१० अर्बमा बन्दै छन् त्रिविका भवन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

भुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, डीनको कार्यालयलगायतका भवनको संरचना पुनः निर्माणका लागि करिब १० अर्ब रुपियाँ खर्च हुने भएको छ।

उपकुलपति प्राडा. तीर्थ खनियाँले विभिन्न निकाय र सरकारको सहयोगमा संकलन भएको सोही रकमको आधारमा ध्वस्त भएका संरचनाहरू पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार उपकुलपतिको कार्यकक्ष र शिक्षाध्यक्ष भवन तयार भएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक स्नातकोत्तर कार्यालय भवन, डिन कार्यालयहरूको परीक्षा भवन, शिक्षण अस्पताल वेसिक साइन्स भवन, स्कुल अफ म्याथम्याटिकल साइन्स भवन निर्माण सकिने क्रममा रहेको छ।

यसै क्रममा उपकुलपति खनियाँ र शिक्षाध्यक्ष प्राडा. सुधा त्रिपाठी बुधबार नयाँ भवन प्रवेश गर्नुभयो। रजिष्ट्रार भवन निर्माण दुई महिनाभित्रै शुरु गर्ने बताइएको छ।

२०७३ सालदेखि एक अर्बमा विभिन्न निकायका १० वटा भवन पुनर्निर्माण थालेको त्रिविले डेढ वर्षभित्र ३ वटा भवन र मुलगेट तयार भएको जनाएको छ। तीमध्ये केही भवन अन्तिम चरणमा पुगेका छन्। ती भवनहरूमा शिक्षाध्यक्षको कार्यालय, एग्रो बायो मेटेरियल, सेवा आयोग गेट र मोटर ग्यारेज रहेका छन्।

व्यवस्थापन डिनको कार्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक स्नातकोत्तर कार्यालय, डिन कार्यालयहरूको परीक्षा, शिक्षण अस्पताल वेसिक साइन्स र स्कुल अफ म्याथम्याटिकल साइन्स भवन सम्पन्न हुने क्रममा रहेका छन्। अन्य आंगिक क्याम्पसले आफँै भवन निर्माण गर्ने भएका छन्।

त्रिविअन्तर्गतका विभिन्न कार्यालयका सबै संरचनाहरू २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भएका थिए। ध्वस्त भएका मुख्यालयसहित करिब ६० वटा निकाय पाल, प्रिफाइब र सामान्य आधारमा चलिरहेको अवस्थामा पुनर्निर्माण कार्यमा तिव्रता दिइएको हो।
३० वर्षदेखि त्रिविका ३ पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्टार एउटै भवनमा बस्ने व्यवस्था भएकोमा अहिले यी भवन पनि छुट्टाछुट्टै बनाइएको छ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार उपकुलपति कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, सेवा आयोग, विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका डिनको कार्यालय, शिक्षण अस्पताल कार्यालयको भवन क्षति भएको विवरण सरकारलाई बुझाइएको थियो।

भूकम्पले उपत्यकाका परीक्षा नियन्त्रण, नेपाल ल, नेपाल कमर्स, पाल्पा, पाटन संयुक्त, शंकरदेव, स्वयम्भूमा रहेको प्राकृतिक संग्रहालय, विज्ञान प्रयोगशाला, अस्कल, ललितकला, जनप्रशासन, पाटन संयुक्त, गोरखा, वीरेन्द्र बहुमखीलगायत क्याम्पसको भवन क्षतिग्रस्त भएको थियो।

त्रिविले भूकम्प गएको करिब २ सातापछि विपद् कोष खडा गरी त्रिविका पदाधिकारीसहित सबैको तलब बापत १५ करोड रुपियाँ छुट्याएको थियो। सो रकम पनि पुनर्निर्माणमा खर्च भइरहेको जनाइएको छ।