ढुकुटीभित्र अस्थायी संग्रहालय


काठमाडौं, (नेस)
पुरातत्त्व विभागले हनुमाढोका दरबारमा रहेको मल्लकालीन ढुकुटीभित्र अस्थायी संग्रहालय सञ्चालन गर्ने भएको छ।

संग्रहालयमा २०७२ वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पबाट ध्वस्त भएका सम्पदा र काष्ठमण्डपलगायतका सम्पदा उत्खननमा भेटिएका पुरातात्त्विक सामग्रीको तस्वीर राखिने भएको छ। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले आन्तरिक र बा ह्य पर्यटकका लागि भूकम्पबाट भएको क्षति र उत्खनन भएका सामग्रीबारे जानकारी गराउन उक्त संग्रहालय खुला गर्न लागेको जानकारी दिनुभयो।

हनुमानढोका विकास समितिले करिब दुई वर्ष लगाएर जीर्णोद्धार गरेको ढुकुटीमा मल्लकालीन राजाहरूले गरगहना राख्ने गरेका थिए।

सोही ढुकुटीको केही भागमा अस्थायी संग्रहालय निर्माण गरिएको समितिका कर्मचारी मिठाराम पुडासैनीले बताउनुभयो।

उहाँका अनुसार ठुलो हलका रूपमा रहेको सो संग्रहालयलाई ७ भागमा बाँडिएको छ। अस्थायी संग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले देश र विदेश भ्रमण गर्दा प्राप्त गरेका उहारसमेत अवलोकनका लागि राखिने भएको छ। संग्रहालयमा हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पूर्ण सम्पदाको तस्वीर पनि राखिएको महानिर्देशक दाहालले बताउनुभयो।

ऐतिहासिक ढुकुटीभित्र रहेको सो संग्रहालयको आज बुधबार उद्घाटन हुने भएको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिले करिब एक वर्ष लामो मेहेनत गरेर तयार गरेको सो संग्रहालयको पर्यटन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। ढुकुटीसंगै भूकम्पले ध्वस्त भएको प्रताप मल्लको सालिकसमेत अनावरण गरिने संग्रहालयका कर्मचारी पुडासैनीले बताउनुभयो।