कर्णालीको विकासका लागि बस्ती विकास गर्नुपर्छः प्रम ओली

0
Shares

नेपाल समाचारपत्र
सुर्खेत
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले बिस्तार गर्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्वविद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पुर्याउन मुस्किल भएकाले आधुनिक ढंगले बस्ती बिस्तार गर्नुपर्ने बताउनुभएको हो।

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसँग नजोडिएकाले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसँग जोडिएको छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘त्यस कारण उत्तरी छिमेकीसँगका नाका खोल्नुुपर्छ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा शुरु गरिने स्पष्ट पार्नुभएको छ। आफ्नो ३ दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौती आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताउनुभएको छ। ‘समृद्ध कर्णाली बनाउन जनप्रतिनिधिहरूले अगुवाइ गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यहाँको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनुपर्दछ।’

मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिनुभएको छ। कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेल, विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, पर्यटन मन्त्री रविन्द्र अधिकारीलगायतको उपस्थिति थियो।े