यातायात व्यवसायीद्वारा सातै प्रदेशमा ज्ञापनपत्र


बुटवल, (नेस)
सरकारले यातायात व्यवसायीका संस्था नवीकरण नगर्ने भनी गरेको निर्णयको विरोधमा यातायात व्यवसायी महासंघको पँर्वघोषित कार्यक्रमअनुसार शुक्रबार सातवटै प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको संयुक्त आन्दोलन मुल समितिले काठमाडांैमा प्रधानमन्त्री, विभागीय मन्त्री र प्रदेशमा मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्र्तगत पाँच नम्बर प्रदेशको बुटवलमा प्रदेश संयोजक डिलबहादुर ढुंगानाकोे नेतृत्वमा मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो।

त्यस्तै संस्था नवीकरण नगरेको विरोधमा ८ गते सार्वजनिक सवारी साधनमा कालो झण्डा राख्ने, ९ गते राजनीतिक दलका नेतृत्व तथा यातायात विभाग हेर्ने नेतालाई ज्ञापन पत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोणसभा गर्ने, १२ र १३ गते रुटमा बिना समय गाडी सञ्चालन गर्ने, १४ र १५ गते सवारी साधनलाई क्यु फ्रि छोड्ने, १६ गते सबै यातायात कार्यालयहरुमा घेराउ गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी गराउनुभयो।

संघर्ष समितिले वैशाखको १७, १८ र १९ गते प्रचार प्रसार गर्ने, २१ गते सवारी साधनलाई घर ग्यारेजमा थन्क्याउनेसम्मका पहिलो चरणका आन्दोलनका कार्यक्रम तय गरिएका छन्। त्यस्तै २२ गते संयुक्त संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम तय गर्ने तथा संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म २७ गतेदेखि सबै सार्वजनिक सवारीका साधन घर ग्यारेजमा थन्क्याइने बताएको छ।