हतियार र गोलीगठ्ठासहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुर प्रहरीले हेटौंडा–३ स्थित पँर्वपश्चिम लोकमार्गको लेबटमा प्रहरी देखेर भाग्दै गरेकाको साथबाट हातहतियार र गोलीगठ्ठा बरामद गरेको छ।
उनलाई प्रहरी चौकी लेबटले नियन्त्रणमा लिएको हो। प्रसनी बिगबहादुर तामाङको कमान्डमा खटिएको ४ जना प्रहरीले सवारीसाधन चेक गरिरहेको अवस्थामा प्रहरी चेकिङ टोलीलाई देखेर नेवारपानीबाट हेटांैडा बजारतर्फ आउँदै गरेको यात्रुबाहक म्याजिकबाट ओर्लिएर उनीहरू भागेका थिए।

उक्त सवारीसाधनबाट ४ जना करिब ५० मिटर पर ओर्लिएर भागेपछि प्रहरीले पिछा गरेको थियो। प्रहरीले जम्बो चौतारा बस्ने वर्ष ३७ का अनिल भनिने जोकर मोक्तानलाई उनले बोकेको झोलाबाट कटुवा पेस्तोल ३ थान, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राइफलको गोली १ थान, सुतलीबम १ थान, नेपाल प्रहरीको चुस्ता १ थानलगायत सामग्रीसहित बिहीबार बिहान करिब पौने ६ बजे पक्राउ गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

फरार अन्य व्यक्तिको पहिचान भएर खोजतलास भइरहेको प्रउ खनालले बताउनुभयो। पक्राउ परेका जोकरका सम्बन्धमा थप अनुसन्धान तथा छानबीन भइरहेको र उनलाई मुलुकी ऐनको हातहतियार तथा खरखजाना ऐन, २०१९ तथा विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नेतर्फ कारबाही भइरहेको प्रहरीले जनाएको छ।