छैठौं पटक जिब्रो छेडे बुद्धकृष्णले

0
Shares

नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन्। मध्यपुर थिमी–८ बोडेका श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन्। यसअघि २०६२ देखि २०६५ सालसम्म लगातार ४ वर्षसम्म जिब्रो छेडाएका उनले २०७४ सालमा पनि जिब्रो छेडाएका थिए।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेका बागश्रेष्ठले दिउँसो सयौं मानिसका अगाडि जिब्रो छेडेका हुन्। बिहानै जिब्रो छेड्ने कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न दिउँसो बोडेको पाँचौं गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायखी बाजागाजाका साथ जिब्रो छेड्ने व्यक्तिलाई मञ्चमा राखिन्छ।
नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको करिब १० इन्च लामो सुइरोले देवगणको पूजा एवं प्रार्थना गरी सयौं मानिसको अगाडि जिब्रो छेडिन्छ। जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकी टोलटोल घुमेर जिब्रो छेड्ने व्यक्तिद्वारा पुनः भाँगु टोलमा पुगेर पाँचौं गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाइ जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने प्रचलन रहेको छ। प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने भनाइ रहेको छ। जिब्रो छेड्ने व्यक्तिको घरमा आउने जति सबैलाई दिनभर भोज खुवाउनुपर्ने परम्परा पनि रहेको छ।
बुद्धकृष्णले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म ४ वर्ष निरन्तर जिब्रो छेडाएका थिए । जुजुभाइले जिब्रो छेड्नुअघि ४ वर्ष बुद्धकृष्ण बागश्रेष्ठले र १२ वर्ष उनका दाजु कृष्णचन्द्र बागश्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका हुन्।
कोरियामैत्री अस्पतालका एम्बुलेन्सचालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफूले जिब्रो छेडेको बताए। बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्षसमेत रहेका छन्। बोडे स्पोर्ट्स क्लबका अध्यक्ष लिकृष्ण प्रजापतिले बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदैआएको बताए।