‘सरकारको नो ब्याक गिएर’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले शुशासन, सम्बृद्धी र विकासका लागि सरकारले गरेका निर्णयबाट पछाडी नर्फकने स्पष्ट पारेका छन् । ‘सरकार बोल्दै बोल्दैन, निर्णय गरेपछि सरकारको नो ब्याक गिएर’–मन्त्री बास्कोटाले भने ।

भुकम्प गएको दिनको अवसर पारी नमोबुद्ध नगरपालिका २ दलसिङ्गेमा निर्माण भएको जनता आधारभुत विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै राज्यमन्त्री बास्कोटाले कात्रोमा खल्ति नहुने भएकाले नाम राखेर समाज सेवामा लाग्न सबैलाई आग्रह गरे । ‘राजनीतिक दल, सरकार, कर्मचारी, नागरिक सबैले देश र राष्ट्रको लागि योगदान गर्ने उपयुक्त समय भएको छ, मर्नु पर्छ भन्ने सबैले सम्झेर काम गरौं’–मन्त्री बास्कोटाले भने–‘पैसा धेरै कमाउने पनि बाँचेका छैनन ।’ सरकारले सबै खालका सिण्डिकेटको अन्त्य गर्ने बताउँदै शिक्षामा देखिएको सिण्डिकेट पनि अन्त्यका लागि विद्यालय क्षेत्र बाहिर रहेका सबै बालबालिकाहरुको अभिभावक बन्ने अभियान शुरु गरिएको बताए । यो अभियानमा छुटेका बालबालिकाहरुको लागि सरकारले जिम्मा लिने मन्त्री बास्कोटाले बताए ।

‘सरकारले काम गर्न खोज्दा तानाशाहि हुने ?’–मन्त्री बास्कोटाले भने–‘यो कस्तो लोकतन्त्र हो ? लोकतन्त्र भनेको छाडातन्त्र होईन । सरकार मितब्ययी बन्दै बैदेशिक भ्रमणमा समेत कटौती गरिरहेको छ ।’ एडिवीको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन जनअपाङ्गमैत्री, बालमैत्री, छात्रछात्रा शौचालय, सोलार, फर्निचर र ३ सय भन्दा धेरै विरुवा भएको वातावरण सहितको भवन हस्तान्तरण भएको छ । जिल्लामा एडिविको सहयोगमा २८ वटा विद्यालय निर्माणका लागि सम्झौता भएका छन् ।

१४ वटा प्रावि, १२ वटा मावि र २ वटा नमुना विद्यालय सम्झौता गरी काम शुरु गरेको एडिविले ज्याम्दीमा रहेको जय सरस्वती प्रावि, नमोबुद्धकै जनता, सेतिदेवी र रक्तकालीको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । यस अघि कालिदेवी आधारभुत विद्यालय हस्तान्तरण गरिसकेको छ । एडिवीले कुल १ अरब २९ करोड रकम विद्यालय निर्माणमा खर्च गर्नेछ । जनता आधारभुत विद्यालयका लागि २ करोड ३८ लाख रुपैया खर्च भएको छ ।

कार्यक्रममा सांसद गंगाबहादुर दोङ्ग, नगर प्रमुख टिपी शर्मा तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, केन्द्रिय आयोजना प्रमुख बुद्धिसागर थापा, उद्धव नेपाल, जिल्ला प्रमुख शरद भण्डारी, वडा अध्यक्ष संजिव ढकाल, प्रधानाध्यापक तुलसा घिमीरे लगायतले विद्यालयको अवस्थाका बारेमा बताएका थिए । सहभागिहरुले भवन राम्रो हुँदैमा गुणस्तर नहुने भन्दै सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सुझाव दिएका थिए । भुकम्प दिवसको अवसर पारेर रामेछापमा ५ वटा विद्यालय हस्तान्तरण गरिएको थियो भने गोर्खामा ३ वटा विद्यालय हस्तान्तरण गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा ५ हजार २ सय २० वटा कक्षा कोठा मध्ये ९ सय ५४ पूर्ण क्षति भएको थियो । अधिक क्षति ९ सय ७४ वटा, सामान्य क्षति १४ सय ८३ वटा भएकोमा हालसम्म १ हजार १४ वटा निर्माणाधिन अवस्थामा रहेको छ ।

१ सय ३७ वटा कक्षाकोठा निर्माण सम्पन्न भईसकेको आयोजना कार्यालयले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालयबाट ७ लाख २५ हजारका दरले ३ सय ६५ वटा कोठाबाट ७ सय ३० वटा कोठा निर्माण भईरहेको मध्ये २ सय वटा कक्षा कोठा निर्माण सम्पन्न भएका छन् । विद्यालय ब्यवस्थापनबाट आव २०७३÷२०७४ मा ३२ वटा कक्षा कोठा निर्माण सम्पन्न भएका छन् ।