नरेन्द्र केसी, घोराही ।
सन २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिबिधि भए पनि आलोको जोखिम कायमै रहेको छ । यद्यपि सन् २०१२ यता नेपालमा औलो रोगका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।
नेपालको तराइका जिल्लाहरुमा औलो रोगको जोखिम कायमै देखिएको छ । यसको मुख्य कारण भारतबाट फर्कने नेपाली तथा विभिन्न काममा नेपाल आउने भारतीयहरु रहेका छन् । दाङमा चालु आर्थिक बर्षको नौ महिनामा १५ जना विरामी भेटिएकोमा १२ जना भारतबाट फर्केकाहरु रहेका छन् । त्यस्तै दुई जना सल्यानबाट आएका विरामी र एक जना दाङका विरामीमा औलो देखिएको छ ।
त्यस्तै गत आर्थिक बर्षमा दाङमा ३४ जना औलो रोगका विरामी भेटिएकोमा ५ जना जिल्लाभित्रकै छन् भने २९ जना भारतबाट फर्केकाहरु रहेका छन् । सन् २०१५ को तथ्यांकअनुसार नेपालभरि १ हजार ३ सय ८६ जनामा औलो रोग देखिएकोमा झण्डै सात हजार विरामी भारतबाट फर्केहरुमा भेटिएको छ । यसरी भारतबाट आउनेहरुका कारण औलो रोग निवारणमा चुनौति देखिएको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।
भारतमा औलो निवारणको प्रभावकारी कार्यक्रम नचलेका कारण पनि त्यहाँबाट आएकाहरुमा बढी समस्या देखिएको छ । ‘सिमेन्ट उद्योगमा काम गर्ने वनारसका मजदूरकी श्रीमती विरामी भइन्, भारतमा उपचार गर्दा पनि रोग पत्ता लागेन तर यहाँ परीक्षण गर्दा उनलाई औलो लागेको रहेछ’ जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दले भन्नुभयो । यस्ता धेरै विरामीको लामो समयसम्म रोग पत्ता नलागे पनि औलो हुने गरेको उहाँले बताउनुभयो । नेपालका स्वास्थ्य निकायहरुमा राखिएको आरडीटीबाट दश मिनेटमै यो रोग पत्ता लगाउने गरिएको छ ।
दाङमा पनि पछिल्लो समयमा औलो रोगका विरामी बढी देखिन थालेका छन् विगत पाँच बर्षको तथ्यांक हेर्दा क्रमशः ९, ९, १३, ३४ र १५ जना औलो रोगका विरामी देखिएका छन् । पहिले खासै वास्ता नहुने र पछिल्ला बर्षमा औलो रोग निवारणका लागि बढी सजगता अपनाउन थालिएकाले संख्या बढेको देखिएको मलेरिया जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले जानकारी दिनुभयो ।
दाङमा घोराही उपमहानगरपालिका १५ औलो रोगको सबैभन्दा बढी जोखिममा देखिएको छ । अन्य तराइका स्थानमा मध्यमस्तरमा र पहाडी गाउँमा जोखिम न्यूनस्तरमा रहेको अधिकारीहरुले बताएका छन् ।
कुनै बेला दाङलगायतका तराइका जिल्लामा औलोका कारण बस्नै नसक्ने अवस्था थियो । नेपालमा सन् १९५० मा गण्डकी हाइड्रोपावरमा मलेरिया नियन्त्रण कार्यक्रम शुरु गरिएको थियो भने संगठितरुपमा सन् १९७८ देखि मलेरिया नियन्त्रण कार्यक्रम सञ्चालनमा रहेको छ ।
बीस बर्ष लामो कार्यक्रमको अनुभवपछि नियन्त्रण गर्न असंभव रहेको भन्दै मलेरिया निवारण कार्यक्रम सञ्चालन गरिएको थियो ।
दाङमा अहिले यो रोग निवारणका लागि झुल वितरणदेखि अन्य जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ । औलोका विरामी फेला परे निशुल्क उपचार गर्ने पनि गरिएको छ । पछिल्लो समयमा यो रोग पहाडी जिल्लामा पनि देखिने गरेको छ ।











प्रतिक्रिया