गुण्डागर्दीमा सम्झौता नगर्न महानिरीक्षकको निर्देशन

0
Shares

काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचविखन, गुण्डागर्दी र लागूऔषधलगायतमा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरूले निर्भिक र निडर भई निष्ठाकासाथ काम गर्नुपर्ने बताउनुभएको छ। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो।

राष्ट्र र नागरिकको अपेक्षाअनुरूप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोस र उमङ्गकासाथ काम गरी तत्काल नतिजा देखाउनुपर्ने उल्लेख गर्नुभयो।

संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न उहाँले निर्देशनसमेत दिनुभयो। महिला तथा बालबालिकासम्बन्धी हुने अपराधका विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले असहायपीडितको गुनासोप्रति चासो दिनुपर्ने, घटनाप्रति मूकदर्शक हुन नहुने र दोषीलाई तत्काल कारबाही गरी कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो। नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा प्रहरी आचरण र व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा कमीकमजोरीलाई सुधार्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो।

राज्यले सुम्पेको गहन जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने चुनौती र बाधा अड्चनको सामना गर्दै संगठनको छविलाई थप उचाइमा लैजान प्रहरी कर्मचारीहरूमा अझै मिहिनेत र लगनको आवश्यकता रहेको प्रहरी महानिरीक्षक खनालले चर्चा गर्नुभयो। प्रहरी संगठनको सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्तिविकास तथा सेवा सुविधाप्रति संगठन सदैव संवेदनशील रहेको जानकारी दिँदै उहाँले प्रहरी कर्मचारी पनि संगठनको हितप्रति पूर्ण बफादार र निष्ठावान् हुनुपर्ने उल्लेख गर्नुभयो।