‘नास्तिक पिता स्वर्गमा छन्’, पोपको मार्मिक जवाफ

0
Shares

रोम, (एजेन्सी)
भनिन्छ विश्वमा ३ सय प्रकारका धर्म छन्। सबैको आआफ्ना धर्ममा आस्था छ। यद्यपि इसाई, इस्लाम, हिन्दू र बौद्ध यी चार प्रकारका धर्म प्रमुख मानिएका छन्। प्रायः यी सबै धर्ममा स्वर्ग र नर्कको करिबकरिब उस्तै व्याख्या पाइन्छ। राम्रो काम गरेमा स्वर्ग र नराम्रोका लागि नर्क।

एकले अर्को धर्ममा आस्था राख्नेलाई सम्भवतः स्वर्गको कल्पना गरेकै छैन। तर कुनै व्यक्ति नास्तिक भएमा उसका लागि कस्तो व्यवस्था होला? यो प्रश्नले कुनै नास्तिककै लागि त केही फरक नपर्ला तर ऊप्रति स्नेह राख्नेहरूका लागि भने यो क्षण ह्दयविदारक बन्ने गर्छ।

यसै प्रसंगमा आफ्ना पिताको निधनपछि यो प्रश्नले चिन्तित बनेर आँसु बगाइरहेका एक सानो बालकले पोप फ्रान्सिसबाट मार्मिक शब्दको सान्त्वना पाएका छन्।
गत आइतबार पोप र ती बालकबीचको मार्मिक क्षणलाई फ्रान्सिसले बालकप्रति दया प्रकट गर्नुलाई नै जोड दिए। रोमबाहिर क्रस समुदायस्थित सेन्ट पलको भ्रमणमा आएका पोपसँग ती बालक इम्यानुयले भेटेका थिए।

समुदायका बालबालिकासँगको प्रश्नोत्तर सत्रमा इम्यानुयलको पनि पालो आयो र फ्रान्सिससँग प्रश्न राख्न उनको अगाडि माइक्रोफोन तेस्र्याइयो। तर केही बोल्नुअगाडि नै ती बालकको गला अवरुद्ध हुन पुग्यो। उनी हातले मुहार छोप्दै रुन थाले।
फ्रान्सिसले ती बालकलाई प्रोत्साहित गर्दै अगाडि आउन र उनको कानमा प्रश्न राख्न भने। पोपले बालकलाई अंकमाल गरे। इम्यानुयल आफ्नो सिटमा फर्कनुअगाडि ती दुईबीच सानो स्वरमा कुराकानी भयो।

फ्रान्सिसले भिडलाई सम्बोधन गर्दै इम्यानुयलले उनीहरूबीच भएको कुरा साझा गर्न अनुमति दिएको बताए। उनले इम्यानुयल हालैमात्र निधन भएका आफ्ना पिताका लागि रोएको बताए। ती बालकले पोपलाई आफ्ना पिता एक नास्तिक तर राम्रो मान्छे भएको बताएका थिए। नास्तिक भए पनि उनले आफ्ना सबै ४ सन्तानलाई बाप्टाइज गरेका थिए।

‘के मेरा पिता स्वर्गमा छन्?’ –ती बालकले पोपलाई सोधेका थिए। ‘एउटा बालक, उनको पिताले दिएको बलले गर्दा हामी सबैका अगाडि रुने साहस गरेको छ’, पोपले बताए– ‘यदि यो व्यक्ति जसले यस्तो बच्चा तयार गर्छ, यो सत्य हो कि ऊ वास्तवमै राम्रो मान्छे हो।’

‘त्यो व्यक्तिसँग कुनैप्रति आस्था थिएन, ऊ आस्थावान् थिएन, तर उनले उनका सन्तानलाई बाप्टाइज गरे। उसँग राम्रो ह्दय छ।’ –फ्रान्सिसले थपे। उनले स्रोतामाझ ईश्वरले इम्यानुयलजस्तो बालकको पितालाई छोड्छ भन्ने लागेको छ भन्ने प्रश्न राखे। बालबालिकाको भिडले ‘छोड्दैन’ भन्ने जवाफ दियो।

को स्वर्गमा जान्छ, त्यसको निर्णय ईश्वरले गर्ने पोपले बताए। आस्थावान् नभएर पनि आफ्ना सन्तानलाई बाप्टाइज गरेकोले ईश्वर उनका पिताप्रति निश्चितरूपमा गौरव गर्नेछन्। यसले ईश्वरलाई निश्चितरूपमा खुसी पारेको पोपले बताए।