कलात्मक शैलीमा बुद्ध विहार पुनर्निर्माण गरिने


नेपाली समाचारपत्र
काठमाडौं
भूकम्पबाट क्षतिग्रस्त भृकुटीमण्डपस्थित बुद्ध विहारको पुनर्निर्माण हुने भएको छ।
बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने थलोका रूपमा रहेको सो विहार २०३४ सालमा स्वर्गीय भिक्षु सुमंगल महास्थविरको अग्रसरतामा निर्माण भएको थियो। हालसम्म हलको रूपमा प्रयोग गर्दै आएको भवन पुनर्निर्माण गर्न लागिएको बुद्ध विहार पुनर्निर्माण समितिले जनाएको छ।

वैशाख १२ गतेको भूकम्पबाट आंशिक क्षति भएको, हाल सो भवन ओगटिएको क्षेत्र साँघुरो रहेको स्थितिलाई समेत मध्यनजर गर्दै पुनर्निर्माण गर्न लागिएको विहार पुनर्निर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले जानकारी दिनुभयो।
पुनर्निर्माणका लागि स्वीकृत नक्साअनुसार ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवन नेपाली मौलिकसहित र कलात्मक हुनेछ। विहारको भवन पुनर्निर्माण गर्न करिब ४ करोड लाग्ने अनुमान गरिएको छ। विभिन्न श्रद्धालु दाता, बुद्धधर्मका अनुयायी र सरकारी सहयोग गरी सो लागत रकम जुटाउने समितिको योजना रहेको छ।

नयाँ भवन बनेपछि करिब ३ सय जना सामूहिक रूपमा बसेर ध्यान, प्रार्थना गर्न मिल्ने, विभिन्न जिल्ला र देशबाहिरबाट आउने आगन्तुक भिक्षुहरूलाई बस्न सहज हुने, भिक्षुहरूलाई तालिम, अभिमुखीकरण गर्न सकिने समितिका उपाध्यक्ष एवं समाजसेवी मोतिलाल शिल्पकारले जानकारी दिनुभयो।

यसैबीच सोमबार आयोजित एक समारोहकाबीच भवनको शिलान्यास गरियो।
नेपालका संघ उपनायक (दोस्रो ज्येष्ठ) भिक्षु ज्ञाणपूर्णिक महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, काठमाडौं क्षेत्र ८ का प्रदेशसांसद् राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठखड्गी, दाता द्रव्यमानसिंह तुलाधार(भाइराजा साहु) ले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।

सो अवसरमा काठमाडौं महानगरपालिकाबाट प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठखड्गीले बुद्धजन्मभूमि नेपालमा बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने विहारको महत्व उल्लेख गर्दै भवन निर्माणमा महानगरपालिकाले यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

समितिका अध्यक्ष भिक्षु कौण्डन्यको सभापतित्वमा भएको सो समारोहमा प्रदेश सांसद् शाक्य, पूर्वराज्यमन्त्री कञ्चन वादे, समितिका उपाध्यक्ष मोतिलाल शिल्पकार, समितिका सचिव सञ्जिव शिल्पकार लगायतले महानगरपालिकाले विहार निर्माणमा यथासक्य सहयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै आ–आफ्नो धारणा राख्नुभयो। समारोहमा सहभागीहरूले विहार निर्माणका लागि आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्नुभएको थियो।