आठ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
एउटी आठ वर्षीया बालिकामाथि भएको अमानवीय बलात्कारलाई लिएर भारतभरि आक्रोस फैलिएको छ। एक फिरन्ते मुस्लिम आदिवासी परिवारकी सदस्य आसिफा बानोको शव १७ जनवरीमा भारत अधीनस्थ कास्मिरको काथुवा शहरनजिकको जंगलमा फेला परेको थियो।

यसै साता मात्र यस घटनालाई लिएर आठ जना हिन्दू पुरुषलाई पक्राउ गरेको कारण हिन्दु कट्टरपन्थी समूहले विरोध प्रदर्शन गरेपछि मात्र यो बलात्कार काण्डले सञ्चार माध्यममा महत्व पाएको हो। पहिल्यै समस्यामा जकडिएको भारतको कास्मिर क्षेत्रमा यस घटना धार्मिक विवादमा फस्ने संकेत देखिएको छ।

प्रहरीले बलात्कारको आशंकामा एकजना अवकाश प्राप्त सरकारी अधिकारी, चारजना प्रहरी अधिकारी र एकजना सर्वसाधारणलाई गिरफ्तार गरेको छ। स्थानीय हिन्दू समुदायमा आबद्ध तिनीहरूको मुस्लिम आदिवासीसँग जग्गा विवाद रहँदै आएको बुझिएको छ।

ती पक्राउ परेका व्यक्तिहरूको समर्थनमा निकालिएको जुलुसमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)का दुईजना मन्त्री पनि सहभागी भएपछि जनआक्रोेस फैलिएको हो। ती बालिकालाई लागूऔषध खुवाएर, थुप्रै दिनसम्म कोठामा थुनेर सामूहिक बलातकार गरेपछि मात्र हत्या गरिएको थियो।

भारतको प्रमुख विपक्षी पार्टी कंग्रेसका अध्यक्ष राहुल गान्धीले बिहीबार राति नयाँदिल्लीमा पीडित बालिकाको समर्थनमा निकालिएको मैनवत्ती जुलुसको अगुवाइ गरेका थिए। हिन्दू कट्टरपन्थी समूहलाई समर्थन गर्ने गरेका वकिलहरूले ती आरोपित पुरुषहरू निर्दोष भएको भन्दै यस घटनालाई भारतको संघीय प्रहरीलाई सुम्पिनुपर्ने माग गरेका छन्।

भारतभरि नै महिलाविरुद्धको क्रूर अपराधप्रति ध्यानाकर्षण गर्ने उद्देश्यले थुप्रै विरोध प्रदर्शनको आयोजना हुने भएको छ। दिल्ली महिला आयोगका अध्यक्ष स्वाती मालिवाले राष्ट्रमा महिला तथा बालबालिकाको राम्रो सुरक्षा व्यवस्थाका ेमाग राख्दै हिजैदेखि अनिश्चितकालीन अनशन बस्न लागेको जानकारी गराएकी थिइन्।