२० वर्षपछि  बसपार्क निर्माण हँदै

0
Shares

अमृत अर्याल, स्याङ्जा
जिल्लाको स्याङजा बजारमा २० वर्षपछि बल्ल बसपार्क निर्माण हुँुदै छ। जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित विष्णुपधेरामा झण्डै १४ रोपनी जग्गामा बसपार्क निर्माण भएको छ। आर्थिक वर्ष २०५४÷०५५ बाट निर्माण शुरू भएको बसपार्क करिब २० वर्षको अवधिमा सम्पन्न हुन लागेको हो।

सरकारले गर्न नसकेको यो काम एउटा बस समीतिले आफ्नो अगुवाईमा सम्पन्न गर्दैछ। स्थानीय गण्डकी यातायात बस व्यवसायी समितिको सक्रियतामा निर्माण शुरू भएको बसपार्कमा करिब २ करोड ३० लाख लगानी भएको छ। समितिमार्फत झण्डै १ करोड लगानी भएको छ भने नेपाल सरकारका तर्फबाट २० वर्षको अवधिमा १ करोड ३० लाख खर्च भएको छ।

ढिलै भए पनि जसोतसो निर्माण कार्य बल्ल सम्पन्न भएको छ। ‘निर्माण शुरू भएदेखि २०६८ सम्म बस व्यवसायी समितिमार्फत काम भएको थियो’, गण्डकी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले भन्नुभयो– ‘२०६८ पछि नेपाल सरकारले बजेट विनियोजन गर्न थालेपछि निर्माण कार्यले तीव्रता पाएसँगै बसपार्क सञ्चालन अन्तिम चरणमा पुगेको छ।’ विष्णुपँधेराको खोल्सामा बजार क्षेत्रबाट निस्कने माटोले पुरेर बसपार्क बनाउन पर्दा निर्माणमा समय लागेको उहाँले बताउनुभयो।

जिल्ला सदरमुकाममा समेत एउटा पनि बसपार्क नहुँदा धेरै समस्या थियो। बसपार्क बनेपछि पहाडी राजमार्ग त्यसमा पनि साँघुरो सडकमा पार्किङ गर्ने समस्या हट्ने भएपछि स्थानीय व्यवसायी तथा यातायात व्यवसायी उत्साहित देखिएका छन्। जथाभावी पार्किङ गर्नुपर्ने र यात्राका लागि सवारीसाधन खोज्नुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय पनि खुसी भएका छन्।

सिद्धार्थ राजमार्गको तल र माथि दुई खण्डमा बसपार्क निर्माण गरिएको छ। जिल्ला सदरमुकामबाट छुट्ने साना सवारीसाधनलाई तल्लो बसपार्क तथा पोखरा, काठमाडौं र बुटवललाई छुट्ने ठूला सवारीसाधनलाई माथिल्लो बसपार्कबाट छुटाउने व्यवस्था समितिले मिलाएको छ। समितिका अनुसार साना साधनलाई करिब ४ रोपनी र ठूला सवारी साधनलाई ९ रोपनी जग्गामा पार्किङको व्यवस्था गरिएको छ।

यो बसपार्क पनि साँघुरो हुने अनुमान गरिएको छ। जग्गा अभावमा बजार क्षेत्रबाट केही दूरीमा बनेको बसपार्क सुरक्षाका दृष्टिले कमजोर रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार समितिमार्फत जनपथ प्रहरीको काउन्टर राख्न सके २४सै घण्टा सवारीसाधनलाई पार्किङ गरी राख्न समस्या हुने थिएन।

सिद्धार्थ राजमार्गसँगै जोडिएकाले बसपार्कलाई थप व्यवस्थित बनाइनुपर्दछ। ‘बसपार्कलाई सुरक्षित बनाउन समितिले स्थानीय सरकार नगरपालिका र सुरक्षा निकायसँग समन्वय गरेको छ’, समितिका अध्यक्ष अर्यालले भन्नुभयो– ‘लामो प्रयासमा बनेको बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग छलफल गरिएको छ।’ राज्यको ठूलो बजेट खर्च गरेर बनेको बसपार्क सञ्चालन गर्न साना समस्याले रोक्न नहुने अर्यालले बताउनुभयो।