प्रजापतिको दिव्यरथारोहण

0
Shares

सुनील महर्जन, ललितपुर
ललितपुर इमाडोल निवासी भाइचा कुमाः (प्रजापति) लगभग १ सय वर्षको पुगिसक्दा पनि खासै रोगव्याधिको कष्ट सहनुपरेको छैन। सामान्यतया ४० कटेपछि देखिने उच्चरक्त चाप र मधुमेह त परैको कुरो हो, प्रजापतिले अहिलेसम्म औषधि खानुपरेको पनि छैन।
नेवारीमा कुमाः माटोको भाँडाकुँडा बनाउने पेसा पुस्तौंदेखि गर्दै आएकोलाई चिनाउने थर अर्थात् प्रजापति। यससँगै खेतीपातीमा जीवन बिताएका प्रजापतिको बुधबार दिव्यरथारोहण (चौथो ज्याःजंकु) गरियो। दिव्यरथारोहण गरिरहँदा निरोगी हुनुको सूत्र के हो भन्ने जिज्ञासामा प्रजापतिले भन्नुभयो– ‘खानामा संयम, सकारात्मक सोच र सक्रिय जीवन।’ नेवारी परम्परा अति दुर्लभ मानिने दिव्यरथारोहण गर्न पाउनु सोही सूत्रको प्रतिफलका रूपमा उहाँले लिनुभएको छ।

सामान्य किसान परिवारमा जन्मिएका प्रजापतिको हिजो बुधबार ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेको अवसरमा गरिने दिव्यरथारोहण गरिएको हो। उहाँका ज्वाइँ विकास महर्जनका अनुसार प्रजापति उमेरले १ सय १ वर्ष पुगिसक्नुभएको छ। ‘शुरुमा यो कुरा परिवारका सदस्य कसैलाई थाहा थिएन, पछि चिना हेरपछि त चौथों जंकु गर्ने समय बितिसकेको थाहा पाएँ’, महर्जनले भन्नुभयो– ‘पछि ज्योतिषीसँग सल्लाह गरेर जंकु गर्न अक्षय तृतीयाको साइत निकालेको हुँ।’

‘चोथो जंकु चाहेर मात्र गर्न पाउने कार्य होइन, यसका लागि भाग्य चाहिन्छ’, महर्जनले भन्नुभयो– ‘धार्मिक विधि पूरा गर्न पनि निकै कठिन छ।’ आफ्ना सयौं नातिनातिनी र पनाति, टोलबासी, शुभेच्छुक आफन्त गरी हजारौंमाझ दुर्लभ देवरथारोहण गर्न पाउँदा खुसीले गद्गद् भएका थिए। देवरथारोहणलाई दीर्घ र स्वस्थ जीवनको सुखका रूपमा अथ्र्याउँदै प्रजापतिले जीवनलाई सकारात्मक कार्यमा सक्रिय बनाउनुपर्ने सल्लाह दिनुभयो।

नेवारी परम्परामा मानिस ७७ वर्ष ७ महिना र ७ दिन ७ पला पुगेको देवरथारोहण (पहिलो ज्याः जंकु), ८३ वर्षमा अर्थात १ हजारपटक चन्द्रमाको दर्शन गरिसकेको मानेर सहस्र चन्द्ररथारोहण (दोस्रो ज्याःजंकु) र ८८ वर्ष ८ महिना ८ दिनमा देवरथारोहण (तेस्रो ज्याःजंकुं) गरिन्छ। यी तीनवटै रथारोहण गरी सकेका प्रजापतिको चौथौ जंकु गरिएको थियो।

‘चौथो जंकुलाई नेवारी परम्परामा मान्छेको जीवन चक्र पूरा भई नयाँ जन्म भएको मानिन्छ। प्रजापतिको हिजो पुनर्जन्म भएकोे प्रतीकस्वरूप ठूलो घ्याम्पोबाट निकालेर पूजा गरियो। धार्मिक शास्त्रअनुसार चौथों जंकुलाई आमाबुबाको सहवासबिना हुने जन्मका रूपमा लिइन्छ। त्यसले यसलाई दिव्यरथारोहण भनिएको हो’ –चोथों जंकुको धार्मिक विधि पु¥याउने वज्राचार्य गुरुजु माइला गुरुजुले नेपाल समाचारपत्रसँग भन्नुभयो। सोहीअनुरूप प्रजापतिलाई घ्याम्पोबाट निकालेर मान्छे जन्मेदेखि विवाहसम्म गरिने १० कर्म संस्कार गरिएको थियो।

त्यसपछि दशकर्म संस्कारअन्तर्गत न्वारण, पास्नी, नामकरणलगायत कर्मसंस्कारहरू गरिएको थियो। यस कार्यमा माइला बाबु गुरुजुलाई विक्रम वज्राचार्य र शान्तमान वज्राचार्यले सघाएका थिए।

उमेर सय वर्ष भए पनि निकै प्रजापति निकै जोसिला र फूर्तिला रहेका छन्। देख्न र सुन्ने शक्ति अझै पनि घटेको छैन। वैशाख १२ गतेको भूकम्प आउन पाँच, छ महिनाअघि आफ्नो कुल घर ओकबुहालबाट उहाँ इमाडोल सर्नुभएको थियो।

‘अहिलेसम्म बिहान चिया खाने बानी छैन। रक्सी न घटी पिउनुहुन्छ। न बढी नै। खानामा संयम्। सकारात्मक सोच र ऊर्जाशील भएको परिवारलाई हेरविचार गर्न निकै सहज रहेको छ’ –बाजेका विषयमा नाति पूर्ण प्रजापतिको भनाइ थियो। राणाकालमा घटेका घटनाहरू आफ्नो मनमस्तिष्कमा अझै तरोताजा रहेको बताउने प्रजापतिको खानपिनमा खासै बार्ने बानी छैन। प्रजापतिका छोराछोरी कोही नभएकाले उहाँका ९२ वर्षीय भाइ पारसि महर्जनसहितको परिवारले चोथो जंकुको बन्दोबस्तो मिलाएको थियो।