व्यापारिक सिन्डिकेट पनि तोड्छौंः अर्थमन्त्री


कृष्णउदास खनाल, वीरगन्ज
अर्थमन्त्री डा. युवराज खतिवडाले यातायातजस्तै अन्य व्यावसायिक क्षेत्रको सिन्डिकेट तोड्न आफू लागिरहेको बताउनुभएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा वीरगन्जमा आयोजित राजस्व नीति तथा कार्यक्रम सम्बन्धमा छलफल तथा सुझाव संकलन गर्न आयोजित कार्यक्रम अर्थमन्त्री खतिवडाले मुलुकको ५४ प्रतिशतभन्दा बढी राजस्व संकलन हुने आर्थिक नगरी वीरगन्ज र प्रदेश नम्बर २ को विकासका लागि कटिबद्ध रहेको चर्चा गर्नुभयो।

जुन उद्योग–व्यवसायले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु¥याउँछ, त्यस्ता उद्योग–व्यवसायलाई सहयोग तथा देशको अर्थतन्त्रमा नकारात्मक योगदान पु¥याउने उद्योग–व्यवसायलाई निरुत्साहित गर्ने उहाँले बताउनुभयो। उहाँले व्यवसाय करको बारेमा नीति सुधार गर्दै लाने पनि बताउँदै यातायातको सिन्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिन्डिकेट तोड्न पनि सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ। उहाँले खोस्टा भएका पुराना भारतीय रूपैयाँको सवालमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि तत्परता देखाउने उल्लेख गर्नुभयो।

एकीकृत जाँच चौकी पूर्णरूपमा सञ्चालन गर्न, द्रुत मार्ग, निजगढ विमानस्थल, हेटौंडा–काठमाडौं शुरूङ मार्गसँगै भारतको रक्सौलबाट काठमाडौं र काठमाडौं–रसुवा–तिब्बतसम्म रेलवे लाइन बनाएर भारतबाट नेपाल हुँदै चीन र चीनबाट नेपाल हुँदै भारतसम्म अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा नेपाल सरकारले योजना अघि बढाइरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले संघीय बजेटलाई प्रभावकारी बनाउन ७ वटै प्रदेशमा हुने सुझाव संकलन कार्यक्रमको लागि वीरगन्जलाई प्राथमिकता दिई वीरगन्जबाट कार्यक्रम शुरू गरेको बताउनुभयो। त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्माको सभापतित्वमा भएको कार्यक्रममा व्यवसायी अशोक वैध, जगदीश अग्रवाल, रवीन्द्र वर्णवाल, अनुराग शर्मा, सुशील मित्तल, सुबोध गुप्ता, शिव शर्मा, हरि गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए।