त्रणमा लिएको थियो। उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने भएको छ।

डीआईजी निरौलासँग बयान लिने कार्य शुरु भएको छ। काठमाडौंबाट सोमबार विराटनगर झिकाइएका पूर्वडीआईजी निरौलालाई प्रहरीको टोलीले शुरुआतमा अनुसन्धान तथा सोधपुछ गरेलगत्तै विराटनगरस्थित सरकारी वकिलको कार्यालयले बयान लिन शुरु गरेको हो।

सरकारी कार्यालयका न्यायाधिवक्ता पुण्य पाठकका अनुसार, पूर्वडीआईजी निरौलासँग प्रहरी सेवासँग जोडिएका बाहेक सुन र सनम शाक्य हत्या प्रकरणमा बयान लिइएको थियो।

गत माघ ७ गते यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो।

र, उक्त सुन खोज्ने क्रममा भरिया शाक्यलाई यातना दिएर हत्या गरिएको थियो। घटनालाई लुकाउन प्रहरीले समेत संकास्पद भूमिका खेलेको आरोप लागेको छ। सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो भएको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समिति गठन गरेको थियो। घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन्। २१ जना फरार छन्।