जिप दुर्घटनामा ३ को मृत्यु


विमल विष्ट, डोटी
शनिबार दिउँसो डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन्। दीपायलबाट शिखर नगरपालिका–३ जोरागाउँ जान लागेको ग१ख ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका–३ का ३२ वर्षीया कट्टी सार्की, १४ वर्षीय सुरज भुल तथा ४० वर्षीया खिनतोली भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले बताउनुभयो।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा शिखर नगरपालिका–३ की सुनादेवी भुल, सपना भुल, कैलाश भुल, सुरेश भुल, खिमा भुल रहेका छन्।
यसै गरी बली भुल, झंकर भुल, अमृत भुल, धौली भुल, नारु भुल, बासु भुल, अर्जुन भुल, अनोज भुल रहेका छन्। त्यस्तै सोही नगरपालिका–६ का टिकरा भुल, चालक भीमबहादुर भुल तथा झाकरी भुल रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकामध्ये १२ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ भने यो समाचार तयार पार्दासम्म ४ जनालाई थप उपचारका लागि नेपालगन्जतर्फ रिफर गरिएको सोही अस्पतालका निर्देशक आइजंग कुँवरले बताउनुभयो।

कच्ची सडक तथा गाडीमा ओभरलोड भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। प्रहरीका अनुसार गाडीमा १९ जना सवार रहेका थिए।