३ करोड ९८ लाख हिनामिना गरेर लेखाअधिकृत फरार

0
Shares

अभिमन्यु लामीछाने,कटारी ।

३ करोड ९८ लाख हिनामिना गरेर उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रबीनचन्द्र ढकाल सम्पर्कविहिन भएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नगरपालिकाको नाममा पठाईएको रकममा नगरपालिकासँगै आफ्नो नामको खातामा रकम संकलन गरी ढकाल सम्पर्क विहिन भएका हुन ।

१ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले थापाथलीबाट पटक–पटक गरी २७ लाख बाहेक सबै रकम निकालिसकेको खुलासा भएको छ । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति वाँस्तोलाले सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम कोलोनिकाबाट प्राप्त चेकलाई आफ्नो नामसहितको खातामा राखेर थापाथलीबाट निकालेको पाईएको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले वैशाख ३ गते कार्यालय छाडेर हिंडेका ढकालले रकम हिनामिना गरेको खुलासा भएपछि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताउनुभयो । घटनाको अनुसन्धान भईरहेको बताउँदै राउतले किर्ते हस्ताक्षर समेत गरेको हुन सक्ने आशंका रहेको बताउनुभयो ।

ढकालको खातामा रहेको उक्त रकम गएको चैत्र २ गते गोविन्द नामको व्यक्तिमार्फत १ करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाईएको वैंकका कटारी शाखाका प्रमुख वाँस्तोलाले बताउनुभयो । उक्त रकम पुन कसको खातामा गएको हो अनुसन्धान भईरहेको पनि वाँस्तोलाले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्तावापतको रकम किन नगरपालिकाबाट ढिला आएकाले पहिला नै ढकालले रकम आफ्नो नाममा हालिसकेका भए फेरी भत्ता वापतको रकम फेरी कुन शिर्षकबाट आयो भन्ने कुरा अनुसन्धानको विषय भएको पनि वाँस्तोलाले बताउनुभयो ।