लायन्समा चुनावी सरगर्मी

0
Shares

पोखरा, (नेस)
भोलि र पर्सि पोखरामा हुन लागेको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं महाधिवेसन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरूले चुनावी अभियानलाई तिव्र बनाएका छन्। विशेष गरी सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि २ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि चुनावी अभियानले तिव्रता पाएको हो।

उम्मेदवार मन रोका र मणिश्री रत्न वज्राचार्यले आ–आफ्ना सहयोगीका साथमा चुनावी अभियानलाई तिव्रता दिइरहेका छन्। दुवैले लायन्स क्लब तथा लायन सदस्यहरूका बीचमा प्रचार–प्रसार गरिरहेका छन्। सामाजिक सञ्चालमा पनि पक्ष र विपक्षमा बहस गर्दै लायनहरूले चुनावी प्रचारप्रसार गरिरहेका छन्।

चुनावी मिति नजिकिएसँगै क्लब तथा लायन्स लिडरहरू पनि पक्ष र विपक्षमा खुल्ने क्रम बढेको छ। पूर्वमल्टिपल काउन्सिल चियरपर्सन, पूर्वगभर्नरदेखि डिस्ट्रिक्टका प्रायः लायन लिडरहरू पक्ष र विपक्षमा लागेका छन्। कतिपयले खुलेर आ–आफ्नो पक्षका उम्मेदवारलाई भोट मागिरहेका छन् भने कतिपयले गोप्य रूपमा लबिङ गरिरहेका छन्। २ पक्षबीचको चुनावी अभियानले लायन्सभित्र विभाजन ल्याउने त होइन भन्ने प्रश्नसमेत उठेको छ।

मणिश्री अघिल्लोपटक इन्दू लम्सालसँग द्वितीय गभर्नरमा उम्मेदवार बनेर पराजित भएका थिए भने मन रोका चिफ एडभाइजर हुँदै पहिलो पटक गभर्नरको लाइनमा आउन प्रतिस्पर्धामा उत्रिएका छन्। मन र मणि दुवैले आफूले चुनाव जित्ने दाबी गरेका छन्। पोखरा सभागृह हलमा हुने महाधिवेशनअन्तर्गत ७ गते उद्घाटन र ८ गते मतदान हुँदै छ।