अधिकृत क्याडेटमा छनोट विद्यार्थी डिक्यानद्वारा सम्मानित


नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाको अधिकृत क्याडेटमा छनोट हुन सफल भएकोमा डिफेन्स क्यारियर एकेडेमी नेपाल (डिक्यान)ले आफूले प्रशिक्षण दिएका विद्यार्थीलाई लक्षित गरी बधाइ तथा शुभकामना कार्यक्रम गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच छनोट हुन सफल अधिकृत क्याडेटहरूलाई प्रमुख अतिथि पूर्वप्रधानसेनापति महारथी रुक्मांगत कटवाल, डिक्यानका अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक डा. राजेन्द्र केसीले दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो।

सो अवसरमा पूर्वरक्षासचिव आत्माराम पाण्डे, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, पूर्वसहायक रथी हेमकर शमशेर जवरा, पूर्वसहायक रथी छविलाल खड्कालगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।
नेपाली सेनाका लागि १ सय ५० जनाको आवेदन खोलिएकामा १ सय ४४ जना छनोट भइसकेका छन्। यसमध्ये डिक्यानबाट प्रशिक्षण लिएका ९७ जना प्रशिक्षार्थी नेपाली सेनामा छनोट भएका छन्।

डिक्यान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान सेवा चारैवटा सुरक्षामा प्रवेश गर्न चाहने उम्मेदवारहरूलाई शारीरिक तथा लिखित परीक्षाको तयारी गर्ने नेपालकै एक मात्र संस्था हो। ‘विगत २ वर्षदेखि निरन्तररूपमा सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले ती चारवटै सेवा क्षेत्रमा भर्ना हुने विज्ञापन खुलेको अवधिदेखि पासआउट नभएसम्म निरन्तररूपमा विद्यार्थीलाई प्रशिक्षण दिने कार्य गरिरहेको छ’ –डिक्यानका कार्यकारी निर्देशक डा. राजेन्द्र केसीले बताउनुभयो।

कार्यकारी निर्देशक डा. केसीका अनुसार नेपाली सेनाका सैन्यदेखि अधिकृत तहका प्राविधिक र अप्राविधिक प्रशिक्षण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सिपाहीदेखि असई, इन्सपेन्टर (प्राविधिक र अप्राविधिक), र राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायकदेखि अनुसन्धान अधिकृतसम्मका प्रशिक्षणहरू डिक्यानबाट लिन सकिनेछ। आगामी दिनमा डिक्यानले प्रिस्याट र स्यानको प्रोगाम, नेपाल प्रहरी र शसशस्त्र प्रहरीको स्टाफ कलेज कोर्स(डिएसपीहरूले गर्ने कोर्स)को समेत तयारी गर्न लागिरहेको छ। अहिलेसम्म १ हजार जनाभन्दा बढीले सुरक्षा निकायको प्रशिक्षण लिइसकेका छन्।