मोहन दुवाल
कमलराज रेग्मीलाई विद्वताको दृष्टिले, राजनीतिक सक्रियताको कारणले, जयतु संस्कृतम्को आन्दोलनको इतिहासले, पाल्पाको जागरणमा उनले खेलेका अग्रिम गतिविधिका उत्सर्गले म युवा हुँदा नै मैले मनमा सजाउन पाएको मेरो लागि आदरणीय नाम हो। राजनीति उहापोहमा कसले के–के गरे, कसले के–के सोचे र कसले के–के गर्ने भनेर के–के गरे भनी विश्लेषण गर्नुभन्दा उनले देश र जनताका लागि के–के गद्दारी गरेर गए भन्ने सन्दर्भमा पो विश्लेषण गर्नु अनिवार्य हुन्छ। कमलराज रेग्मीले पाल्पाको विकास निर्माण मात्र सोचेनन्, बौद्धिक विकासका लागि पुस्तकालय, स्कुलका अनेकौं आयामहरू खोजेर आपूm सक्दो आफू जन्मेको ठाउँका लागि केही गर्न खोजे र गरेर देखाए।
त्यति मात्र नभई बहुजन हिताय, बहुजन सुखायका लागि आफूलाई जस्तोसुकै खालको दुःखको जालोमा राख्नुपरे पनि कम्युनिस्ट भई संघर्षमा लागे। दुःख, हन्डरका सर्वाङ्ग नाम बनेर यिनले के मात्र भोगेनन् र गरेनन्। थुप्रै फेहरिस्त छन्, तर भोगे र संघर्षमा डटिरहे यिनी।
आफ्नै मनमा अप्ठ्यारो लाग्ने काम पनि कहिलेकाहीँ मान्छेले गरिहाल्नुपर्ने बाध्यता आइजान्छन्– नियति हो मान्छे, बाध्यताका पोका हुन् मान्छे। यस्तै खालका नियति र बाध्यता भोगेर कमलराज पनि गाउँ फर्के। गाउँ फर्केर पनि गाउँकै सेवामा, शोषणरहित समाजको परिकल्पना भोगेर वर्ग समन्वयका आधारमा केही गर्न खोजे। तर निरन्तर सेवा पुर्याउन यिनले सकेनन्। केही वर्षपछि यिनी विश्रान्तिमा लागेर पुनः जनता खोज्दै जनताकै हुलमा मिसिन खोजे। मलाई लाग्छ– चेतनाको कारणले, दृष्टि–विम्बमा बौद्धिकताको सम्प्रेषणले यिनी यात्रामा चुप लागेर बस्न सकेनन्।
अध्ययनका धनी व्यक्तित्व, चेतनाका खानी, अनुभवका पारखी यिनले राजनीति मात्र गरेनन्, समाजमा सेवा पुर्याउन यिनले जोडदार ढङ्गले आफूलाई लगाए र साहित्यका उत्सर्गतालाई छामे। यिनले लेखेका समीक्षाहरूमा यिनलाई खोजे थाहा हुन्छ कि यिनको व्यक्तित्व कति शालीन र प्रभावकारी छ ? यिनका संस्मरणहरूमा यिनको व्यक्तित्व कति प्रभावकारी र मनमोहक छ ? लेख–रचना पढ्दा नै अनुमान गर्न सकिन्छ। यिनले जे गरे, जे भोगे र जे–जेमा लागे तापनि आपूmलाई नलुकाई आफ्नो मर्मशील कर्महरूमा यिनले फुकाइदिएका आफ्ना संस्मरणहरूमा उनी छर्लङ्ग छन्। धेरै खालका विम्बहरूमा आपूmलाई समाहित तुल्याउँदै प्रतिविम्बमा आफ्नो अनुहार फुकाउँदै बाँचेका यिनी मेरो मर्म–मर्ममा रहेर पनि भेट्न नसकेका आदरणीय दाजु हुन्।
भेट्ने इच्छा थियो तर अगाडिका दिनहरूमा कहिल्यै पनि यिनीसँग मेरो भेटघाट भएन। १२ वर्षअघिको कुरा हो, पाल्पाकै एकजना बौद्धिक मित्र कृष्णदेव शर्मासँग यिनी टुप्लुक्कै घरमा आइपुगेको सम्झना मलाई ताजै छ। मेरो साहित्यिक यात्रा र ‘जनमत’ मासिकको प्रकाशनबाट यिनी औधी मसँग प्रभावित रहेको कुराहरू गरे। मेरो यात्रा र जनमतको प्रकाशनमा यिनले निकै खुशी व्यक्त गरेर मेरो प्रशंसा गरे। त्यो क्षण मेरा लागि निकै सुन्दर र हर्षको क्षण बन्यो। मैले मनमनमा उत्साह थपेँ। आपूmले खोजी–खोजी भेट्नुपर्ने यस खालका आदरयोग्य प्रतिभाहरूले मलाई बनेपासम्म आइपुगेर खोज्न आएको सन्दर्भ मैले जीवनमा कहिल्यै बिर्सन सक्दिनँ र यो संयोग मेरो एकखालको जीवनको एउटा सुखद क्षणको अनुभूति पनि हो। मैले दिल फुकाएर कुरा गरें, उनीहरूले पनि दिल फुकाएर मसँग कुरा गरे। म निकै प्रफुल्लित भएँ कमलराज दाइसँग।
पछि धोबीघाटमा कमलदाई कहाँ धाउन थालें। जनमतको आजीवन संरक्षक बनाइयो। छिटफुट जनमत पुर्याइदिन्थें, शायद उहाँ हेर्नुहुन्थ्यो होला। जनमतमा एउटा लेख पनि प्रकाशित छ। जहिले भेट्दा पनि लेख्न अनुरोध गरिरहन्थें, प्रतिवाद गर्नुहुँदैनथ्यो। जहिले पनि ‘हो’ भन्ने गर्नुहुन्थ्यो। ज्ञानगुन प्रकाशनका शेषराज सिवाकोटी (विशिष्ट न्यायाधीश) को सम्पादनमा प्रकाशित ज्ञानगुन साहित्य प्रतिष्ठानको ‘सिर्जना र साधनाका दोभान मोहन दुवाल’ ग्रन्थमा कमल दाजुले निशङ्कोच रहेर ‘एउटा माली ः आफ्नै पूmलबारी र धरातलमा’ लेख लेखेर मेरो गरिमा र अर्थलाई उच्च राखिदिएको घटना प्रसङ्गहरू बिर्सिन गाह्रो छ। निकै अध्ययशील रहेकै कारणले मेरो समग्र पहिचान, परिचय खुलाइदिनुभएको छ उक्त लेख प्रसङ्गमा।
सद्विचार र सद्व्यवहारको प्रभाव निकै प्रभावशाली हुँदो रहेछ। मप्रति व्यक्त भएका सद्विचार र चोखो सद्व्यवहारले कमल दाजु मेरो लागि निकै प्रशंसित आदरयोग्य दाजुजस्तै मन–मनमा फुल्दै गरेका ‘कमल’ नै हुनुहुन्छ। बनेपामा रहेर साहित्यिक प्रकाशनमा मन दिएर, जनमत मासिक निरन्तर निकालेर, राष्ट्रका थुप्रै ठाउँ–ठाउँमा हुने साहित्यिक कार्यक्रमहरूमा पुगेर आपूmलाई देखाइरहने हुनाकै कारणले कमल दाजुसँग निरन्तरजसो त मेरो सम्पर्क हुन पाएन तर मेरो मन–मझेरीमा फुल्दै गरेका मेरा प्रेरणा दाइ दाजु हुनुहुन्छ कमलराज रेग्मी।
जनमतको एउटा वार्षिकोत्सवमा विशिष्ट अतिथि हुनुभई उहाँले जनमतको उपहार कार्यक्रमको समुद्घाटन गरिदिएको मलाई झझझल्ती सम्झना छ। पछिल्लो ३ पल्ट जति उहाँलाई भेट्न घरमा पुगेको छु। एकपल्ट छोरा डा. प्रकाशराज रेग्मीसँग बनेपा र धुलिखेल घुम्ने गरी मेरो घरमा आउँदा मैले ‘आत्मसंस्मरण लेख्नै पर्ने, केही न केही पुस्तकहरू सङ्ग्रह गरेर निकालिहाल्नुपर्ने कुराहरू फुकाएको थिएँ, केही वर्षपछि एउटा समीक्षा सङ्ग्रह र एउटा आत्मसंस्मरणका पुस्तक, छोरीलाई लेखेका पत्रहरूको पुस्तक प्रकाशित भएको पाउँदा म ज्यादै खुशी भएको थिएँ। सबै कृतिहरूमा कमलराजलाई धित फुकाएर पढें।
अस्ति मात्रै २०६९ साउन १७ गते बुधबार हरिहरभवननजिकै बेकरी क्याफेमा कमल दाजुको ८४ औँ वर्षगाँठमा हुने जलपान कार्यक्रममा कमल दाजुलाई ससम्मानपूर्वक भेट्न खादासहित जनमत प्रकाशनबाट प्रकाशित पुस्तकहरू केही बोकेर पुगेको थिएँ। ५ः०० बजे म पुग्दा कमलदाजु र भाउजूलाई लिएर छोरा डा. प्रकाशराज देखा परेको क्षण सुखद रह्यो। भित्र कोठामा लाने क्रममा मैले कमल दाजुलाई डोर्याउन पाएँ। मेरो आस्थायुक्त कामना मन–मनमा राखेर भन्दै आएँ– कमल दाजु सुस्वास्थ्य चिरञ्जीवी बनून्, अविश्रान्त सिर्जनशील रहिरहून्।
मनमा आस्था राखेर श्रद्धा गरिसकेकाहरूबाट केही हौसलाका शब्दहरू पाउँदा गौरव हुन्छ, यात्रामा विजय प्राप्तिका ध्वनिहरू बन्छन्। मलाई उहाँले हौस्याएर लेख्नुभएको छ। उहाँलाई नै सम्झेर मलाई अर्पण गरेका अक्षरका शब्दहरू यहाँ उतार्न पाउँदा गौरव गरिरहेछु– ‘हाम्रा दुवाल कविता, निबन्ध, टिप्पणी, स्तम्भ, सम्पादकीय लेखिरहेका हुन्छन्, सामग्री सङ्कलन गर्दै पुस्तक, पत्रिका सम्पादन गरिरहेका हुन्छन्, गोष्ठीमा भाग लिइरहेका हुन्छन्, कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन्, वरिष्ठ साधक, स्रष्टाहरूलाई भेट्न गइरहेका हुन्छन्, जनमत प्रकाशन र जनमत साहित्यिक मासिक पत्रिकाका लागि संरक्षक र ग्राहक बनिदिन साहित्यप्रेमीहरूलाई अनुरोध गरिरहेका हुन्छन्, नेपालबाहिरका स्रष्टाहरूसँग कसरी सम्बन्ध राख्ने भनी सोचिरहेका हुन्छन्।
यिनले कुनै पनि बेला कुनै न कुनै साहित्यसम्बन्धी काम नै गरिरहेका हुन्छन्। यिनी कहिल्यै थाक्दैनन्। यिनले झुट बोल्दैनन्, कुकर्म गर्दैनन्, मान्छे हुन् कतै यिनबाट गल्तीसम्म भइहाल्छ कि ? यिनका अमित्र छैनन्। यिनको व्यक्तित्व आभा सौम्य र आकर्षक छ। यिनीसँग भेट्दा, बस्दा, कुरा गर्दा प्रत्येकलाई यिनीबाट स्नेह, स्वागत, सम्मान, आत्मीयता केही न केही पाएको अनुभव हुन्छ।’
माथि उल्लेख भएका उत्सर्गका हरफहरू म पढिरहन्छु, गुनिरहन्छु र तल–माथि पर्ला कि भन्ने डर मान्दै माथि उल्लेख भएका बुँदाहरू सहर्ष मनमा राखिरहन्छु। कमल दाजुले २४ भदौ २०५७ मा लेखेर ममाथि ऊर्जा थपिदिएका, यी चारित्रिक प्रमाणपत्रका ती हरफहरू मन–मनमा सधैँ सम्झिरहन्छु। सरल, सहज र सज्जन भएकै कारणले उहाँसँगको मेरो मन कस्सिदै यात्रामा रमाउँदै छ। कमलराज रेग्मीका अविचल मनमा सुगन्धका साहित्यिक मर्महरू फुल्दै जाऊन्, म प्रशंसा गर्न रुचाइरहेछु।
केही दिन भयो, अर्थात् चैत २१ गते कमलराजले जीवन–जगत् छोडेर विश्रान्ती लिनुभयो। उहाँका सम्झना गर्नलायकका धेरै कुराहरू छन्। कम्युनिस्ट भएर जीवनका अंशहरू देश र जनतामा समर्पित गर्दाका क्षणहरू त्यति नै उहाँका उल्लेखयोग्य छन्। त्यति मात्र नभई पछिल्लो कालखण्डमा पञ्चायत व्यवस्थालाई उदारमुखी ढङ्गले विश्लेषण गर्न लगाई ‘गाउँफर्क अभियान’ मा, ‘भूमिसुधार’ को सुकार्यमा र जनताका दैनन्दिन प्रगत्युन्मुख बनाउन ‘मुलुकी ऐन’ मार्फत पञ्चायती शासन सत्तालाई जनमुखी बनाउने अभियानमा पनि उहाँका परिश्रमहरू यस माटोमा पोखिएका देखिन्छन्।
बौद्धिक व्यक्तित्वका रूपमा राजनीतिक वृत्तमा नाम कमाउनुभएका कमलराज आफ्नो साहित्यिक सिर्जनामा पनि आफूलाई परिष्कृत साहित्यकारका रूपमा चिनाउन सफल हुनुहुन्छ। मेरो मूल्याङ्कन गर्दै लेखक कमलराज रेग्मीले ज्ञानगुनका कुरामा मेरा लागि प्रेरणादायी पङ्क्तिहरू लेख्नुभएको छ। यहाँ म स्मरण गरिरहेछु– ‘हाम्रो यहाँ राजनीतिमा नेता बन्नका लागि मान्छेहरू थुप्रै–थुप्रै छन्, तर साहित्यको फाँटमा एकाग्र साधनारत मोहन दुवालजस्ता सत्पात्र औंलामा गन्न पुग्ने जति पनि छैनन्। गाँठी कुरा यत्ति हो कि उनी कसैको–कतैको राजनीतिक अनुशासन अथवा अधीनमा छैनन्। तर उनको साहित्यिक योगदानले भने यथार्थ भूमिमा खोलिदिएको जनपक्षीय राजनीतिलाई समेत निरन्तर चेतना सम्प्रेषण गरिरहन्छ।’
उही राजनीतिज्ञ तथा बौद्धिक साहित्यिक व्यक्तित्व कमलराज रेग्मीले भौतिक देह त्याग्नुभयो ९२ वर्षको उमेरमा। म सम्झिरहन्छु– सदासदा यिनका सिर्जनात्मक कर्म र मर्महरू। आज म उही व्यक्ति कमलराज रेग्मी सम्झेर, उहाँका कर्म र सिर्जनालाई स्मृतिमा राखेर उहाँकै सम्झनामा अक्षर–बुँदहरू पोखिरहेछु, श्रद्धाञ्जलि छ कमल दाजु र शोकाकूल परिवारजनमा।
प्रतिक्रिया