दुई ध्रुवको मारमा मिडिया

0
Shares

कपिल काफ्ले

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा गएर नेपाल–भारत सम्बन्धको इतिहासमै पहिलोपटक ‘बोल्ड’ र ‘क्लियर’ धारणा राखेको भन्दै एकातिरबाट प्रसन्नता व्यक्त गरिएका बेला प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ‘ओली नरेन्द्र मोदीका अगाडि लम्पसार परेर फर्के’ भनिदिए। शक्तिशाली भारतका अगाडि ओली यति कडारूपमा प्रस्तुत हुँदा उसले ईख राखेर पछि असजिलो पो पार्ने हो कि भनी कतिले डर मानिरहेका बेला देउवाको टिप्पणीले ‘उसले आग्रह राख्नुपर्ने कारण रहेनछ’ भनेर ढाडस पाएका पनि हुनसक्छन्। तर, यस्ता विपरीत ध्रुवका अवधारणा बाहिर आएपछि मिडिया भने मारमा पर्छन्। ‘वस्तुवादी बनेर समाचार दिने’ सिद्धान्त कार्यान्वयन गर्न चुनौती खडा हुन्छ। दुवैले बोलेको सत्य हो, योभन्दा बढी सत्य खोज्न ओली–मोदीबीच भएको वार्तामा सञ्चारकर्मी साक्षी हुनुपथ्र्यो, त्यो अवस्था थिएन।
भनिन्छ, स्वयं अपराध नगरे पनि अपराध गर्नेलाई साथ दिनु पनि दोषमुक्त हुनसक्तैन। दुईमध्ये एक धार अवश्य असत्य छ, त्यसलाई प्रचार–प्रसार गर्न नेताहरूले मिडियालाई बाध्य पारेका छन्। किनभने मिडियाको सिद्धान्तले भन्छ– जनताले ठूलो परिमाणमा मतदान गरेर प्रतिनिधिसभाका लागि विजयी बनाएका ओली र देउवाजस्ता व्यक्तिको भनाइ नबिगारी समाचारमा समावेश गर्नुपर्छ। ग¥यो, जनतामा भ्रम सिर्जना गर्ने अपराध गर्न पुगिन्छ। मिडिया परेन त मारमा !

यस दोष र मारबाट मुक्ति पाउन मिडियाकर्मीहरू एउटा मन्त्र भन्ने गर्छन्, ‘समाचारमा वक्ताका भनाइ जस्ताको त्यस्तै राख्ने, अनि सम्पादकीय, आलेख, समाचार टिप्पणी आदिमा चाहिँ फलानो नेता ठीक फलानो गलत भन्ने प्रमाण दिने’। पत्रकारिताको कानुनले यसरी मुक्ति त दिन्छ तर समाचारले पहिला गलत सूचना सम्प्रेषण गरेर अपराधमा सहभागी बन्नुपरेकोमा पत्रकारलाई हीनताबोध भने अवश्य गराउँछ। यस प्रकारको हीनताबोध गराउने अरु कोही नभएर पाखण्डी वक्ता नै हुन्। तर, जानी–जानी रोग लाग्न दिएर उपचार गर्नुभन्दा रोगै नलागोस् भन्ने बाटोमा लाग्ने हो भने ‘गरिष्ठ भोजनसँगै पाचक’ खानु आवश्यक हुन्छ। साइडइफेक्ट हुन पाउँदैन। दलीय स्वार्थभन्दा माथि उठेका र तटस्थ व्यक्तित्व आर्जन गरेका विज्ञलाई सोही समाचारमा ‘फ्रेमिङ’ गर्नु उचित विकल्प हुनसक्छ।

‘फ्रेमिङ’ के हो त ? सञ्चारमाध्यमले सम्प्रेष्य सामग्रीमा गर्ने प्राथमिकीकरणका साथ फ्रेमिङ वा समाचार संरचनाका बारेमा बुझ्नु आवश्यक हुन्छ। कुन तरिकाले समाचार वा आलेख प्रस्तुत गर्दा बढी पठनीय वा बिक्रीयोग्य र त्योभन्दा पनि पाठक–श्रोताप्रतिको जिम्मेवारी सर्वाधिक पूरा हुन्छ भन्ने प्रश्नको जबाफ खोज्दै जाँदा ‘मिडिया फ्रेमिङ’को अर्थ खुलासा हुन्छ। मिडियाका क्षेत्रमा फ्रेमिङ अनिवार्य हुन आउँछ। कुन पक्ष वा व्यक्तिलाई कुन रूपमा उचाल्ने हो वा पछार्ने हो, प्रस्तुतिमै भर पर्दछ। यद्यपि पूर्वाग्रह राखेर उचाल्ने र पछार्ने काम मिडियाको होइन। समाचारलाई कुन स्वरूप दिने भन्ने कुरा समाजको मूल्य–मान्यता र अभ्यास कस्तो छ भन्ने विषयमा निर्भर गर्दछ। यहीँनिर दोहोरो योगदानको कुरा आउँछ। किनभने समाजको मूल्य–मान्यता र अभ्यासको विकास वा निर्माणका लागि पनि मिडियाले योगदान गरेको हुन्छ। इटालिक अक्षरमा प्रकाशित सामग्रीले हल्काफुल्का र व्यंग्यात्मक अभिव्यक्तिको प्रतिनिधित्व गर्छ भन्ने सोच बसाल्न मिडियाले सिकाएको हो।

 

मिडियाको प्रभाव शक्ति हो। यसका दुई स्वरूप हुन्छन्– सकारात्मक र नकारात्मक। सकारात्मक र नकारात्मक प्रभाव दर्शक–श्रोताको मनस्थितिले फरक पर्दछ। एकथरी श्रोतालाई जुन मिडिया फ्रेमिङले सकारात्मक प्रभाव पार्छ, त्यही फ्रेमिङ अर्को समुदायका लागि नकारात्मक पनि हुनसक्छ।

‘मेडिया फ्रेमिङ थेउरी’ मिडियाले आमनागरिकको ध्यानाकर्षण गर्छ भन्ने मान्यतामा निर्माण भएको छ। यसका लागि बोधगम्य सामग्री सम्प्रेषण भएको हुनुपर्छ। प्रकाशन–प्रसारण गृहमा नेतृत्वमा रहेका वा अनुभवी पत्रकारले कुन विषय उठाउने भन्ने पहिचान गर्दछन् र अरु सहायक मिडियाकर्मीहरूको समेत सहयोगले त्यसको स्वरूप निर्धारण गरेर सामग्री सार्वजनिक गरिन्छ। यसका लागि व्याख्यात्मक, अभिप्रेरणात्मक, वादविवादयुक्त र तार्किक आदि शैलीको प्रयोग गरिन्छ। अन्ततोगत्वा यसले आमश्रोता–पाठकमा अपेक्षित प्रभाव पार्नुपर्छ वा पार्ने अपेक्षा गरिन्छ। त्यसैले मेडिया फ्रेमिङ भन्नाले के सामग्री प्रस्तुत गर्ने मात्र होइन कसरी प्रस्तुत गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण रहन्छ। पाठक–श्रोतालाई कुन विषयमा चिन्तन गर्न लगाउने र कस्तो प्रतिक्रिया वा अनुगमनको अपेक्षा गर्ने भन्नेसम्मको अवधारणा राखेर मिडिया फ्रेमिङ गरिन्छ।

मिडिया संरचना प्रक्रिया प्रविधि र ज्ञानको विकाससँगै परिमार्जित र संशोधित हुँदै आएको छ। न्यू मिडियाको बढ्दो प्रभावसँगै संरचना प्रक्रियामा पनि परिवर्तन आएको छ, परम्परागत सञ्चारमाध्यमका लागि प्रस्तुतिमा जुन संरचना निर्धारण गरिएको हुन्छ त्यही यसमा मिल्छ भन्ने छैन। पाठक–श्रोताको स्तर र रुचिमा परिवर्तन आइसकेको छ। ग्राहकको अवधारणामा परिवर्तन ल्याउने हो भने मिडियाले आफ्नो प्रस्तुतिमा पनि समयसापेक्ष परिवर्तन ल्याउन आवश्यक छ।

प्रसिद्ध विद्वान् रिचर्ड ई. भजले अभिव्यक्ति संरचनाका दुई पक्ष उल्लेख गरेका छन्। संरचना निर्माण पहिलो हो। यसभित्र तीन सम्बद्ध पक्ष छन्, नीतिगत पात्र, पत्रकारका मूल्य–मान्यता र सांस्कृतिक सन्दर्भ। राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पाठक–श्रोतालाई खास मुद्दालाई हेर्ने दृष्टिकोण प्रदान गर्दछन्, कुनै नयाँ एजेन्डा र अवधारणा पस्किन्छन्। अन्ततः मिडियाका कारण त्यसका अनुगमनकर्तामा अवधारणागत संरचना तयार हुन्छ। दोस्रो हो संरचना निर्धारण। खराब भनिएका व्यक्ति मिडियाकै प्रस्तुतिका कारण असल साबित हुनसक्छन्, उसको गुमेको व्यक्तित्व फर्किन्छ। जति बढी पाठक–श्रोतामा विषय लोकप्रिय भयो त्यति नै मिडिया फ्रेमिङको सफलता मानिन्छ।

मिडिया फ्रेमिङ सिद्धान्त एजेन्डा सेटिङ सिद्धान्तसँग मिल्दोजुल्दो देखिन्छ। म्याक्वेल म्याक्कम्बस डोनाल्ड सले १९७२ मा उल्लेख गरेअनुसार मिडियाले सार्वजनिक मुद्दा तय गर्दछ। समाचार कक्षमा रहेका पात्रहरूले विषयवस्तुलाई पाठक–श्रोताका अगाडि कसरी पु¥याउने र उनीहरूमा कुन स्तरको प्रभाव पार्ने भन्ने पक्षमा महत्वपूर्ण भूमिका खेल्दछन्। त्यसैले ‘एजेन्डा सेटिङ थेउरी’का प्रथम पात्रहरू समाचार कक्षका व्यक्ति हुन्छन् भने अन्तिम पात्र प्रकाशित–प्रसारित सामग्रीका आधारमा आफ्ना एजेन्डा बनाउने पाठक–श्रोता। यस थेउरीको सफलता मिडियामा प्रकाशित–प्रसारित सामग्रीका आधारमा पाठक–श्रोताले एजेन्डा बनाउनुमा निर्भर गर्दछ।

मिडियाले सम्प्रेषण गर्ने सामग्रीको प्राथमिकीकरणका सम्बन्धमा शान्तो इङ्गर, मार्क पिटर्स र डोनाल्ड किन्डरले सन् १९८२ मा उल्लेख गरेका छन्। पाठक–श्रोताको जानकारीका लागि कुन सामग्रीलाई कति महत्व दिएर कहाँ, कसरी, कुन समयमा प्रस्तुत गर्ने भन्ने सवाल नै प्राथमिकीकरण हो। त्यसरी प्रस्तुत गरिएको सामग्रीप्रति पाठक–श्रोताको धारणा के रहन्छ, उनीहरू यस विषयलाई कसरी लिन्छन्, त्यसका आधारमा आफ्नो एजेन्डा बनाउँछन् वा बनाउँदैनन् भन्ने कुराले प्राथमिकीकरण ठीक थियो–थिएन भन्ने निर्धारण गर्दछ। ओलम्पिक, वर्डकप, भूकम्प, बहुचर्चित व्यक्तिको मृत्यु आदि विषयलाई पाठक–श्रोताले प्रायः बेवास्ता गर्दैैनन्। यस्ता विषयलाई मिडियाले प्राथमिकीकरण गर्दै प्रकाशित–प्रसारित गर्नु आवश्यक छ।

एर्भिङ गोफम्यानले सन् १९७४ मा फ्रेमिङ थेउरीका सम्बन्धमा उल्लेख गरेका छन्। उनले भनेका छन्, कुनै समाचारको रिपोर्टिङ गर्दा पृष्ठभूमि र वातावरणलाई समेत समेटिन्छ। यसो गर्दा पाठक–श्रोताले प्रस्तुत सामग्रीलाई कुन स्तरको महत्व दिऊन् भन्ने पक्षमा ध्यान दिइन्छ। फ्रेमिङ थेउरीले सामाजिक संरचनालाई दुई स्वरूपमा व्याख्या गर्दछ– पत्रकारले सामाजिक वातावरणको अवधारणालाई कसरी उठाउँछ र पाठक–श्रोताले त्यस सामाजिक वातावरणलाई कसरी व्याख्या गर्छन् ? उपमा, प्रतीक, शैली, शब्द चयन, वाक्य गठन आदि फ्रेमिङका दायरामा पर्दछन्। यसलाई पत्रकारले कसरी प्रस्तुत गर्दछ र पाठक–श्रोताले कसरी लिन्छन् भन्ने पक्षलाई यस सिद्धान्तले व्याख्या गर्दछ। समाचार वा आलेखका साथ दिइने सन्दर्भ सामग्री, प्रमाण र विवरण पनि यसभित्र पर्दछन्।